अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०३ | Colorodo: 16:18

अमेरिकामा नेपाली सेलिब्रिटीहरुको लाजलाग्दो चरित्र

शैलेश पोखरेल

शैलेश पोखरेल २०७८ माघ १५ गते १०:२१ मा प्रकाशित

देशमा बस्ने नेपालीहरूले जति माया नेपाली भाषा, साहित्य र कलालाई माया गर्छन् त्यति नै माया विदेशमा बस्ने नेपालीहरूले गर्छन् । मायाको कुरा गर्दा उनीहरूले नेपाली कलाकारहरू र सेलिब्रेटीहरुलाई पनि उत्तिकै माया गर्छन् । कहीँ कतै नेपाली कलाकारहरूको केही कार्यक्रम हुँदैछ भने आफ्नो काम र पारिवारिक व्यस्तताको बाबजूत पनि समय मिलाएर पुगिहाल्छन् । विदेशमा रहेका नेपालीहरू माझ नेपालबाट अथवा विदेशमै रहेका नेपाली कलाकारहरू र सेलिब्रेटीहरुको कार्यक्रम आयोजना गर्न त्यहाँका स्थानीय संस्थाहरूको ठुलो भूमिका रहन्छ । कलाकारहरूसँग कार्यक्रमको कुरा सुरु गर्नदेखि त्यसलाई सफलतापूर्वक सम्पन्न गर्ने सम्मका सम्पूर्ण जिम्मेवारी त्यस्ता संस्थाहरूले आफ्नो काँधमा बोकेका हुन्छन् । आयोजक संस्थाहरूले कार्यक्रम गर्दा स्थानीय नेपाली समुदायलाई केही स्वच्छ मनोरञ्जन दिनुको साथै संस्था र समुदायको हितमा काम गर्न केही अर्थ सङ्कलन पनि गर्न सकियोस् भन्ने आशा राखेका हुन्छन् । तर कैयौँ पटक उनीहरूले घाटा नै व्यहोर्ने अवस्था पनि आउँछ ।

अनि जसरी यी संस्थाहरूले नेपाली कलाकारहरूलाई मान सम्मान दिएर विदेशमा रहेका नेपालीहरू बिच आफ्नो कला प्रदर्शन गर्ने र थोरै मात्र भए पनि आम्दानी गर्ने मौका दिन्छन् उनीहरूले त्यही अनुरूपको व्यवहार ती कलाकारहरूबाट नपाउने सम्भावना अत्यधिक रहन्छ । विशेष गरेर जब कलाकारहरू स्टारडमको घमन्डमा आफ्नो धरातलीय यथार्थ र कार्यक्रम गर्ने ठाउँको वस्तुगत यथार्थको मतलब नगरी अव्यवहारिक चरित्र र अस्वाभाविक मागहरू तेर्साउँछन् अनि कार्यक्रम आयोजकहरूलाई कार्यक्रम सफल पार्न हम्मे पर्ने मात्र होइन कतिपय अवस्थामा कार्यक्रमको तयारी गर्दा गर्दै बिचैबाट कार्यक्रम रद्द गर्न पर्ने स्थिति पनि आउँछ ।

कलाकारहरू कुनै एक ठाउँमा कार्यक्रम गर्नको लागि एउटा संस्थासँग वचनबद्धता व्यक्त गरिसकेपछि पनि अलिकति बढी पैसा प्राप्त गर्ने लोभले अथवा अन्य कुनै स्वार्थवश पहिले कुरा गरेको संस्थालाई कुनै जानकारी नै नदिई त्यही स्थानमा कार्यक्रम गर्न अर्को संस्था सम्झौता गर्छन् । कम्तीमा एक चोटि कार्यक्रम गर्नको लागि वचनबद्धता व्यक्त गरिसकेको संस्थालाई सम्पर्क गरेर आफूले उनीहरूसँग कार्यक्रम गर्न नसक्ने जानकारी दिनुसम्म पनि आवश्यक ठान्दैनन् उनीहरू । एउटा कलाकारबाट मात्र यस्तो व्यवहारको प्रदर्शन भएको भए यसलाई सार्वजनिक रूपमा चर्चा गरिरहनु आवश्यक थिएन । तर बढी भन्दा बढी कलाकारमा यो प्रवृत्ति हाबी रहेको देखिन्छ र थुप्रै ठाउँमा यो समस्या दोहरिइरहेको छ ।

हालै मात्र एउटा रियालिटी सो जितेर चर्चामा आएका गायक किरण गजमेरबाट कोलोराडोमा साङ्गीतिक कार्यक्रम गर्ने सिलसिलामा यस्तै व्यवहारको प्रदर्शनी भयो । यस अघि एक जना चर्चित नायिका नम्रता श्रेष्ठले पनि आफ्नो चलचित्र देखाउनको लागि एउटा संस्थासँग कुराकानी अगाडि बढाएर पछि त्यस संस्थालाई केही जानकारी नै नदिई अर्को संस्थासँग मिलेर आफ्नो चलचित्र प्रदर्शनी गरेकी थिइन् । यी त केही प्रतिनिधि घटना मात्र भए तर यस्ता घटनाहरू दोहरिनै रहन्छन् । तर नेपाली सेलिब्रेटीहरुले देखाएको यो तल्लो स्तरको व्यवहारलाई हामीले कहिलेसम्म सहने ? के विदेशमा रहेका नेपाली समुदाय र संस्थाहरूले यो विरुद्ध आवाज उठाउन जरुरी छैन ?