अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

एमसीसीलाई तत्काल सैद्धान्तिक छलफलमा नल्याउन माओवादी केन्द्र र एकीकृत समाजवादीकाे आग्रह

बिआरटीनेपाल २०७८ फागुन १२ गते ७:०३ मा प्रकाशित

सत्ता गठबन्धनमा संलग्न नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) सम्झौतालाई अनुमोदन गर्ने प्रस्तावबारे तत्काल सैद्धान्तिक छलफल नगर्न आग्रह गरेको छ ।सो प्रस्तावमा सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेकामा राजनीतिक दलमा सहमति नभएको र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सदनमा अवरोध जारी राखेको अवस्थामा यसलाई अघि नबढाउन ती दुबै दलले आग्रह गरेको हो ।

सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले भने नियमितरुपमा छलफलको प्रक्रिया अघि बढाउन अडान लिएको छ । बिहीवार अपरान्ह १ बजेका लागि तोकिएको संसद बैठक सत्ता गठबन्धनकै विवादका कारण अन्तिम समयमा स्थगित गरिएकाे छ ।नेकपा (एमाले)ले आफ्ना माग पूरा नभएको जनाउँदै कार्यव्यवस्थाको बैठक बहिष्कार गर्दै आएको छ ।

सो छलफललाई अघि बढाउने वा नबढाउने भन्नेबारेमा माओवादी केन्द्रले पार्टीभित्र छलफल गर्ने जनाइएको छ । एमालेका नेता डा भीमबहादुर रावलले सडकमा विरोधकाबीच सो प्रस्तावलाई अघि बढाउन र सत्ताका लागि राष्ट्रियताका सवालमा सम्झौता गर्न नहुने बताउनुभयो । सो सम्झौता यही फागुन ८ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो । सो सम्झौतालाई यही फागुन १६ गतेभित्र अनुमोदन हुने/नहुने निधो गर्न अमेरिका सरकारले समयसीमा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू