अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

‘बुबुमाम सुपुक्क’ का कवि फुयाँल

युवराज मैनाली २०७८ चैत २२ गते १८:२४ मा प्रकाशित

समीक्षा

आजका कोपिला राम्रा
भोलिका फूल हुन् सब
धर्ती मग्मग पार्ने ती
सौन्दर्य मूल हुन् सब

आजका कोपिला भोलिका फूलजस्तै बालबालिका पनि भोलि युवा बनेर फक्रने छन् र समग्र देश नै ती सौन्दर्य बाटिकाबाट मगमगाउने छ भन्ने मूलभाव बोकेको सुन्दर हरफ हालै प्रकाशित कृति ‘बुबुमाम सुपुक्क’ भित्रको हो । कृतिकार कवि श्रीहरि फुयाँल ‘सिरु’ हुन् । ‘बुबुमाम सुपुक्क’ श्रीहरि फुयाँल ‘सिरु’ को पछिल्लो प्रकाशित भएको कृति हो । यसअघि नै उनका तीन वटा कवितासंग्रह, चार वटा खण्डकाव्य, दुई वटा महाकाव्य, एउटा संयुक्त महाकाव्य, मुक्तक सङ्ग्रह, हाइकु सङ्ग्रह, कथा सङ्ग्रह, उपन्यास, समालोचना तथा साहित्यिक इतिहास लगायतका कृतिहरू प्रकाशित छन् । नेपाली साहित्यका शिखर व्यक्तित्व महाकवि देवकोटाका विषयमा लेखिएको महाकाव्य ‘कर्मयोगी देवकोटा महाकाव्य’ उनको उत्कृष्ट महाकाव्य हो । म आफैले पनि यस महाकाव्यको विषयमा सिङ्गै एउटा समालोचनात्मक कृति ‘कर्मयोगी देवकोटा महाकाव्यको विश्लेषण’ नामक कृति समेत प्रकाशित गरेको छु ।

अग्रज साहित्यकार हृदयचन्द्रसिंह प्रधान, श्यामप्रसाद र रमेश विकल जस्ता साहित्यकारहरूलाई उनी आदर्श मान्दछन् । प्रगतिशील साहित्यको मूल सिद्धान्तलाई अङ्गीकार गर्दै उनको सिर्जना अघि बढेको देखिन्छ । छन्द र स्वच्छन्द दुवैमा कलम चलाएता पनि फुयाँल छन्दमा अझ सशक्त देखिन्छन् । लेखनमा सरल, सहज र मार्मिकता देखिनु पनि उनको लेखनको विशेषता नै हो । पछिल्लो कृतिहरुमार्फत् बाल साहित्यमा नरम, कोमल र बाल मस्तिष्कले टपक्कै टिप्ने र अनुकरण गर्न सक्ने शैलीलाई पनि प्रयोग गर्न सक्नु अर्को विशेषता हो । यिनै विशेषताका कारण अरू साहित्मामात्र नभएर बाल साहित्य क्षेत्रमा पनि उनको प्रभाव लोकप्रिय बनेको छ ।

थुप्रै कृतिहरू पाठकसामु पस्किसकेका फुयाँल हिजोआज बाल साहित्यतर्फ सक्रिय छन् । लामो समयदेखि विभिन्न पत्र पत्रिकाहरूमा बाल साहित्यका कथा—कविताहरू प्रकाशित गर्दै आएका उनका पछिल्ला समयमा ‘ढिकीच्याउँ’ र ‘बुबुमाम सुपुक्क’ नामक दुई बाल कविता सङ्ग्रह प्रकाशनमा आएको हो । बालबालिकालाई अनुशासित, मर्यादित, इमान्दार, नैतिकवान् र चरित्रवान् बनाउन सके मात्र भोलिको नेपाल सुखी र समृद्ध बन्दछ । यिनै आवश्यकतामा हाम्रा साहित्यिक प्रतिभाहरू बाल साहित्य लेखनमा सक्रिय रहेका देखिन्छन् ।

महाकवि देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, राष्ट्रकवि माधव घिमिरे, कवि कृष्णप्रसाद पराजुली, आख्यानकार रमेश विकल, शान्त दास मानन्धर, कवि प्रमोद प्रधान, आख्यानकार विजय चालिसे आदिले बाल साहित्य सिर्जनामा महत्त्वपूर्ण योगदान पु¥याएका छन् । यसै शृङ्खलामा कवि श्रीहरि फुयाँल पनि अहिले आएर आफ्ना दुई कृति मार्फत जोडिन आइपुग्छन् । साहित्यको दीर्घ साधनाको उच्च मूल्याङ्कन गर्दै कवि श्रीहरि फुयाँल थुप्रै पुरस्कार, सम्मान र अभिनन्दनबाट सम्मानित छन् ।

उनै फुयाँलको विविध बाल मनोविज्ञानलाई प्रस्ट उतारिएका २३ वटा रमाइला कविताहरू सङ्ग्रह गरिएको कृति हो ‘बुबुमाम सुपुक्क’ । यसमा बालबालिकालाई लेखन—पठनमा अभिप्रेरित गर्ने कविताहरूमा ‘बुबुमाम सुपुक्क’, ‘चलाऊँ है जाँगर’ र ‘बाठो बन्नु पर्दछ’ जस्ता कविता समावेश छन् । त्यसै गरी देश प्रेमका पवित्र भावना जगाउने कविताहरू पनि छन् जसमा ‘यी हुन् दातृभूमि’, ‘हाम्रो देश नेपाल’ र ‘हाम्रो देश’ गरी तीन कविता समावेश छन् । यस्तै बालबालिकालाई रमाइला हुने खालको कविताहरूमा ‘काग करायो’, ‘भुर्रभुर्र भँगेरा’, ‘हेरहेर नानी हो’ ‘शरद लाग्यो’ र ‘आयो नयाँ वर्ष’ सङ्गृहीत छन् । नैतिक शिक्षा दिने भावका कविताहरूमा ‘बकुल्ला’, ‘नगर है हेलाँ’, ‘हाम्रो घरको बिरालो’, ‘हामी बाँच्नु पर्दछ’, ‘मेरी सानी छोरी’ र ‘कर्तव्य’ जस्ता कविता पर्दछन् । त्यस्तै राष्ट्रिय व्यक्तित्वको परिचय र सम्मान प्रकट गर्ने कविताहरूमा महाकवि देवकोटाका विषयमा ‘बाबा जानिराखे’ कविता र आदिकवि भानुभक्तको सम्मान गर्दै ‘प्यारा भानुभक्त’ शीर्षकका कविता रहको छन् ।

समग्रमा भन्नुपर्दा सरल सरस र सुमधुर किसिमले रोचकता प्रदान गरेर यस कृतिको सिर्जना भएको देखिन्छ । बालबालिकाहरूले रमाइलो मान्दै मनोरञ्जन लिँदै पढी सक्दा यसबाट धेरै कुराको ज्ञान लिन सक्छन् । प्रकृति चित्रण यसको थप विशेषता हो । आफ्ना पूर्व प्रकाशित कृतिहरूमा जस्तै गरी उनले यसमा पनि सुन्दर प्रकृति चित्रण गरेका छन् । यति भएर पनि यसमा राष्ट्र निर्माता पृथ्वी नारायण शाह, भगवान् गौतम बुद्ध, कवि शिरोमणि लेखनाथ पौडेल, नदी, पशुपतिनाथ, आमाबाबा जस्ता विषय पनि समावेश गर्न सकेको भए यसको गरिमा अझै बढ्ने कुरामा दुई मत रहन्न । जे होस् प्रस्तुत कृति नेपाली बाल साहित्यमा एउटा थप योगदानको रूपमा रहेको छ र कवि फुयाँल बाल साहित्यमा सफलतापूर्वक उभिएका छन् भन्न सकिन्छ ।