अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

नेजाको २ वर्ष २ महिनामा आर्थिक पक्षमा के के भयो ?

शैलेश पोखरेल २०७५ भदौ १५ गते ७:५९ मा प्रकाशित

नेपाल अमेरिका पत्रकार सङ्घको पूर्व कोषाध्यक्ष भएको नाताले म सिधै आर्थिक पक्षमा लान्छु । नेपाल अमेरिका पत्रकार सङ्घ नेजाको छैटौँ अधिवेशन तथा १२ औँ साधारण सभाका लागि ध्रुव कुँवरको संयोजकत्वमा बनेको टिममा म पनि थिए । नयाँ ठाउँमा अधिवेशनको चाजोपाजो मिलाउन मेहनत गर्नै पर्ने थियो । वासिङटन राज्यको सियाटलमा होटेल बुक गर्नु पर्ने भयो । समरको बेला महँगो समय । होटेल पाउन गाह्रो । पशुपति पाण्डेको सहयोगमा होटेल खोजियो । कोषाध्यक्ष भए पनि मसँग संस्थाको उपयोग गर्न मिल्ने डेबिड कार्ड थिएन । धेरै पहिला नै मैले संस्थाको नामको कार्ड पठाई दिन अध्यक्ष भोला आचार्यलाई भनेको थिए । तर संस्थाको नाममा रहेको कार्ड आफूले राखेर उनको नाम भएको कार्ड मलाई पठाइ दिए । त्यो कार्ड मैले एक्टिभेट गर्न सक्ने कुरै भएन । उनले एक्टिभेट गरिदिए भने तर त्यो कार्डले कहिले पनि काम गरेन ।

होटेल बुक गर्नु अगाडि नै अध्यक्ष भोला आचार्यसँग संयोजक ध्रुवजीले डेविड कार्ड मागेका थिए । तर पठाएनन् । कार्डको फोटो खिचेर पठाए । त्यही कार्डबाट होटेल बुक गर्न लागियो । त्यसै दिन भोलाजी बैक गएर त्यो कार्ड डियाक्टिभ गरिदिए । ध्रुव जीलाई त्यो कार्ड हराएको बताए । अधिवेशन नजिकदै गर्दा पहिलो गाँसमा नै ढुङ्गा भने झैँ भयो । चेक वा क्यासबाट होटेल बुक हुँदैन । कार्ड नै चाहिन्छ । आचार्यले बैङ्क गएर नयाँ कार्ड मगाएको बताए । होटेल बुक ढिलो भयो । कार्ड डेलिभरी भएपछि होटेल बुक गर्ने डेट सारियो । १० दिन पछि उनले बैकले पठाएको नयाँ कार्ड आफूकहाँ नआएको जानकारी दिए । फेरी नयाँ कार्ड मगाउने बताए । कार्यसमिति बैठकमा अध्यक्ष आचार्यले लाजै नमानी एक महिनामा लगातार दुई पटक संस्थाको डेविड कार्ड हराएको बताए । सबैलाई थाहा थियो उनी सियाटलमा नेजाको अधिवेशन गर्ने पक्षमा थिएनन् । होटेल बुक गर्ने समयमा डेविड कार्ड पटक पटक हराउनु संयोग मात्र पनि हुनसक्छ ।

अध्यक्ष भएर आएको पहिलो महिना देखि नै उनका यस्तै यस्तै व्यवहार सहँदा सहँदा बानी परिसकेका कार्यसमितिका सबै साथीहरूले यसलाई पनि सामान्य रूपमा नै लिए । जुलाई महिना हुनाले दिन दिनै होटेलको रेट बढिरहेको थियो साथै बुक गर्न ढिलो भइसकेको थियो । कार्यसमितिले ध्रुव जी र मलाई आफ्नै निजी क्रेडिट कार्डबाट होटेल बुक गर्न अनुमति दियो । त्यसको भरपाई संस्थाले गर्ने निर्णय भयो । हामीले अधिवेशनको लागि आफ्नै कार्डबाट होटेल र मोटल बुक गर्‍यौ । ध्रुवजीको कार्डबाट क्यारियन होटेल अनि मेरो क्रेडिट कार्डबाट राम लामाको सहयोगमा मोटेल ६ बुक भयो । मलाई मेरो कार्ड दिन मन थिएन किनकि कोलोराडोमा २०१४ मा एजीएम गर्दा तत्कालीन अध्य्यक्ष गौतम दाहालले मेरो क्रेडिट कार्डमा नेजा एजिएममा खर्च भएको रकम दिन एक महिना ढिलो गरेका थिए ।

कार्यकालको अन्तिम तिर आइपुग्दा अध्यक्ष आचार्यले जे गरे पनि सामान्य लाग्न थालिसकेको थियो । यस्तो पनि परिस्थिति बन्यो की उनले गरेका आर्थिक कारोबारमा विषयमा प्रश्न उठाउने व्यक्ति नै गलत हो जस्तो भयो । अध्यक्षले यस्तो गल्ती गर्दै गर्छन् छोडी दिनु पर्छ भन्ने परिवेश निर्माण भइसकेको थियो । तर म गलिन । प्रमाण लिएर हरेक कार्यसमिति मिटिङमा कराइ रहे । नेजामा आर्थिक अपचलनका विषयमा धेरैवटा बैठकमा लामो छलफल भयो । संस्थाको कोषको दुरुपयोग भएको प्रमाण कार्यसमितिमा मैले पटक पटक पेस गरे । लस एन्जलसबाट निर्वाचित भएर आएपछि जुन ३, २०१६ मा संस्थाको कार्डबाट ५२७ डलर ९६ सेन्ट्स तिरेर प्राइसलाइनबाट प्लेनको टिकट काटे अध्यक्ष आचार्यले । संस्थाले यो सुविधा अध्यक्षलाई दिएको छैन । न्यु योर्कको होटेलमा जुन ६, २०१६ मा बसेको ११२ डलर पनि संस्थाको डेविड कार्डबाट तीरे । संस्थाको कोष यसरी दुरुपयोग गर्न मिल्दैन । अडिट गराउँदा समस्या हुन्छ भनेर संझाउदा मलाई नै गाली गरे । यो विषय कार्यसमितिमा लगे । छलफल भयो । नियत नभई संस्थाको कार्ड झुक्किएर प्रयोग भएको बताए । तर पनि पैसा तत्काल कोषमा फर्काएनन् । झन्डै दुई महिना पछि २ किस्तामा तीरे । यो घटना सेलाउन नपाउँदै उनले १५ सय डलर जुन २२, २०१६ मा संस्थाको कोषबाट निकाले । संस्थाको पैसा किन निकालेको भनेर प्रश्न गरे ? उनले ग्रामीण पत्रकारिता पुरस्कारको रकम नेपाल पठाउन झिकेको बताए ।

तर पुरस्कारको रकम ११६० डलर त बैकवाट सिधै अर्थात् वायर ट्रास्फर गरेर जुन २७ मा पठाइ । पठाउँदा त्यो १५०० डलर जम्मा नगरी नेपाल पठाएँ ।  फेरी मैले त्यो क्यास जम्मा नगरी किन खाताबाट पठाएको भन्दा, उनले मलाई धम्क्याउदै भने नेतृत्वलाई प्रश्न गर्ने हैसियत के हो ? झगडा गर्न खोजे । उनले तत्काल संस्थाको बैक एकाउन्टको पासवर्ड चेन्ज गरेर मैले खाताको कारोबार हेर्न नसक्ने बनाए । त्यति मात्र होइन उनले मलाई कोषाध्यक्षबाट हटाएको सूचना सार्वजनिक गर्न महासचिव तोया दाहाललाई दवाव दिदै ड्राफ्ट नै तयार गरेर महासचिबलाई पठाए छन। सायद त्यसको प्रमाण तत्कालीन महासचिव दाहालसँग हुनुपर्छ । 
उनले संस्थाको कोषबाट १५ सय डलर निकालेर चलाएको विषय कार्यसमितिका बैठकमा पटक पटक छलफल भयो । कार्यसमितिका सबै जनाले त्यो रकम कोषमा दाखिला गर्न भने । तर उनले टेरेनन् । अक्टुबर १६, २०१६ मा नेपालमा पत्रकार सञ्जय न्यौपानेको सहयोगका लागि पैसा पठाउँदा जम्मा गरेर मिलान गरेको बताए । अध्यक्षले अपचलन गरेको यो पैसा संस्थाको हरहिसावमा मिलान गराउन पनि दुख गर्नु पर्‍यो । तर आचार्यले कोषाध्यक्षको वैक खाताको एक्सेस खुलाई दिएनन् । कोषाध्यक्षको एक्सेस तत्काल खोलिदिन कार्यसमितिले आचार्यलाई पटक पटक दबाब दियो । आचार्य संस्थाको प्राइमरी खाता होल्डर  भएकाले मैले अकाउन्टको पासवर्ड चेन्ज गर्न सक्ने सम्भावना नै थिएन । उनले कोषाध्यक्षको एक्सेस बन्द नै नगरेको बताएर टारे । कार्यसमितिको चर्को दबाब अनि एनआरएनको कार्यक्रम बेला डालासमा म, तोया दाहाल, बाल जोशी, लेखनाथ गौतम र किसन रेग्मीसँगको रहोबरमा आजै पासवर्ड दिने भने । उक्त दिन पासवर्ड दिएनन् । दुई पछि दिए । चार महिना पछि बैङ्क एक्सेस मलाई खुला गरे । खाता हेर्दा उनले धेरै पहिला खातामा दाखिला गर्नु पर्ने दुई हजार डलर केही दिन अगाडि मात्र जम्मा गरेको देखे । पटक पटक पैसा निकालेर चलाउन सजिलो होस भनेर मेरो एक्सेस बन्द गरेको उनको व्यवहारबाट देखियो ।

डालासमा गरिएको पूर्व अध्यक्ष आङ छिरिङ्ग शेर्पाको डकुमेन्ट्री सोबाट बचेको रकम समेत अध्यक्ष आचार्यले समयमा नेजाको खातामा जम्मा गर्न नदिँदा दाताले दिएको चेक एक्सपाएर भयो । चेक एक्सपाएर हुँदा घाटा भएको रकम कार्यसमिति सदस्य लेखनाथ गौतमले आफ्नै खल्तीबाट हाल्नु पर्‍यो । नयाँ कार्यसमिति आउनसाथ नेजा नाइट जस्ता रमिते कार्यक्रम नगर्ने भनेर संस्थामा भद्र सहमति भैसकेको थियो । कार्यसमितिको सहमति नलिई अध्यक्षको चाहानामा डालासमा नेजा नाइट थ्रीको तयारी भयो । संस्थालाई थाहै नदिई कलाकारलाई पत्राचार र खर्च गरे अध्यक्षले । कलाकारलाई कति पैसा दिने भनी संस्थामा छलफल नै नगरी मनलागि पैसा दिइयो । अध्यक्ष र कोषाध्यक्षले आकस्मिक कामका लागि ५०० डलर सम्म खर्च गर्न सक्ने व्यवस्था भए पनि विधान र नियम विपरीत अध्यक्ष आचार्यले नेजाको खातावाट १४ सय डलर चलाए । विधि–विधान मिचेर काम गरेको भन्दै कार्यसमिति बैठकमा उनलाई माफी माग्न लगाएर संस्थाको खातावाट झिकिएको रकम दाखिला गर्न बाध्य बनायौँ । कार्यक्रम पछि संस्थाको खाताबाट निकालेको पैसा फिर्ता गरे । तर कार्यक्रमको हरहिसाव पारदर्शी गर्न दिएनन् । त्यस कार्यक्रम टिकट बिक्री, स्पनसर, दातावाट उठेको रकम, उठ्न बाकी रकम, कलाकारको लागि गरिएको खर्च विवरण माग्दा कार्यक्रम गर्ने क्षेत्रीय संयोजकलाई निरुत्साहित गरेको भन्दै अध्यक्ष कार्यसमितिका साथीहरू माथि खनिए । नेजाको आकस्मिक कोषमा ५ हजार डलर जम्मा गर्न भनेर गरिएको नेजा नाइट थ्रीवाट एक पैसा पनि जम्मा हुन सकेन । नेजाको आकस्मिक कोषका लागि दाताहरुवाट प्राप्त सहयोग कलाकार र खानपिनमा सकियो । कार्यसमितिले अध्यक्ष आचार्यलाई माफी मगायो । नेजा नाइट जस्ता आमदानी कम खर्च बढी हुने कार्यक्रम नगर्ने निर्णय समेत गर्‍यो ।

मनोमानी ढङ्गले डालासमा नेजा नाइट ३ गरिए पछि दुई वर्ष अघि भोला आचार्यको संयोजकत्वमा न्यूयोर्कमा भएको नेजा नाइट २ मा के कसरी आर्थिक कारोबार भएको रहेछ भनेर बैक खाता खोलेर हेरे । नेजा नाइट २ पछि उनले निकालेको विज्ञप्ति पढे । उठ्न बाकी रकम ३ सय र बाकी सबै खर्च कटाएर १७ सय ४८ डलर फाइदा भएको उल्लेख छ । तर यो रकम कोषमा दाखिला भएको देखिएन । मैले तत्काल महासचिव तोया दाहाल र सचिव अग्नि चौलागाईलाई जानकारी गराए । उनीहरूले यो सार्वजनिक नगर्नुस् भोला जीलाई सोध्नुस् भनेर सल्लाह दिए । मैले आचार्यलाई म्यासेज पठाए । नेजा नाइट २ को नाफा भनिएको १७४८ डलर खातामा जम्मा भएको देखिएन त्यो रकम कहाँ छ भनेर सोधे ।  उनले प्रस्ट जवाफ दिन सकेनन् । मलाई शङ्का लाग्न थाल्यो । उनले कोषाध्यक्ष बिटु केसी र तत्कालीन अध्यक्ष गौतम दाहाल यसका लागि जिम्मेवार भएकोले उनीहरूलाई सोध्नु भनेर पनसिन खोजे । मैले गौतम दाहाललाई सोधे । कार्यक्रमको संयोजक तत्कालीन महासचिव भोला आचार्य भएकाले सम्पूर्ण काम उनैबाट भएकाले आफूहरूलाई यसबारे जानकारी नभएको बताए । आचार्यले फाइदा भएको रकम कोषमा जम्मा गरेनन् । कोष हरहिसाव हेर्ने अधिकार भएका अध्यक्ष र कोषाध्यक्षलाई पैसा दिएनन् । त्यो रकम कहाँ जम्मा गरे ? बाध्य भएर कार्यसमितिलाई यो विषयमा जानकारी गराए ।

तत्कालीन कोषाध्यक्ष विटु केसीको आर्थिक प्रतिवेदन साधारणसभाले पास गरिसकेको अवस्थामा अहिले आएर त्यो रकमको खोजी किन गरियो भन्दै उनले आफूमाथि षडयन्त्र भएको बताए ।कार्यसमितिमा यो विषयमा छलफल गरिए आफूले बैठक नै छोड्ने धम्की पनि दिए । आचार्यले आफ्ना कमजोरी तत्काल स्वीकार गर्नु भन्दा कार्यसमितिमा आफ्नो विरुद्धमा ग्रुपइजम भएको, चरित्र हत्या गर्न षडयन्त्र गरेको भन्दै आफू ठिक र पैसाको खोजी गर्नेहरू नै खराब भएको देखाउन प्रयास गरे । सल्लाहकार सहितको कार्यसमिति बैठकमा विष्णुहरि घिमिरे र मैले यो विषय प्रवेश गराउनसाथ बैठक छोडेर हिँड्ने बताए । उनको कुरा सुनेर कार्यसमिति सदस्य मात्र होइन सल्लाहकार पनि चकित भए । तर पनि हामीले संस्थाको पैसा खातामा दाखिला हुनु पर्‍यो वा खर्च भएको प्रमाण देखाउनु पर्‍यो भनेर अडान लियौँ । यसपछि त उनले कार्यसमितिका नियमित बैठक समेत गर्न दिएनन् । अधिवेशन नजिकदै थियो । उनले यो विषयमा अधिवेशनमा नै जवाफ दिने बताए । मैले संस्थाको आर्थिक प्रतिवेदन तयार गर्दा सबै कुरा समेटेको थिए । उनले अधिवेशन सुरु हुनु दुई घण्टा अगाडि सियाटलको क्लारियन होटेलमा बसेको नेजा कार्यसमितिको अन्तिम बैठकमा नेजा नाइट २ को फाइदा भएको रकम दाखिला गरेको प्रमाण आफूसँग नभएका कारण त्यसको जिम्मा लिँदै पैसा जम्मा गर्ने बताए । चेक मार्फत सो रकम उनले नेजाको खातामा दाखिला गरे ।

दुई वर्ष दुई महिनामा नेजाको कोषबाट अध्यक्ष भोला आचार्यले चलाएको, निकालेको र दाखिला नगरेको करिब पाँच हजार डलर भन्दा बढी रकम नेजाको खातामा दाखिला भएको छ । नेजा कार्यसमितिका एक दुई जना बाहेक अधिकांश साथीहरू आर्थिक पारदर्शिता र संस्था विधि विधानबाट चल्नु पर्छ भन्ने पक्षमा रहनु भयो ।

उपाध्यक्षको नोमिनेसन फि
म, अग्नि चौलागाईं र सुजन पण्डित (निर्वाचन आयोगको टिम मेम्बर) एकै ठाउँमा उनीहरू दुवै कुर्सीमा विराजमान थिए म उभी रहेको थिए । त्यसै बेला विकासराज न्यौपानेको नोमिनेसन उपाध्यक्षमा आयो । फर्म सुजन पण्डितले लिए । पैसा लिने बेलामा म शुक्रवार म्यारियाट होटेल बस्दा ३१० जति खर्च भयो त्यसमा हिसाब मिलाउनु नोमिनेसन फि भनेर विकास न्यौपानेले भने । अग्नि चौलागाइले कुरै नबुझी ए भैहाल्छ नि भन्नु भयो, मैले तुरुन्तै हुन्न भाइ तिमी ५ स्टार होटेलमा बसेको नेजाले बेहोर्दैन भने । नेजासंग त्यत्रो पैसा छैन भने पछि विकास त्यहाँबाट ३०० डलर नतिरी अर्कै तिर लागे । मैले सुजन पण्डित जो निर्वाचन कमिटीमा हुनुहुन्थ्यो उहालाइ प्रस्टै रूपमा भने नोमिनेशन दस्तुर नलिई फर्म लिन मिल्दैन । नोमिनेसन फि ३०० डलर चाहिन्छ भने । पन्डितजिले हुन्छ म तारादाइ (नेजा-निर्वाचन आयुक्त) संंग कुरा गर्छु, भने पछि म पनि त्यहाँबाट हिँडे ।

निर्वाचन आयोगले फाइनल लिस्ट निकालो । सबै निर्विरोध भए । महासचिवको नाममा उजुरी पर्‍यो । त्यो उजुरी के सम्बन्धी थियो कसले हालेको थियो, के निर्णय भयो मलाई केही थाहा भएन । मैले चासो पनि लिइन । अध्यक्ष आचार्यले नव निर्वाचित अध्यक्ष सुदिप पन्तलाई चाबी दिए । महासचिव तोया दाहालले नेजाका डकुमेन्टहरू दिए । मैले कोषाध्यक्ष मच्छे गुरुङ्लाई नेजाको चेक बुक दिए । सामूहिक फोटो भयो । साथीहरूले न्युज बनाउन थाले । कतिले त्यहीबाट पोस्ट पनि गरे । प्रमुख अतिथि नेपाल पत्रकार महासंघ अध्यक्ष गोबिन्द आचार्यले सबैलाई बधाई दिनु भयो । तर मेरो मनमा चैँ एउटै कुरा चली रहेको थियो ३०० डलर आयो कि आएन ।

सबै सकिएपछि सुजन पण्डितले मलाई हिसाब दिनु भयो हिसाब दिँदा उपाध्यक्षको नोमिनेसनको रकम आएको थिएन । सुजनजिले दिएको रिसिटमा डिउ (बाकी) भनेर नै लेखिएको छ । विकास त उधारोमै उपाध्यक्ष भइसकेछन् । उमेम्द्ववारी नै वैध नभएपछि त नेजाको विधान अनुसार उनलाई उपाध्यक्ष भनेर शपथ खुवाउन त मिल्दैन थियो । उनलाई उपाध्यक्ष मानी नै सके अव मलाई पैसामा मात्र चासो भयो । मैले भने हेर्नुस सुजन जी म १८ महिना यही हिसाब किताबमा लफडा भएर बल्ल हिजो संस्थाको पैसा १७४८ तिराउन सफल भए । फेरी पनि पैसामा यस्तो मबाट सहन हुने छैन । ३०० डलर चाहियो । हुन्छ म तारा दाइसँग कुरा गर्छु भनेर सुजन पण्डितले त्यहाँबाट सुइँकुच्चा ठोके । केही घण्टा पछि होटेल लबी बाहिर फेरी भेट भयो सुजन पण्डितलाई फेरी सम्झाए । मैले तारा दाइलाई भनी सके अहिले फेरी हामी बाहिर जान आँटेको फेरी भन्छु भनेर त्यहाँबाट उनी फेरी हिँडे ।

अब आयो सोमबारको दिन बिहान मैले नव निर्वाचित कोषाध्यक्ष मच्छे गुरुङलाई सबै बिल तथा हिसाब किताब बुझाउन साथै अनलाइन एसेस कसरी गर्ने, पे पलको पैसा कसरी खातामा सार्ने आदी सिकाउनको लागि भेट्ने कुरा भयो । भेट भयो । हिसाब बुझाउने क्रममा मैले उनलाई उपाध्यक्ष विकास न्यौपानेले नोमिनेसन फि दिएको छैन भनेर जानकारी दिए ।

मच्छे गुरुङको अनुहार रातो भयो त्यो कुरा सुनेर । हामी त्यही आर्थिक गडबडीको केसमा १८ महिना देखी सँगै लडेर बल्ल दुई दिन अगाडि सफल भयौँ । नयाँ कार्यसमिति आउन पाएको छैन आर्थिक गडबडी सुरु भइहालो । हाम्रो पालामा अध्यक्षले यो पालामा उपाध्यक्षले अर्को दुई वर्ष पछि महासचिवको पालो हो कि क्या हो ?

उनले तारा बराल, सुदिप पन्तलाई फोन लगाइ हालिन । गुरुङ मान्छे कडा हुन्छन् भनेको सुनेको थिए मैले त्यस दिन देखे । हो साँच्चै कडा नै हुँदा रहिछन् । यो कुरा एक कान दुई कान हुँदै सबै तिर फैलियो । मलाई पूर्व अध्यक्ष गौतम दाहालको फोन आयो मैले भएको कुरा बताए । मलाई कुनै लुकाउनु नि थिएन, थपेर भन्नु पनि थिएन ।

म आफ्नै कोठा तिर लागे उपाध्यक्ष विकास न्यौपानेको फोन आयो दाइ कसरी पैसा तिर्ने भनेर सोधे । पे पलबाट छिटो हुन्छ भने । त्यसपछि आउँछ कि आउँदैन चेक गर्छु एक डलरको अनि बाँकी पठाउँछु भने । उपाध्यक्ष भएको भोलिपल्ट सोमबार उनले आफ्नो नोमिनेशन शुल्क ३०० डलर नेजाको पे पलमा जम्मा गरे ।

नोट: पछिल्लो समय केही अनलाइन र सोसल मिडियामा नेजाको आर्थिक विषयमा केही प्रश्नहरू उठाइएको हुँदा निवर्तमान कोषाध्यक्ष भएका कारण मैले संस्थाका केही आन्तरिक कुराहरू लेख्न बाध्य भए । यसलाई सबैले सहज रूपमा लिइदिनु हुनेछ भन्ने विश्वास लिएको छु ।

सम्बन्धित सामग्रीहरू