अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

एघारौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८ सम्पन्न

आर सि कोइराला २०७८ फागुन २६ गते १५:४१ मा प्रकाशित

काठमाडौँ । एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा फागुन २१ र २२ गते ११ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८ सम्पन्न भएको छ । विश्वमा देखिएको कोभिडको कारणले प्रत्यक्ष सहभागिता सम्भव नहुनाले भर्चुअल मार्फत आयोजना गरिएको एघारौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना भएको हो । मेलामा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, बोलिभिया, भारत, मलेसिया, बुल्गेरीया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, लिथ्युनिया, पेरु, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, इजरायल, रोमानिया, सरबिया, सिंगापुर, स्लोभाकिया, साउथ अफिक्रा, स्पेन, ताइवान, तान्जेनिया, जिम्वाबे र नेपाल सहित विश्वका ३० भन्दा बढी राष्ट्रबाट ४२ विभिन्न सांस्कृतिक समूहहरूले भाग लिएको आयोजक संस्थाका संस्थापक अध्यक्ष आरसी कोइरालाले “रामचन्द्र” बताउनु भयो ।

एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने प्रमुख लक्ष्य बोकेर दुई दशक अघि स्थापना भएको संस्था हो । स्थापनाकाल देखिनै यस संस्थाले नेपालको सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गरी नेपालको गरीमा बढाउने कार्य गर्दै आइरहेको छ । केही दशक यता नेपालले आफ्नो लोक संस्कृतिलाई विश्व समुदायसामु उजागर गर्न थालेको भएता पनि नेपाली पर्यटन क्षेत्रको प्रमुख आकर्षणको रूपमा रहन सक्ने सम्भावना भएको नेपालको अनौठो सांस्कृतिक विविधता अहिलेसम्म ओझेलमा पर्दै आएको छ । यस्तो स्थितिलाई मध्यनजर गर्दै यस संस्थाले आफ्नो मौलिक लोक संस्कृति झल्कने कार्यक्रमहरू स्वदेश तथा विदेशमा प्रस्तुत गर्दै आएको एभरेष्ट नेपाल कल्चरल ग्रुपद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल जस्तो बहुजातिय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ आफ्नै भाषा र संस्कृतिहरू रहदै आएको सर्वविदितै छ । नेपाली संस्कृति प्रति स्वदेशी भन्दा विदेशी बढी आकर्षित हुनु पर्यटन प्रवर्द्धनका दृष्टिकोणले राम्रै मान्न सकिएला तर आफ्नो पहिचान र मौलिकता बोकेका संस्कृति प्रति स्वयं नेपाली उदासीन हुनु दुःख लाग्दो पक्ष हो । त्यसमा पनि वर्तमान युवा पीढी आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा आफ्नो संस्कृति प्रवर्द्धनका निम्ति कार्य गर्नु एभरेष्ट नेपाल कल्चरल ग्रुपको प्रमुख उद्देश्य हो । यसको लागी यस संस्थाले “पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार” भन्ने मूल नारा सहित २०५९ सालमा प्रथम अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला “1st International Folk Festival 2002” साथै अन्तर्राष्ट्रिय बालबालिका लोक सांस्कृतिक मेलाका २०७५ आयोजना गरेको थियो । हरेक दुई दुई वर्षमा आयोजना हुने मेलालाई निरन्तरता दिँदै यस संस्थाले एघारौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८ भव्य रूपमा सम्पन्न गरेको छ।

प्रथम अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला देखि हाल सम्म आइपुग्दा करिब ७५ भन्दा बढी देशका ६५०० भन्दा बढी कलाकारहरूले आ–आफ्नो देशको मौलिकता झल्कने झाँकी सहित विविध लोक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन् । आजका दिनसम्म आइपुग्दा यस संस्थाले विश्वको १०० भन्दा बढी अन्तर्राष्ट्रिय लोक सांस्कृतिक कार्यक्रम मार्फत नेपाली लोक संस्कृतिको पहिचान र प्रवर्द्धन गराउँदै आएको छ ।

नेपाली संस्कृति उत्थान तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको आफ्नो अभियानलाई निरन्तरता दिँदै लोक संस्कृति आदान प्रदान गर्नुको साथै नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नु यस मेलाको प्रमुख उद्देश्य रहेको जानकारी संस्थाकी निर्देशक शीतल आचार्यले दिनु भयो।

प्रत्यक्ष प्रसारण भएको यस मेलामा नेपाल को तर्फबाट प्रस्तुत मघऔटा तथा कौरा नृत्यलाई वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसीले निर्देशन गर्नुभएको थियो भने भैरव काली नृत्यलाई चरिया गुरु चन्द्रमान मुनिकार तथा धिमे नृत्यको निर्देशन सुदन मुनिकरले गर्नुभएको यस मेलाको सङ्गीत संयोजन वरिष्ठ सङ्गीतकार राम भुजेलले गर्नु भएको थियो ।

१०० भन्दा बढी कलाकारहरूले नृत्य र वाद्यवादनमा सहभागी भएको यस कार्यक्रम का वरिष्ठ निर्देशक नारायण रायमाझी हुनुन्थ्यो भने निर्देशकहरू, शीतल आचार्य ‘सिता’, प्रदीप तिलिल्सिना, दुर्गा रायमाझी, जोगेन्द्र केसी, चन्द्र शर्मा, दीपेन्द्र राम भण्डारी, राम बहादुर भुजेल, शम्भु शाही, विधान कोइराला, डेक प्रसाद अधिकारी (गोपाल) धनेस्वोर तिवारी, राम पाण्डे लगाएतले दिन रात मेला सम्पन्न गर्न काम गर्नु भएको थियो। मेलालाई भव्य र सव्य सप्रन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरूलाई एभरेष्ट नेपाल कल्चरल ग्रुप स-धन्यवाद प्रकट गर्दछ।