अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५५ | Colorodo: 12:10

बुद्धजयन्ती अगावै गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याइन्छ -पर्यटनमन्त्री आले

बिआरटीनेपाल २०७८ माघ १५ गते ५:२५ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आगामी बुद्ध जयन्तीअघि नै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने बताउनुभएको छ । विमानस्थलको निरीक्षणका क्रममा शनिबार भैरहवा आएका मन्त्री आलेले नागरिक उड्डयन प्राधिकरणका अधिकारी र मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उक्त कुरा बताउनुभएको हो ।

निर्माण सुरु भएको सात वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग पूरा भएको छ । विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको छ । विमानस्थल निरीक्षणका क्रममा मन्त्री आलेसहित मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, उपनिर्देशक लगायतको टोली गएको थियो ।

मन्त्री आलेले बुद्ध जयन्ती अगाडि नै विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल विद्यमान रहेको एयर ट्राफिकको समस्या समाधान हुने पनि उहाँको दाबी छ ।

विमानस्थल निरीक्षणपछि प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले आगामी फागुन ९ गते परीक्षण उडानको कार्यतालिका बनाइएको जानकारी दिनुभयो । ठाकुरले आउँदो बुद्ध जयन्तीका दिन चार्टड विमानमा लुम्बिनीमा पाहुना ल्याउने गरी विमानस्थल सञ्चालनको योजना बनाइएको पनि बताउनुभयो ।

परीक्षण उडानका लागि विमानसहित मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने लगायतका निर्माण कार्यको ठेक्का लिएको थाइल्याण्डको एरो थाइ कम्पनीका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले एरो थाइ कम्पनीका तर्फबाट विमानस्थलमा जडान गरिएका उपकरण र ग्राउन्ड चेकको कार्य भइरहेको बताउनुभयो ।

विमानस्थल निर्माण आयोजना अन्तर्गत आइसिबी टु को ठेक्का थाइल्याण्डको एरो थाइ कम्पनीले लिएको छ । आइसिबी टु अन्तर्गत मौसम, सञ्चार, विमानको दिशा पत्ता लगाउने संयन्त्रको निर्माण पर्छ । परीक्षण उडानको तयारीस्वरुप थाइल्याण्डबाट चार जना प्राविधिकको टोली भैरहवा गएको छ ।

 

प्रतिक्रिया