अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३१ | Colorodo: 05:46

स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख मतदाता सहभागी हुने

बिआरटीनेपाल २०७८ चैत १४ गते ७:५८ मा प्रकाशित

आगामी बैशाख ३० सम्पन्न हुने स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले भाग लिने भएका छन् ।निर्वाचन आयोग, नेपालले सोमबार नियमित पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा भाग लिने सो संख्यामा रहेका मतदाताहरूको नामावली स्वीकृत गरिएको जानकारी गराएको हो ।

जस अनुसार ८७ लाख ४१ हजार ५३० महिला मतदाता, ८९ लाख ९२ हजार १० पुरुष मतदाता र र १८३ अन्य मतदाताहरू रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।स्थानीय तह निर्वाचनमा १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको पनि आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ६७६ जना निर्वाचन अधिकृतहरू तोकिएको र उनीहरूको नामावली चैत्र १३ गतेको गोरखापत्रका प्रकाशित गरिएको पनि बताउनुभयो ।निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको पर्यवेक्षणका लागि भाग लिन संस्थाहरूलाई निवेदन पेश गर्न पनि आह्वान गरेको छ ।

विगतको अभ्यास र अन्तराष्ट्रिय प्रचलन समेतको आधारमा राष्ट्रिय संस्थाहरूलाई मात्रै निर्वाचनको पर्यवेक्षण गर्न अनुमति दिइने पनि आयोगका प्रवक्ता पौडेलले स्पष्ट पार्नुभयो ।त्यसका लागि ईच्छुक संस्थाहरूले १५ दिन भित्र विद्युतीय माध्यामबाट निवेदन दिन सक्ने व्यवस्था मिलाइएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यसैबीच, निर्वाचन आयोग, नेपालले मत पत्र छपाईका लागि मेसिनलगायतका सामग्रीहरू तयारी हालतमा राख्न जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ । त्यसैगरी आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि यही चैत्र १५ गतेबाट कल सेन्टर संचालनमा ल्याउन लागिएको पनि जनाएको छ ।

प्रवक्ता पौडेलले त्यसका लागि आवश्यक जनशक्तिहरूलाई आज (सोमबार) नै अभिमुखिकरण तालिम दिइएको बताउनुभयो । निर्वाचन आयोगले कल सेन्टर संचालनका लागि ११०२ टोल फ्रि नम्बरको व्यवस्था गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू