अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३४ | Colorodo: 02:49

कलाकार जयनन्द लामाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि विहीवार प्रज्ञा प्रतिष्ठानमा राखिने

बिआरटीनेपाल २०७८ फागुन ११ गते ७:१२ मा प्रकाशित

कलाकार जयनन्द लामाको पार्थिव शरीरलाई विहीवार प्रज्ञाभवन कमलादीमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ । नेपाली लोक गायन र चलचित्र क्षेत्रका दिग्गज कलाकार लामाको बुधवार विहान आफ्नै निवासमा निधन भएको हो । आफैंले चलाएर घर पुगेको गाडीबाट ओर्लने क्रममा शरीरको सन्तुलन बिग्रिएर लड्दा आँगनको पर्खालमा टाउको ठोक्किएर उहाँको निधन भएको पोष्टमार्टम रिपोर्ट आएको परिवार स्रोतले जनाएको छ ।

उहाँको पार्थिव शरीरलाई काठमाडौं मेडिकल कलेजमा पोष्टमार्टमपछि अहिले भक्तपुर दुवाकोटस्थित घरमा ल्याइएको छ । घरमा बौद्ध परम्परा अनुसार पूजा र लामापाठ पछि विहीवार विहान १० बजेदेखि प्रज्ञा प्रतिष्ठानको डबलीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने उहाँका भाइले जानकारी दिनुभयो । उहाँको विहीवार दिउँसो स्वयम्भुमा बौद्ध परम्परा अनुसार दाहसंस्कार गरिने बताइएको छ ।

मौलिक नेपाली लोक गीत संकलन र गायनमा लामाको उल्लेखनीय देन रहेको छ । उहाँ नेपालमा पहिलोपटक गीति एल्वम निकाल्ने कलाकार समेत हुनुहुन्थ्यो । उहाँले माया गर्छु म नामक चलचित्रको निर्माण तथा निर्देशन गर्नुभएको थियो भने छक्कापञ्जा, घामपानी लगायत एक सयभन्दा बढी चलचित्र र टेलिचलचित्रमा अभिनय गर्नुभएको थियो । उहाँले २ साता अघि मात्र आफ्नो स्वर र संकलनमा नयाँ गीतको भिडियो सार्वजनिक गर्नुभएको थियो । उहाँ नेपाल प्रहरीको सांस्कृतिक विभाग महेन्द्र पुलिस क्लबबाट अवकाश प्राप्त हुनुहुन्थ्यो । उहाँको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले समेत दुख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू