अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०७ | Colorodo: 09:22

अविश्रान्त स्रष्टा वेदमणि

गोपी मैनाली २०७८ माघ ४ गते १९:१६ मा प्रकाशित

कोही किन साहित्य लेख्छ, यस पछिको उत्तर आआफ्नै होला । कोही स्वान्त सुखाय भन्लान, कोही मनोरञ्जन त कोही समाज सुधारका लागि केही सन्देश दिन । कोही वाद र विचारमा साहित्यको विभाजन कोर्छन्, कोही अर्थ आस्थामा । कोही त साहित्यलाई समाज भड्काउने सूत्रका रूपमा पनि लिन्छन् । दार्शनिक प्लेटो नाटककार होमरका ओडिसी र इलियडका पात्रले समाजलाई अनैतिक र भ्रष्ट बनाउन मद्दत गरेकोमा काव्यप्रति नकारात्मक बनेका थिए । जीवन अनुकूलका पात्र, अथवा जीवन सिकाउने पात्र नभएकोमा प्लेटो साहित्यप्रति आक्रोशमा थिए । साहित्यलाई संसार चियाउने सुन्दर आँखीझ्यालका रूपमा लिनेहरू पनि छन् । स्रष्टा वेदमणि घिमिरे ‘गोविन्द’ साहित्य समाजलाई नैतिक बनाउन र मानिसमा आत्मिक चेत फैलाउने साधना सम्झन्छन् ।

पहिलो कविता ‘पानी समान ज्ञानी’ बाट काव्य यात्रा सुरु गरेका वेदमणि दुई कविता सङ्ग्रह, तीन गीतिकाव्य, पाँच महाकाव्य, तीन खण्डकाव्य, चार उपन्यास, एक दैनिकी काव्य, एक महिमा काव्य, एक गजल सङ्ग्रह, एक धार्मिक लेखमाला, एक भजन सङ्ग्रह, एक बाल कविता सङ्ग्रह, छ बाल चिन्तन, थुप्रै नैतिक बालकथाहरू प्रकाशित छन् । पछिल्ला वर्षहरूमा प्रत्येक वर्ष कुनै न कुनै विधाको एक कृति प्रकाशित गर्दै आएका छन् । यस दृष्टिकोणबाट वेदमणि ‘अविश्रान्त स्रष्टा’ हुन् ।

साहित्य सिर्जनामा मात्र होइन, साहित्यिक पत्रिका प्रकाशन र ‘अभिनव साहित्य समाज’ का संस्थापकका हैसियतले हरेक महिनाको अन्तिम शनिवार साहित्य गोष्ठीका शृङ्खला आयोजना गरी कैयन साहित्यकार सिर्जना गर्ने कार्य पनि गर्दै आएकमा छन् । यस अर्थमा उनी अविश्रान्त यात्री हुन् । यस अर्थमा सिर्जना पनि सिर्जनाका लागि आधार सिर्जनाको दोहोरो भूमिका मार्फत वेदमणि साँच्चै ‘अविश्रान्त स्रष्टा’ बनिरहेका छन् ।

प्रत्येक स्रष्टाका आफ्नै भावभूमि र सिर्जना क्षेत्र हुन्छन् । सर्जकले टिप्ने पात्रहरू र परिवेश छुट्टै हुन्छन् । त्यही पात्र र परिवेशमा उभिएर सर्जक आफ्ना दृष्टिकोण र चिन्तन पस्किन्छ । सर्जकको पृष्ठभूमि र अभिमुखीकरण, कर्म क्षेत्र र शिक्षा दीक्षाका आधारमा नै सिर्जना भूमि र पात्र निर्धारण हुन्छ । उसले अवलम्बन गर्ने वृत्तिबाट सिर्जना निरपेक्ष रहँदैन । पूर्वीय दर्शन र चिन्तनबाट प्रभावित–दीक्षित वेदमणि कथा, काव्य, बाल साहित्य, दर्शन र आलेखहरूमा नीति, नैतिकता, र निष्ठालाई उठाउँछन् । पूर्वीय दर्शनका ज्ञाता भएर नै उनका सिर्जनामा पूर्वीय दर्शनले फराकिलो आधार पाएको छ । पूर्वीय चिन्तन आत्म चिन्तन र बह्मचिन्तन हो । धर्म, आदर्श, आध्यात्मा र कर्मसंग जीवनलाई उभ्याउने काम उनका सिर्जनामा भएको छ । भनौं, उनका पात्र, कथानक, काव्यवृत्ति, विचार र वृत्तिमार्फत असल मानिस, सभ्य समाज र कर्मशील व्यवहारको खोजी गर्छन् ।

समकालीन कविता पद्य, त्यसमा पनि शास्त्रीय छन्द विधानबाट पर पुग्दैछ । सिर्जना कला विधान र शास्त्रीय पद्धतिबाट पर पुग्दैछ । थोरै सर्जक मात्र छन्द विधानलाई आत्मसाथ गर्छन् (गर्न सक्छन् ?) । वेदमणि त्यस्ता काव्य साधक हुन्, जसले एकै काव्यमा ८० भन्द बढी छन्द प्रयोग गरेका छन् । ‘अन्तिम’ महाकाव्य ८३ शास्त्रीय छन्द समेटिरहेको छ । एकै सोपानमा पनि धेरै छन्दहरु प्रयुक्त छन् । छन्दले अभिव्यक्तिलाई गेयात्मक, रसिलो, स्मरणयोग्य र सूक्तिमय बनाएको छ । छन्दले शब्दमा लालित्य दिएको छ । कवितालाई कला बनाएको छ । आधुनिक कालसम्म विस्तारित भएको छन्दको युग लेखनाथ, देवकोटा, सम, भीमनिधि, सिद्धिचरण, माधव घिमिरेमा सकिएको छैन भन्ने दृष्टान्त पनि हुन् वेदमणि । कविता कलापूर्ण हुनुपर्छ, लालित्यमय हुनपर्छ, कवितामा चिन्तन र कविताले विशिष्ट शिक्षा दिन सक्नुपर्छ भन्ने दृष्टान्त हुन् कवि वेदमणि ।

सिर्जना स्वान्त सुखाय होइन, यसले समाज र मानवीय सभ्यतालाई वोकोस भन्ने सन्देश वेदमणिका सिर्जनामा छ । त्यसले उनी सामाजिक विषयहरू उठाउँछन् र काव्य साधना मार्फत विकृति–विब्ल्याँटाहरु उठाउँदै मानिस सुध्रिनु पर्छ, सुध्रिन सक्छ, साहित्य त्यसो गर्नसक्छ भन्ने सन्देश दिइरहेका छन् । भौतिक विषयमा रमाएको आधुनिक मानव समाजलाई मानवीय शिक्षा दिनुपर्छ भन्ने चेतना दिन पुग्छन् ।

‘मान्छे भैकन जन्मिए पछि सही ज्ञान वा विज्ञानका
साँचो तत्त्व बुझेर हुर्किन सके बन्नेछ चोला निका ।
मोक्षार्थी अभियानमा सजग भई लाग्नेहरु उत्तम
बन्दै जीवन धन्य पारिन सके होला यही अन्तिम ।। ४५।।’ (‘अन्तिम’ महाकाव्य, छयालिसौ सोपान)

त्यसो त काव्य मार्फत नै साहित्य, कर्म, मानव जीवन, सिर्जना र सौन्दर्य काव्यमा झल्किुन पर्छ भन्ने पनि उनको आग्रह छ, जुन अन्तिम महाकाव्यमा मात्र होइन, अन्य सिर्जनाको पनि सार हो,
‘मान्छेको महिमा बुझी नसकिँदै शास्त्रादि को लेख्छ र ?
मान्छै नै नभए यहाँ धरितको सौन्दर्य को रच्छ र ?
मान्छे पुग्छ चन्द्रलोक तिर नै पुग्लान यिनै मङ्गल
मान्छे नै सबथोक हो धरतीमा मान्छे छ यो जङ्गल’ ।।२८।। (‘अन्तिम’ महाकाव्य, छयालिसौं सोपान)

वेदमणिलाई धेरैले बालसाहित्यकारका रूपमा चिन्छन् । उनका थुप्रै बालकथासङ्ग्रह, बाल चिन्तन र नैतिक बालकथाहरू प्रकाशित छन् । तीमध्ये कतिपय बालबालिकालाई नैतिक शिक्षा दिने पाठ्य÷सन्दर्भ सामग्रीका रूपमा समेत रहेका छन् । एकता, स्यालको मित्रता, दुई टाउके सर्प, जन्मभूमि, पुतलीको दोहोलो, गधाले गीत गाउन खोज्दा, खैरे स्यालको चलाखी, भ्यागुताको उत्सव, सबै अङ्गमा विष भएको जन्तु, फ्याउरो सम्मेलन, बाँदरको चिन्ता, बाल–चिन्तन लगायतका कथाहरू ससाना घटनामार्फत बाल मस्तिष्कलाई मानवोचित व्यवहार, शिक्षा र सदाचार उन्मुख गराउन डोर्‍याउन केन्द्रित छन् । बाल मन–मस्तिष्क सिर्जना र सदाचारको पहिलो प्रयोगशाला हो, बाल व्यवहार नीति आदर्श अनुरूप बनाउन सकेमा नै सामाजिक आदर्श स्थायी हुन्छ । अहिलेको भौतिकवादी र व्यक्तिमुखी बन्दै गएको समाजमा नैतिक शिक्षा बाल मनोविज्ञान बदल्ने ऊर्जा हो । शिक्षाले नैतिक आचरण, सामाजिक रहन सहनको व्यवहार र जीवन बाँच्ने सीप दिनुपर्छ । बालकहरूका लागि लेखिएका नैतिक कथाहरूले बालमष्तिस्कलाई मनोरञ्जनका साथ ज्ञान दिइरहेका छन् ।

बाल साहित्य छुट्टै र विशिष्ट विधा हो । यसमा कलम चलाउन आफूले छाडेको बाल्यकालमा आफूलाई रूपान्तरित गर्न सक्नुपर्छ । अन्यथा पात्रहरूमा बालमन अन्तरवोध गर्दैन । बेदमणिका बालकथाहरूले यसलाई राम्ररी बुझेका छन् । अन्यायको धन पढ्दा होस वा अतिथिको अनादर पढ्दा, पढेको घमण्ड होस् वा असल गुण पढ्दा बाल मन कथामा उत्सुकतासाथ अन्तरवोध गर्छ । यी कथाहरू आधुनिक प्रविधिबाट टम एण्ड जेरी वा कार्टुन नेटवर्कमा पुगे भने यसले समाजमा गर्ने योगदान कति ठुलो हुने थियो होला ? के प्रविधिले वेदमणिका बालकथालाई जे के रोलिङ वा जेरी सिगल जस्तै बनाउन सक्दैन र ?

भगवान् श्रीकृष्ण गीतामा भन्नु हुन्छ, समाजशास्त्र (नीति), धर्म (आचरण) र कर्म (काम) मा अडेको हुन्छ । यी तीन कुराको सन्तुलन नै मानव सभ्यता हो । यी तीन कुराको संयोजन गर्न सक्ने सोचबृत्ति, संस्मरण र सामथ्र्य मानिसमा हुन्छ । त्यसैले मानिस प्राणीमा सर्वश्रेष्ठ मानिएको हो । जन्मले मात्र मानिस श्रेष्ठ हुँदैन, न कर्मले मात्र, आचरण र नीति निष्ठा मानिसलाई श्रेष्ठ (मानिस) बनाउने आधार हुन् । पूर्वीय चिन्तन यही आदर्शको खोजी गर्छ । वेदमणिका रचनाहरू यही सत्यको वरिपरि घुमिरहन्छन् ।

उनलाई बुझ्न ‘कर्म दर्शन’ हेरे पनि पुग्छ, जहाँ योग, मृत्यु, ईश्वर, पुरुषार्थ, महात्मा, नारीवाद, समाजवाद, नास्तकिता, भौतिकता, शिक्षा, राजनीति, ज्ञान, अज्ञान आदिको माध्यमबाट मानव कर्मलाई रौंचिरा विश्लेषण गरिएको छ । वा नीतिकथा, धार्मिक लेख वा कविता, सबैको केन्द्रस्थमा पूर्वीय चिन्तन छ, यसले खोज्ने जीवन र असल संस्कृति छ ।

सच्चा सर्जक सिर्जनामा रमाउँछ, मात्र रमाउँछ । देवकोटा लक्ष्मी निबन्ध सङ्ग्रहमा कति रमाएका थिए, त्यो रमाइलाई अक्षरहरू पनि निकै स्वच्छन्द भएर उरोलेका छन् । भोक, प्यास, इच्छा, उपचार सबै नै सिर्जना हो सर्जकका लागि । सिर्जना बाहेक उसको के नै रहन्छ र ? सिर्जना नै उसको प्राप्ति र सिर्जना नै उसको कर्म हो । सर्जकलाई अन्तरात्मादेखि सिर्जनाले तानेको हुन्छ । सिर्जना नै उसको जीवन हो । लाग्छ यही सत्यका कारण वेदमणि ‘अविश्रान्त स्रष्टा’ बनेका हुन् । ‘अभिनव साहित्य समाज’ को अभियान उनको स्फूर्तता हो, बर्षेनी आफ्नै लागतमा कृति प्रकाशन पर्जिनाको रमाई हो । उनकै शब्द सापट लिदा–‘..लेखन र प्रकाशनको बानी लागिसकेकाले पेटका लागि छुट्याएको अन्न बेचेर पनि आफ्ना रचनालाई नितान्त व्यक्तिगत स्वार्थ वा आशा नराखीकन किरालाई खुवाउन …’ को तयार हुन्छ ?
त्यसैले ‘अन्तिम’ को अन्तिमतिर लेखक लेखकीय मर्मलाई यसरी व्यक्त गर्दछन् ः

‘लेखेँ लेख्न सकेँ कि गन्थन गरेँ पढ्नेहरुले बुझुन्
टिप्दै गन्ध सुगन्ध अर्पित गरेँ यो पुष्पमाला लियून् ।
यौटाले पनि बुझ्छ जीवन भने हट्नेछ मेरो भ्रम
यौटाले पनि भेट्छ लक्षित भने यो काव्य भो अन्तिम ।।’

(मैनाली निवास, शंखमूल)