अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३ | Colorodo: 09:48

सर्वज्ञ वाग्लेको ‘पुनर्वास’: सङ्घर्ष, समर्पण र राष्ट्रप्रेम निख्खर बिम्ब

गोपी मैनाली २०७८ चैत २२ गते १८:०९ मा प्रकाशित

(समालोचना)
साहित्यकार सर्वज्ञ वाग्ले आख्यान र गैर आख्यान दुवै क्षेत्रमा कलम चलाउँछन् । २०६८ मा ‘जुवा घर’ (व्यङ्ग्य निबन्ध सङ्ग्रह) बाट नेपाली साहित्यमा कृतिकारका रूपमा उदाएका सर्वज्ञ ‘क्यासिनो’ (कथासङ्ग्रह, २०६९), ‘युधिष्ठिर’ (कथासङ्ग्रह, २०७२), ‘साँढे‘ (व्यङ्ग्य निबन्ध सङ्ग्रह, २०७४) पछि ‘पुनर्वास’ (उपन्यास, २०७६) मार्फत प्रकाशित भएका छन् । यस अर्थमा उनको साहित्य यात्राले धेरै लामो दूरी पार गरिसकेको छैन, तर यात्राले गन्तव्य भने पक्डेको छ, उनको गन्तव्य सुसंस्कृत समाज हो, जसका लागि प्रत्येक कृतिमार्फत छुट्टै विषयको उद्घाटन गरेका छन् । ‘साँढे’ मा पशु बिम्ब छ, ‘क्यासिनो’ र ‘जुवा घर’ मा आख्यान र गैर आख्यानका माध्यमबाट नीति शिक्षा पस्किएका छन् । र ‘युधिष्ठिर’ पौराणिक समयदेखि समकालीन समाजसम्म जरा गाड्दै आएको सामाजिक विकृतिलाई विस्थापन गर्ने बिगुल छ । यस अर्थमा सर्वज्ञका सिर्जना सामाजिक संस्कृति विनिर्माणको बिम्ब हुन् ।

सर्जक सर्वज्ञ सिर्जना मात्र गर्दैनन्, सिर्जनालाई प्रोत्साहन गर्न पनि लागि परेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का साहित्यिक मञ्चहरू मार्फत नेपाली वाङमयमा निरन्तर क्रियाशील छन् । मनमा मातृभूमि राखेर परदेशमा कर्म गर्दै साहित्य र समाज सेवा गर्नु सर्वज्ञको दैनिकी हो । साहित्य र सेवालाई सिमानाले छेक्दैन भन्ने दृष्टान्तमा सर्वज्ञको कर्म छ ।

निबन्ध र आख्यान दुवै क्षेत्रमा कलम चलाए पनि सर्वज्ञ आख्यानकारका रूपमा सघन छन् । उनका कथाले समाज, परिवार र व्यवस्थाका विकृतिमाथि आक्रमण गर्छन्, निबन्धको विषय भूमि पनि कथा जस्तै छन् । एउटा सर्जकलाई उसका सिर्जनामा यो चाहिँ सशक्त छ भन्दा नमिठो लाग्न सक्छ, सर्जकका दृष्टिमा सबै सिर्जना उत्तिकै मायाका बस्तु हुन् तर वास्तविकता भन्नु पर्छ निबन्धकार सर्वज्ञ भन्दा कथाकार सर्वज्ञ सशक्त छन् । चरित्र संयोजन र प्रस्तुतिले कथाहरूलाई उचाइमा पुर्‍याएको छ ।

स्रष्टा जीवनलाई ससाना कोण, संक्षिप्त घटना र भोगाइका छोटा दैनिकीहरूमा मात्र सीमित रहन सकेन र समग्र जैवनिक परिवेश सोलोडोलो उठाउने अभिष्टमा देखियो । जीवनको समग्र अभिव्यञ्जना गर्न तम्सियो । ‘पुनर्वास’ त्यसैको परिणाम हो ।

उपन्यास कथाको विस्तृत स्वरूप हो । कथाले जीवनको एउटा पाटो, एउटा क्षण र एउटा अनुभूति उद्घाटन गर्छ, तर उपन्यासले एउटा जीवनले भोगेका धेरै कथाहरूलाई सोलोडोलो शृङ्खलामा प्रस्तुति गर्दछ । ‘पुनर्वास’ गाउँदेखि सहर, पहाडदेखि तराई, स्वदेशदेखि परदेश, मायादेखि तिरस्कार, मानदेखि अपमान, विन्दासदेखि दायित्वबोध, आवेश–आक्रोश, सङ्घर्ष–संयम र स्वभामिानको बिम्बानुभूति उतारिएको समग्र जीवन हो । जीवन अपेक्षा र आशय गरिएजस्तो सरल रेखामा कुद्दैन, थुप्रै अनिश्चयको जर्जर यात्रामा निरन्तर रहन्छ । ‘पुनर्वास’ को प्रधान पात्रमार्फत सर्वज्ञ नयाँ जीवनको ‘पुनर्वास’ खोजिरहेका छन् । त्यसैले यो कथा भन्दा बृहद भयो, भनौँ उपन्यास भयो, अझ भनौँ, एउटा जीवनको समग्र अनुभूतिबिम्ब ।

उपन्यास औधी रुचाइएको विषय विधा हो । किनकि यसले घ्वाप्पै जीवन उठाउन सक्छ । आयामिक अनुभूति दिन सक्छ । ग्याव्रिएल गार्सिया मार्केजको ‘एक शताव्दीको मौनता’ (वन हण्डेड यर्स अफ सिलच्यूड), अल्डोअस हक्स्लेको ‘द ब्रेभ न्यु वर्ल्ड’, भ्लाडिमिर नोभाकोभको ‘लोलिता’ म्याक्सिम गोर्कीको ‘आमा’, लियो टोल्सटायको ‘युद्ध र शान्ति’, फ्योदोर दोस्तोभ्स्कीको ‘अपराध र सजाय’, ग्रेटा गार्वोको ‘अन्ना कारेनिना’ जस्ता उपन्यास पाठकहरूबाट औधी रुचाएका छन् । पौराणिक कृति ‘महाभारत’ र ‘रामायण’ महाकथा हुन्, जसले तत्कालीन समाजलाई घ्वाप्पै उठाएको छ, ती भारतबर्षमा औधी रुचाएका कृति हुन् । यी दुवै कृतिका आदिरुप पद्यमा छ, तर कथा संरचना र घटना संयोजनका दृष्टिमा उपन्यास पनि हुन् । नेपाली साहित्यमा पनि पारिजातको ‘शिरीषको फूल’, विश्वेश्वरका ‘तीन घुम्ती’ भवानी भिक्षुको ‘आगत’ हृदयचन्द्र सिंहको ‘स्वास्नी मान्छे’, इन्द्रबहादुर राईको ‘आज रमिता छ’ ध्रुवचन्द्र गौतमको ‘अलिखित’, कृष्ण धारावासीको ‘शरणार्थी’ हरू पाठक मनमा आसन जमाएका कृतिहरू हुन् । नयाँ पुस्ताका उदीयमान सर्जकहरू पनि उपन्यासको प्राथमिकतामा छन् ।

उपन्यासले एउटा जीवनको समग्रलाई उठाउने गर्दछ । प्रधान पात्रमार्फत उपन्यासकार सङ्घर्ष–सफलता, वैराग्य–विद्रोह, दुख–खुसी, आरोह–अवरोह, आशा–निराशा बताइरहेको हुन्छ । जीवनको जति नजिक कथावस्तु पुग्छ, वा उपन्यासकारले पात्र र परिवेशलाई जति अन्तरवोध गरेर प्रस्तुत गर्न सक्छ, पाठकहरूबाट त्यति नै रुचाइन्छ । अझ साँच्चै भन्दा उपन्यासकार स्वयम् प्रधान पात्र भएर आफै प्रकाशित भइरहेको हुन्छ, आफैलाई अभिव्यक्त गरिरहेको हुन्छ । विषय विधालाई न्याय गर्ने सर्जक जहिले पनि सिर्जनामार्फत स्वयम् प्रकाशित हुन्छ ।

‘पुनर्वास’ समग्र मूल्य विवेचना गर्नुअघि यसले उठाएको विषय बस्तु र परिवेशको उल्लेख गर्नु आवश्यक हुन्छ । ‘पुनर्वास’ नेपाल सरकारले राष्ट्रिय एकीकरणका लागि बस्ती बसाइएको एउटा बस्तीको नाम हो, जहाँ नेपालका विभिन्न भूगोलबाट आएका व्यक्तिहरू आआफ्ना संस्कार, संस्कृति, रीतिरिवाज र पहिचानलाई सीम्मिलन गरी साझा संस्कृति र पहिचान बनाइ रहेका छन् । जीवन बाँच्नका लागि सङ्घर्ष गरिरहेका छन् । विविधताको व्यवस्थापन गर्ने साझा संस्कृति निर्माणमा गरिरहेका छन्, तर यो क्रम सङ्क्रमणमा छ । कोही टाठाबाठा, सम्भ्रान्तहरू छन्, धेरै परिश्रम र पसिनामा बाँचिरहेका छन्, ठुलो उन्मेद–आकाङ्क्षा छैन । धेरै सरल छन्, कतिपय चाप्लुसी–चाटुकार छन्, । जुवा–तास, रक्सी–मासु, राष्ट्रप्रेम र देशकै विरुद्ध जासुसी पनि छ । उपन्यासको प्रधान पात्र हरे राम दुखी छ तर आदर्श छ, परिश्रमी छ, सदाचारी र शालीन छ । कथावस्तु उसैको वरिपरि घुमिरहेको छ । खलपात्रका रूपमा रणप्रताप (राजासाप) छ । रणप्रताप जुवा खालमा बस्दैन, अरूलाई खालमा बसाउँछ, अरू हार्छन्, वर्षौँदेखि उसैले जितिरहेको छ । खाल हान्नेहरूलाई भिडाइरहेको छ, र च्याखेहरुलाई चखाइरहेको छ, तर आफू लगातार जितिरहेको छ । रणप्रताप साँचै ‘राणा’ जस्ता ‘राजा’ हुन पुनर्वासका । उनको बोलीमा मानिस त के रुख बिरुवाहरू पनि कक्रक्क पर्छन् । उनको सानसौकत, रौस रवाफ निकै ठुलो थियो । दरबार जत्रो घर, टुँडिखेल जत्रो आँगन छ । गाउँलेका लागि रणप्रतापको घर न्यायको घर, बैङ्क घर, जुवा तासको घर, अरू धेरै विकृति र विशेषताको घर मानिँदै आएको छ ।

प्रधान पात्र हरेरामको जीवन संघर्षमय तर सात्त्विक छ । हरेरामका जीवनमा दुखले सेट मिलाएर आएको छ , एकपछि अर्को गरी क्रमशः । मातृ प्रेमबाट वञ्चित, बुबाबाट निरन्तर तिरस्कृत, आफन्तबाट अपमानित, प्रकृति र विपदबाट खेदिएको, विन्दास वेपर्वाह भौतारिएको छ । तर नीति–नैतिकता र निष्ठा नै उसको जीवन हो ।

विवाह पछिको दायित्वबोधले हरेरामको जीवनलाई अर्को मोड दिएको छ । सङ्घर्षले अर्को रूप लिएको छ, जीवन झनै पसिनामय र प्राङ्गारिक बन्छ । उसका लागि ‘खेती किसानी पनि सुन्दर जीवन हो’ । पठन पाठन अर्को सुन्दर जीवन । अरूबाट आशा र प्राप्तिको अपेक्षा नगरी भोगिएको जीवनले नीति शिक्षा दिएको छ । नजाने आजको युगले यो कति लिन्छ कुन्नि ?

उपन्यासको कथा परिवेश हेरौँ । दुखको शृङ्खला हो ‘पुनर्वास’ । हरे राम मात्र होइन, त्यहाँ बसोबास गरिरहेका सबैको आआफ्नै दुखका कथा छन् । कथा भन्नु दुखका मात्र हुन्छन् भन्ने देखिएको छ । तराईमा निःशुल्क जग्गा वितरणपछि ‘पुनर्वास’ ले ‘पुनर्वास’ पाएको छ । यो जङ्गलको बास हो, विपद्को बास हो । दुखहरू भुनियाको चिया पसल पोखिएको छ, रामेश्वर दाइको पत्रिका पसलमा पोखिएको छ । अमरसिंहको जीवनमा पोखिएको छ । नेपाली प्रहरीलाई भारततिर लगेर मारिएकोमा पोखिएको छ । दशगजाको बस्ती, रातपरेपछि डरै डरमा निदाउँछ र हरेक बिहान डरैसँग बिउँझन्छ । छिमेकी सीमा रक्षकको बुटको परेडसँग थिचिएको बस्ती आफ्नै मुलुकको प्रशासनबाट बेसहारा छ । बस्तीका बासिन्दा नै सीमा रक्षक बनेका छन् । रातारात सीमा स्तम्भ सारिदा ‘पुनर्वास’ रोएको छ । राष्ट्रका लागि भारतीय सेनाको तातो गोलीको पर्बाह नगर्ने गोविन्द गौतमहरूको जीवन उत्सर्गमा पुनर्वास धेरै रोएको छ । सीमा साँघुरिँदा, बस्ती र बजारमा लुटिदा, बलात्कार हुँदा ‘पुनर्वास’ विक्षिप्त छ । तर शासन प्रशासन मौन छ, नीति र नेता मौन छन् । त्यसैले पुनर्वास आफैमा पीडाको पुञ्ज हो ।

पुनर्वास सानो सीमावस्ती मात्र नभएर एक आफैमा एक विशाल रङ्गमञ्च हो, जहाँ अनेकन् पात्रहरू अभिनय गरिरहेका छन् । प्रशासनको अभिनय, समाज सेवाको अभिनय, सीमा रक्षाको अभिनय, राजनीतिको अभिनय, अरू धेरै कुराको अभिनय । तर पसिना र परिश्रमका पारखीहरू दुखका जीवन बिताइरहेका छन्, अभिनय र जीवनको सीमारेखा समागमित भएर ‘पुनर्वास’ भएको छ ।

कथानक चलचित्रको मोन्टाज जस्तै अघि बढ्छन् । गाउँ, कलकत्ता, बनारस, फेरि गाउँ, महाकालीको तीर, काठमाडौँको लखेटाई, पुनर्वास, जुवा पछिको सर्वस्व हरण । हरे राम आफ्नो दुखी जीवनलाई रामचन्द्रको दुखसँग तुलना गर्छ, सीताको दुखसँग आफ्नी सीताको तुलना गर्छन् । तर उपन्यासकार प्रधान पात्रलाई मनमनै स्याबास भन्छन्, ‘सघर्ष गरेर सन्तानलाई संस्कार’ दिएकोमा । हरे राम पनि विगतका स्मृति बिम्ब पल्टाउँदै साहस बटुल्छ र सन्तुष्टिको सास फेर्छ । आखिर सन्तुष्टि भनेको फगत अनुभूति त हो नि १

मोन्टाजको अर्को शृङ्खला पनि छ कथा भूमिमा । पहिचान, संस्कृति र परम्परा फेरिएका छन् । रानाथाहरुहरु पहाडी करण भए, पहाडीहरू थारुकरणमा छन् । अमरसिंहले एउटै जीवनमा धेरै कुरा फेरिएको छ । रैथाने संस्कृति, रीतिरिवाज, मान–आदरका मौलिक परम्परालाई कथानकले सम्मिलन गरेको छ । जस्तो कि रोपाइ गीत, उपदेश मञ्जरी, माया नगर्ने बुबाप्रति पनि उच्च आदर भाव, कुलो भाँचेर माछा मार्ने काम, घुम ओढेर आलीमा बस्दै मकै भट्मास र मोहीको खाजा खाने चलन, रोपोको उल्टो पातले हात पुछ्ने चलन, पर्ममा रोपइँ, पुराना गीतहरू आदि ।

उपन्यासकारले उठाएको विषयवस्तु यथार्थ मूलक छ, काल्पनिक होइन । समाजमा घटेका विषय र पात्र उठाएर लेखिएको उपन्यासले जीवन पाउँछ भन्ने सन्देश दिएको छ उपन्यासले, कथावस्तुप्रति उपन्यासकारको अन्तरवोध छ, त्यसैले उपन्यास जीवन्त छ । उपन्यास पढिरहँदा प्रमुख पात्रको जीवनप्रति पाठकले अपनत्ववोध गर्छ, उसको दुखप्रति दुखीसुखको अनुभव गर्छ । राष्ट्रियता उम्लिन्छ, देशभक्ति र कर्मभावहरु नशा नशामा सञ्चारित हुन्छन् ।

एउटा भुल्नै नहुने कुरा हो भने उपन्यासमा काल्पनिक वास्तविकताको प्रस्तुति हुने क्रमलाई ‘पुनर्वास’ मार्फत सर्वज्ञ वाग्लेले चुनौती दिएका छन् । कथावस्तु, कथापात्र र कथा परिवेश हाम्रै सामाजिक धरातलबाट टिप्न सकिन्छ भन्ने पुष्टि उपन्यासले गरेको छ । गुरुप्रसाद मैनालीले ग्रामीण जीवनशैलीको यथार्थ चित्रण गरे, काल्पनिक होइन, इन्द्रबहादुर राईले ‘जयामाया आफू मात्र लिखापानी आइपुगी’ मा यथार्थपरक कथावस्तु उठाए, ‘पुनर्वास’ मा जस्तै । त्यसैले ती पाठकका आफ्नै ढुकढुकी लाग्छन् । पुनर्वास उपन्यासमा मात्र होइन, अन्य कथा तथा निबन्धमा पनि सर्जक सर्वज्ञ सामाजिक यथार्थतालाई लेखन भूमि बनाउँछन् ।

अव उपन्यासकार सर्वज्ञ वाग्लेको उपन्यासको मूल्यको विवेचना गरौंं । एउटा कथा उपन्यास बन्नका लागि कथा वा प्लट, (ख) पात्र, (ग) परिवेश (घ) प्रस्तुति, (ङ) आयामिकता, (च) बिम्ब तथा प्रतीक योजन र (छ) समयवोध कम्तीमा पनि नभै नहुने अवयव हुन् । यी अवयवको सान्धानिक निपुणतामा उपन्यासले सफलता आर्जेको हुन्छ ।

कथा वा घटना योजनका दृष्टिले विवेचना गर्दा ‘पुनर्वास’ ले ससाना धेरै कथावस्तुलाई उनेर विस्तृत कथारुप वा उपन्यास बनाएको छ । उपन्यास कथाको विस्तृतीकरण होइन, कथानकहरूको माला हो । मूल कथाको वरिपरि उपकथाहरू घुमिरहन्छन् । प्रधान पात्रको भोगाइ, अनुभूति र दैनिकीलाई सुन्दरता साथ प्रस्तुति गरिन्छ । ‘पुनर्वास’ को कथा पुनर्वासमा छ तर सहायक कथा पहाड, कलकत्ता, बनारस, महाकाली तिर, पाठशाला, काठमार्डौ, विद्यालय जतासुकै छन् । हरेरामको कथा, रणप्रतापको कथा, अमरसिंहको कथा, शान्ताको कथा, अरू धेरै पात्रको कथा ‘पुनर्वास’ को कथा हो । केन्द्रीय कथाले सबै घटना क्रमलाई एउटै मालामा उनेको छ । उपन्यासकार सर्वज्ञले उपकथाहरूको मौलिक पहिचान कायम गर्दै मुख्य कथा ‘पुनर्वास’ को स्थूल पहिचान कायम गरेका छन् । ‘पुनर्वास’ साझा वा केन्द्रीय मूल्य हो, तर अरू परिघटना बेगर केन्द्रीय मूल्य स्थापित हुन सक्दैन । सर्वज्ञ यसप्रति कुशाग्र सावधानीमा छन् । समकालीन उपन्यासमा यो विशेषता कमैमा पाइन्छ ।

दोस्रो विषयवस्तु, पात्रका पक्षमा विवेचना गरौँ । प्रधान चरित्र हरे राम हो । खलनायकी कुटीलतामा रणप्रताप छ । दुवै ‘पुनर्वास’ का केन्द्रीय पात्र हुन् । सिताराम, भुनिया, रामेश्वर दाइ, अमर सिंह, राधेश्याम, गोविन्द गौतम, रमाकान्त, रोजप्रताप, शान्ता, ठुलीआमा, बुबा, सबै केन्द्रीय औपन्यासिक वृत्तिमा आवृत्त छन् । सबै पात्रहरूको कर्म केन्द्रीय पात्रको प्रभावोत्पादनका लागि स्वभाविकरुपमा सतत छन् । काल्पनिक वास्तविकतामा होइन, वास्तविक भईकन काल्पनिक हुन कि भन्ने लाग्छ । त्यति मात्र होइन, कुकुर जस्ता निर्जीव पात्र र काँक्रीताल, दशगजा जस्ता परिवेश पात्रहरूले पनि संवाद र संवेदना थपेका छन् । कुकुरलाई सीमाको माया हुन्छ र ? रुख बिरुवा र सीमास्तम्भहरु पनि अमुक पात्रका रूपमा चित्रित छन् । पात्र चयन र पात्र कर्मको निर्धारणले नै ‘पुनर्वास’ लाई जीवन्त बनाएको हो । यस दृष्टिकोणबाट पनि सर्वज्ञ उपन्यासकारिता खारिएको देखिन्छ ।

तेस्रो आधार संरचना, परिवेश हो । घटना र पात्रहरू परिवेशको प्रतिनिधित्व गर्न सकेनन् भने सिर्जना कृत्रिम हुन्छ, भनौँ सिर्जना सिर्जना बन्दैन, अक्षरको थुप्रो बन्छ । पाठकहरू पात्रमा आफूलाई बिम्बन गर्दैनन् । ‘पुनर्वास’ को परिवेश स्वाभाविक छ । हरेरामलाई दुखको परिवेशले निरन्तर लखेटेको छ । रणप्रताप सुखको परिवेशमा छन् । भारतीय सीमा रक्षक अतिक्रमणको परिवेशमा छन् । भुनियाको चिया पसल, रामेश्वर दाइको पत्रिका पसलले सञ्चारको परिवेश बनाएको छ । रातको सन्नाटामा बुटको परेड, कुकुरहरूको भुकाइजस्ता परवेशलाई बताउने तत्त्वहरूको कुशल संयोजन छ । हरे राम विन्दास वेपर्वाह बनेर देश परदेश चाहारेको छ, काठमाडौँ–मोफसल दौडिएको छ । प्रकृतिले दिइएको विपद्, विपद्ले लखेटेको हरे राम परिवेश रचनाका अवयव हुन् । परिवेशको प्रस्तुति मिनिएचर हो, नेपालका सबै सीमाबस्तीहरु पुनर्वासकै परिवेशमा छन् भन्ने साङ्केतिक परिवेश पनि चित्रित छ ।

उपन्यास संरचनाको चौथो आधार प्रस्तुति हो । प्रस्तुति एकल र निरपेक्ष नभै कथावस्तु, उपकथाक्रम, पात्र र परिवेश संरचना सापेक्ष हुन्छ । भावभङ्गी, उपमाउपमेय र शब्द संयोजनको माधुर्यमा सर्वज्ञ निपुण देखिएका छन् । लेखन अनुप्रासात्मक र सूक्तिमय छ । वाक्य संरचना छोटा छोटा छन् । त्यसैले भाव सम्प्रेषण र प्रभाव उत्पादनमा अक्षरहरू गहकिला छन् । उपन्यासकारका भावनालाई, भनौँ पात्रका मनमस्तिष्क र परिवेशको मर्मलाई उठाउन अक्षरले आनाकानी गरेको पटक्कै लाग्दैन । बरु अक्षर एक कदम अगाडि छन्, मानौँ एव्स्ट्र्याक्ट चित्रको रङ्गहरूले मन उठाएजस्तो अक्षरहरू भाव दिइरहेका छन् । अक्षरले भाव दिनु भनेको कथाले जीवन पाउनु हो । कथामा जीवन उतार्न सर्वज्ञ सफल छन्, यसरी भनौँ, जीवनकै कथा छ ।

कतिपय सन्दर्भमा प्रकृतिसम्मत भाषा प्रयोग छ । उपन्यासकार प्रकृतिलाई प्रतीक बनाएर खुसी र दुखका अनुभूति उठाउन माहिर छन् । उपमा र उपमेयको कुशल संयोजन छ । जस्तो कि ‘कहिलेकाहीँ प्रकृति आफै सजिँदो रहेछ । रुखका हाँगाहरूमा मलमल । बादलको पछ्यौरीमा सितारा । हिमालको दन्ते लहरमा चाँदी । चराका प्वाँखरुमा इन्द्रेणी । म बेहुलो बन्ने भएपछि प्रकृतिका सारा चीजहरू आफै सिँगारिए ।’ नसिँगारिएर के गर्नु उसको रमाइलोमा रमिने को पो थियो र ? अनि न प्रकृतिले साथ दिएको हो ।

प्रस्तुतिमा अनौठो सिलसिला र लचकता छ । छोटा वाक्यहरूले प्रस्तुतिलाई सरल त बनाएकै छ, लयात्मकताले अक्षर मात्र अभिव्यक्ति होइन, अक्षरको सुन्दर सरस संयोजन चाहिँ साहित्य हो भन्ने सन्देश दिएको छ ।

कतिपय स्थानमा वाक्य पूरा गर्ने कम्लिमेन्ट विना नै वाक्य विन्यास भएको छ । ‘मेरी आमा, मेरो भरोसा, मेरो विश्वास, मेरो समर्पण, मेरो छोरा । मल बोक्ने । मल छर्ने । लिड्को लगाउने’ । व्याकरणले भावलाई छेक्नु हुन्न, शब्द र वाक्यहरू अनुभूति अभिव्यक्तिका लागि मात्र हुन् भन्ने बोध पनि उपन्यासकारले आफ्नो प्रयोग मार्फत दिएका छन् । त्यसैले प्रस्तुति बेजोड विशिष्टतामा छ ।

प्रस्तुतिका आयाम र विशेषताहरू केलाउन सकिन्छ । स्वच्छन्दतावादी, निजात्मक, वर्णनात्मक, आत्मपरक, प्रभाववादी, अराजक आदि । जेजस्ता आयाम र विशेषताबाट विवेचना गरे पनि प्रधान विषय चाहिँ सम्प्रेषण र प्रभाव उत्पादनमा कति गहन छ भन्ने हो । सर्वज्ञको प्रस्तुति वर्णनात्मक हो । कथानकलाई छोडेर स्वच्छन्दताको बयेलीमा उड्ने देवकोटीय निबन्ध शैली, पातलो कथानकमा मनका उहापोह पोख्ने पारिजातीय शैली वा अनुभूति र आत्मलाई सरलवरल गर्ने जगदीश घिमिरेको आत्मवृत्तान्त शैली अलग हो । कथा, परिवेश र पात्र जोड्ने वर्णनात्मक र भाव व्यक्त्याउन प्रकृतीको सहारा लिने सर्वज्ञको शैली अलग हो । यस अर्थमा उपन्यासकारको पहिलो उपन्यास प्रस्तुतिको बेजोड प्रयोगमा छ भन्नुपर्ने हुन्छ ।

आयामिकताका दृष्टिकोणबाट ‘पुनर्वास’ पुनर्वासको बहु आयाम भनौँ वा जीवनको समग्रहगतालाई बोक्न सफल छ । परिवेशका समग्र भोगाइ जीवन हो, नियतिको सहर्ष स्वीकार जीवन हो । उपन्यासमा सर्वज्ञले प्रशासन, समाज, संस्कृति, रीतिरिवाज, विश्वास, विविधता, स्नेह, आशक्ति, तृष्णा, अभीष्ट, आक्रोश, प्रकृति, माया, वात्सल्य, सीमा, देश र इमान्दारी जस्ता मूर्त अमूर्त आयामहरू संयोजन गर्दै ‘पुनर्वास’ निर्माण गरेका छन् । जीवन यस्तै मूर्त अमूर्त आयाममा दोलायमान हुन्छ ।

मिथक, विम्ब र प्रतीक योजन प्रस्तुतिको पूरकको रूपमा छ । कहाँ कस्तो बिम्ब प्रयोग गर्ने, विषय चित्रण र प्रभाव उतपदनमा कस्ता प्रतीकहरू योजन गर्ने भन्ने कुशलताले यी तत्तवहरु स्वाभाविक रूपमा संयोजित छन् ।

समयवोधका दृष्टिमा उपन्यासले नेपाल समाजको आधा शताब्दी अघिदेखि अहिलेको परिस्थितिलाई उपन्यास भूमि बनाएको छ । राजा महेन्द्रको राष्ट्रिय एकीकरणको रणनीति थियो पुनर्वास योजना । पूर्वदेखि पश्चिम तराईसम्म झोडाका नाममा होस वा पुनर्वासका नाममा होस, सीमा रक्षा र राष्ट्रिय एकत्वको अनुभूतिको अभियान नै चलेको थियो । त्यसलाई गोविन्द गौतम जस्ता युवाहरूको सीमा कवच बन्नु परेको स्थिति, नेपाली सीमाको अतिक्रमणको वर्तमान अवस्था र प्रशासनिक आलस्यता जस्ता कुरालाई समयवोधका रूपमा लिन सकिन्छ । अर्थात् प्रधान पात्र हरे राम बाँचेको समाज र समय उपन्यासले बोकेको छ । पुनर्वासमा मात्र होइन, कथा वृत्तिका अन्य परिवेशलाई पनि जीवन्त प्रतिनिधित्व गर्न सफल छ ।

सफल उपन्यास संरचनात्मक रूपमा सामान्य कथानकबाट सुरु हुँदै औपन्यासिक कथा वृत्तिको उत्कर्षमा पुग्ने बाटो समाउँदै उत्कर्षमा पुग्छ । उत्कर्षबाट औपन्यासिका परिवेश सामान्यतामा फर्किने क्रम सुरु भई विश्राम लिन्छ, जीवनयात्रा जस्तै घटना शृङ्खलामा रहन्छ । महान् कथाहरू एउटा भाव भूमिमा साहसिक यात्रा, वा ‘हिरोइक जर्नी’ गर्छन् । ‘पुनर्वास’ को कथानक संरचनाले पनि यही कन्फ्लीक्ट (मनोगत उहापोह र सामाजिक विवाद), क्लाइमेक्क (उत्कर्ष) र रिजोलुसन (समाधान वा अन्त्य) को सिलसिलालाई कलात्मक अभिव्यञ्जना दिएको छ । प्रधान पात्र हरे राम जीवन आरोह–अवरोहले कन्फ्लीक्ट–क्लाइमेक्स–रिजोलुसनको यात्रा पूरा गर्छ । अर्को पात्र रणप्रतापको जीवनका आरोह–अवरोहले यही आवृत्ति लिएको छ । कथावृत्ति क्लाइमेक्स वा उत्कर्षमा पुग्ने र ओर्लिने विधान शैलीको प्रभावकारितामा उपन्यासको सफलता रहन्छ । उत्कर्षमा पुग्दा प्रमुख पात्रले मुख्य शिक्षा र सन्देश छोडेको हुन्छ । त्यसैले प्रत्येक उपन्यासकार कथाको उत्कर्ष सम्बन्ध (क्लाइमेक्स लिङ्क) लाई सावधानीसाथ प्रस्तुत गर्दछन् ।

पुनर्वास उपन्यासमार्फत उपन्यासकार सर्वज्ञ वाग्ले तीन कुराको सन्देश दिन्छन् । पहिलो, राष्ट्रियता सम्वद्र्धन र देश प्रेम । पुनर्वासमा राष्टियताको बिम्ब हो । पुनर्वासको परिवेशले नागरिकमा राष्टप्रेमका रगत उमाल्छ । अमरसिंह राष्टप्रेमको जीवन्त इतिहास वा सिम्वोल हो । पहिला अमरसिंहजस्ता रैथाने वासीमा नेपाल भारत भन्ने ज्ञान थिएन, पुनर्वासको प्रक्रियाले अव उ राष्ट्रियताको सिम्वोल बनेको छ । अन्यथा पेराताल मात्र होइन, धनगढीसम्म अतिक्रमण भइसक्थ्यो । पेराताल भन्दा वर आएर गाडिएको सीमा स्तम्भ अमरसिंह आफ्नो मुटुमा गाडिएको किला हुन् । रातारात सीमा स्तम्भ सार्ने र त्यसको प्रतिकार स्थानीय गाउँले मात्र लाग्नु पर्ने स्थितिको चित्रण सजीव रूपमा गरिएको छ । एउटा दृष्टान्त काँक्रीताल सम्मको अतिक्रमण, अतिक्रमणका विरुद्धको स्थानीय आक्रोश, राष्ट्र प्रेमी गोविन्द गौतममाथि भारतीय सेनाबाट गोली हानी भएको हत्या, नेपालको प्रशासन, प्रहरी, नेता र अगुवाबाट सशक्त आवाज नउठाइएकोमा आक्रोश, रणप्रतापजस्ता स्थानीय शोषकहरूबाट भएको घिनलाग्दो भारतीय दलालीमार्फत दिइएको छ । रामलाल जस्ता किसानको जग्गा रातारात भारतको स्वामित्वमा लगिएको छ । ‘देश छ, समाज छ । माटो छ । प्रशासन छैन । मिलिटरी छैन । सशस्त्र छैन । ज्यादती हदभन्दा बढेको छ । भरोसा भनेको उनै भगवानको मात्र छ, कि त हामी गाउँले छौ ।’ ‘जनतामा जति देश प्रेम नेताहरूमा भएको भए आज हामी सीमावासीको अवस्था यति दयनीय हुने थिएन’ । त्यसैले पुनर्वास सीमा सुरक्षा र स्वाधीनताको प्रतीक हो । राष्ट्र प्रेमको अभिव्यक्ति हो । यसले जिम्मेवारीमा रहेका सबैलाई देशप्रेमको सन्देश दिएको छ । हामी कुन रूपमा सीमा र स्वाधीनतामा छौ भन्ने भावी पुस्ताको इतिहास बनेको छ । पुनर्वासको मात्र कथा होइन यो, पूर्वदेखि पश्चिमसम्मको भूमिको एक्स्ट्राहोल्डिङ, लिपुवाधुरा–लिपुलेकसम्मको अतिक्रमणको पनि फेहरिस्त हो । यसले सीमा सुरक्षाको वैज्ञानिक प्रणालीको माग गर्दछ । बलभन्दा संवेदना र आक्रोशभन्दा रणनीतिको अख्तियारी चाहिन्छ भन्ने शिक्षा दिएको छ ।

दोस्रो शिक्षा सार्वजनिक प्रशासन व्यवस्थालाई दिएको छ । जुवा तास वा अन्य सामाजिक विकृति नियन्त्रण, प्रशासनिक काम र सीमा सुरक्षा व्यवस्थापनमा सार्वजनिक प्रशासन अकर्मण्य छ । प्रशासनले सार्वजनिक सेवाको सञ्चार गरेन, त पुनर्वास जस्ता हजारौँ बस्तीहरू आफ्नैलागि असुरक्षित भए । आफ्नै मातृभूमि, जन्मभूमिमा सुरक्षित भविष्यको प्रत्याभूति भएन । राज्य प्रक्रियालाई बेस्सरी घचघच्याइएको छ ।

तेस्रो शिक्षा नीति शिक्षा भनौँ, नैतिकता र सदाचारको सन्देश हो । उपन्यासको प्रधान पात्र मार्फत उपन्यासकार सर्वज्ञ कर्म, समर्पण, नैतिकता र सदाचारको शिक्षा दिइरहेका छन् । दुखको अनन्त शृङ्खलामा रहेको प्रधान पात्र हरे राम नीति–नैतिकताबाट कहिले विशृङ्खलित छैन, इमान्दारिता ऊर्जा र आत्मविश्वास बनेको छ । आमाको माया त पाएन पाएन, हजुर आमाको मृत्यु, बुबाको निरन्तर हेला, आफन्तहरूको तिरस्कार, व्यवस्था विरोधीको नाममा शिक्षण पेसाबाट खेदाइ, उधारोले पसलको टाट पल्टाइ, खेतलाई खोलाले बगरमा परिणत, जुवाबाट सर्वस्व गुमाइ आदि भोगाइबाट पनि प्रधान पात्र सङ्घर्षपूर्ण इमान्दारिताको यात्रामा छ । सघर्ष गरेर पनि सन्तानलाई संस्कार दिनुपर्छ भन्ने अन्तरवोधमा छ । इमान्दारिताको उचाइलाई जोगाइ राख्ने साहसिक कर्म छ । साँच्चै ‘हिरोइक जर्नी’ । ‘सक्छस् भने आफै गर र अगाडि बढ’ भनेर कर्ममा लीन छ । धेरै पटक ‘प्रश्नहरू निरुत्तर हुन्छन् । जवाफको अपेक्षा र अप्राप्तिको मुस्लो’ छ तर हरे राम निरन्तर नीति निष्ठा र कर्ममा छ । सबै कर्म उसका लागि उत्तिकै महत्त्वका छन् ।

नीति शिक्षा दिने क्रममा कतिपय अवस्थामा उपन्यासकार कथानक भुलेर विषय विवेचनामा पनि पुगेको महसुस हुन्छ । राज्य र नागरिक सम्बन्धको अभिव्यक्ति दिइरहँदा उपन्यास औपन्यासिक संरचनाबाट त पर पुग्दै छैन भन्ने भान हुन्छ । प्रधान पात्रको व्यवहारभन्दा पनि माथि विषय विश्लेषण नभएको भए उपन्यास अझै उत्कृष्ट हुन्थ्यो । उपन्यासमा पात्रका स्वाभाविक अनुभूति र अभिव्यक्तिबाहेक उभय अनुभूति नदेखिनु पर्थ्यो ।

जे होस्, यी तीन शिक्षा (नागरिक शिक्षा) अहिलेको समाजका लागि आवश्यक छ, किनकि यिनै कुरा नेपाली समाजमा अभाव छ । सामाजिक जीवनका लागि चाहिने ज्ञान, सीप र संस्कारको सन्देश उपन्यासले दिएको छ । उपन्यासको विषय भूमिले गरेको समय चेत पनि हो यो ।

सारमा उपन्यासले दर्शन दिन्छ, अनुभूति उठाउँछ, शिक्षा दिन्छ, सभ्यता सिकाउँछ, सघर्ष उमाल्छ र विरक्ति पनि दिन्छ । त्यसैले उपन्यास उत्कृष्ट छ । उपन्यासले कौतूहल जगाउँछ, भोक जगाउँछ–शिक्षाको भोक, आविष्कारको भोक, नवप्रवत्र्तनको भोक, जसका कारण समाज र शासकीय व्यवस्थामा सुधार सम्भव हुन्छ । ‘पुनर्वास’ ले नजानिँदो रूपमा धेरै भोक जगाएको छ । सबैभन्दा ठुलो कुरा त उपन्यासले इतिहास लेखेको छ, वर्तमानको इतिहास, भविष्यको इतिहास, इतिहासले वास्तविक इतिहास कहाँ लेखेको छ र ?

 

=== === === === === ==== ===

## मैनाली निवास, क्षितिज मार्ग, शङ्खमूल ।