अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 06:07

सबै राजनीतिक दललाई आ–आफ्नै मतपत्र दिने आयोगको निर्णय

बिआरटीनेपाल २०७८ चैत १४ गते ८:११ मा प्रकाशित

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई आ–आफ्नै निर्वाचन चिह्न प्रदान गर्ने भएको छ ।दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका अन्य दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न दिने आयोगले निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

जिल्लामा सङ्गठन संरचना रहेको विवरण प्राप्त भएका दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न प्रदान गर्नेगरी आयोगले मतपत्र तयार गर्न लागेको छ । तत्तत् दलको जिल्लागत संगठन संरचनाका आधारमा जिल्लागत तहमा दलको सङ्ख्यात्मक उपस्थिति भिन्नभिन्न रहेको छ ।राष्ट्रिय मान्यता प्राप्त ६ सहित ७३ राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि दल दर्ता गराएका थिए ।

राष्ट्रिय मान्यता प्राप्तबाहेकका दललाई आआफ्नो दलको निर्वाचनमा चुनाव चिह्नमा निर्वाचनमा भाग लिने भए जिल्लागत क्रियाशील संगठन संरचना बुझाउन समयसीमा तोकेर निर्देशन दिएको थियो ।यसअघि राष्ट्रिय मान्यता दलबाहेक अन्य दललाई स्वतन्त्र समूहबाट चुनाव चिह्न प्रदान गर्ने अभ्यास थियो । यसअनुसार काठमाडौंमा सबभन्दा धेरै राष्ट्रिय मान्यताप्राप्त ६ र मान्यता नभएका ४० दल भएका छन् ।

यसबाहेक स्वतन्त्र उम्मेदवारका लागि पनि चुनाव चिह्न राख्नुपर्छ, यसले मतपत्रको आकार ठूलो हुनसक्छ । तर, काठमाडौं लगायतका ठूला स्थानीय तहमा उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र मतपत्र छाप्ने तयारी गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनु भयो ।स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाइका लागि आयोगले जनकशिक्षा सामग्री केन्द्रलाई तयारी हालतमा राखिएको छ । मतपत्रका लागि आयोगले आवश्यक कागजको यसअघि नै व्यवस्थापन गरिसकेको आज आयोजित पत्रकार सम्मेलनमा पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि यही चैत्र १५ गतेबाट कल सेन्टर संचालनमा ल्याउन लागिएको पनि जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू