अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४२ | Colorodo: 15:57

कथा दिवसमा मैनालीको सम्झना

बिआरटीनेपाल २०७८ चैत १९ गते १३:५२ मा प्रकाशित
काठमाडौँ । साहित्यिक पत्रकार सङ्घद्वारा ४१ औँ कथा दिवसको  उपलक्ष्यमा आज यहाँ  प्रथम नेपाली आधुनिक कथाकार गुरुप्रसाद मैनालीको सम्झना गरिनुका साथै लघुकथा वाचन सम्पन्न भयो । सङ्घले २०३८ सालदेखि कथा दिवस मनाउँदै आएको छ । सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य  माया ठकुरीले प्रत्येक व्यक्तिले आफू उभिएको स्थान र सहयोग गर्नेहरूलाई बिर्सन नहुने बताउनु भयो । सो अवसरमा कथाकारहरू हिरण्यकुमारी पाठक, मधुवन पौडेल, राधा कार्की, निर्मल पराजुली, मौनता थापा र श्रीराम राईले लघुकथा वाचन गर्नुभएको थियो ।  कार्यक्रमको दोस्रो चरणमा गुरुप्रसाद मैनाली र नेपाली कथा साहित्यबारे भएको संवाद कार्यक्रममा वक्ताहरूले मैनालीको योगदानको स्मरण गर्नुभएको थियो । संवाद कार्यक्रममा समालोचक प्रमोद प्रधानले मैनालीको नेपाली कथा साहित्यमा अत्यन्त महत्त्वपूर्ण योगदान रहेको बताउँदै विषयवस्तु, संरचना, शैली र भाषा सबै दृष्टिले उनी नेपाली कथाका पहिलो आधुनिक कथाकार भएको चर्चा गर्नुभयो ।
कथाकार गोविन्द गिरी प्रेरणाले  मैनालीका कथामा समाजको फैलावट र गहिराइ दुवै पाइने उल्लेख गर्नुभयो । कथाकार बाबा बस्नेतले मैनालीका कथाका नारी पात्रहरूमा विद्रोह चेतना नभएर पलायन प्रवृत्ति रहेको बताउनु भयो । समालोचक उपमा आचार्यले मैनालीका कथाहरू नेपाली साहित्यका मानक कथा भएको  धारणा राख्नुभयो । संवाद कार्यक्रमका सहजकर्ता साहित्यकार डा.दामोदर पुडासैनी किशोरले मैनालीको योगदानलाई कसैले पनि बिर्सन नहुने उल्लेख गर्नुभयो । कार्यक्रममा अमेरिकाबाट आउनुभएको साहित्यकार मिना शाक्यलाई सम्मान पनि गरिएको थियो । मुरारी सिग्देलले सञ्चालन गर्नुभएको सो कार्यक्रममा थाहा पुस्तकालयका उपाध्यक्ष शिव अधिकारी, स्व. मैनालीको कान्छी बुहारी भारती मैनाली, विमल भौँकाजी, डा. सृजना शर्मा, उषा केसी, कमला शाक्य, पारू तिमिल्सिना, मुना बोहरा, मधुसूदनप्रसाद घिमिरे, हेमा शर्मा लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू