अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२४ | Colorodo: 11:39

उर्वशी भित्र आशय खोज्दै जाँदा

युवराज मैनाली २०७८ साउन १६ गते ९:५७ मा प्रकाशित

चरणबद्ध लेखनीमा कवि सिद्धिचरणको करचापको लयबद्ध स्वरूपको सरगम अर्थात् सामयिकी सुरताल अवलोकन गर्ने नै हो भने जीवनीको समय सापेक्षमा डोरिँदै गाँसिएको हामी पाउँदछौँ । १९९० को “भुईँचालो”बाट आरम्भित नेपाली कविताको गोरखापत्रबाट झुल्किएको उनको धकधकाई शारदाको पहिलो पत्र प्रातकालीन किरणबाट करबद्ध हुँदाहुँदै स्वनाम अनि छद्म नामबाट बौरिँदै बौरिँदै गए ।

स्वमातृ भाषामा “क्रान्तिविना यहाँ हुँदैन शान्ति” को आह्वानले तिखारिँदै गए । क्रमबद्धताको करचापले उनी करतालको रूपमा अर्थात् ध्वनि चेतनका अग्रछापका अग्रणी बन्दै गए । स्वभाषा नेपाल भाषा र राष्ट्रभाषा नेपाली भाषामा अगुवारही ‘क्रान्ति’ शब्दलाई प्रयोगकर्ताको अग्रसर उनी नै बने । उनको यो अग्रताले नेपाली साहित्यका अनेकन कुरामा उनलाई अगुवा तुल्याउँदै लग्यो । समयले पाएको सत्ताका कोप भाजन कृष्णलाल अप्रत्यक्ष स्वरूपमा रहे भने प्रत्यक्ष लेखनको छेदन कर्ता भई १९९७ सालमा नेपाल प्रजा परिषदबाट पर्चा छरिए पछि चेतनाको छर्रा हानेको छिर्का राजनीतिक कार्यकर्ताको साथसाथै असम्बद्ध कवि लेखकलाई पनि लागे । त्यही छिर्का लागेर उनी सर्वस्वसहित अठार वर्षको कठोर सजायमा परे ।

उनका असङ्ख्य रचना पनि कोपाग्निमा भस्म भए । यस अघि उनका चार वर्षीय पुत्रको मृत्यु भएको थियो । यसबाट विह्वलित कवि “विश्वव्यथा” लामो कवितामा लुटपुटिए । यो लुटपुट्याहट ‘शारदा’ मा गुञ्जित हुँदै गए । आठौँ अंशमा आइपुग्दा ‘शारदा’ को त्यो अङ्क मात्र जफत भएन त्यसमा प्रकट भावना “आज नखाऔँ, नसुतौँ आओ सब मिली हडताल मच्चाऔँ” परेको थियो । काव्य जगत्मा ‘हडताल’ शब्दका प्रयोग नै उनको क्रान्तिकारिताको छाप बन्न पुगेको थियो । यो “हडताल” शब्दको प्रयोग पनि पहिलो नै थियो । १९९७ कै कार्तिक २ गते आमा भवानीको प्रार्थनाको चिसो महिना अघि झस्का बनेर राणा शासकमा चस्का बनेर बिझाइरहेको थियो ।

के निहुँ पाउँ कनिका पुक्याउँको पिसौनी/बिसौनीमा उनी परे । भावुक हृदय चित्तले लेखे मानवीय बन्धनको क्रन्दन गरे तर पनि माया त माया हो, मायाले छोप्यो विचलनको धर्का कोरिए त्यस कोराइमा बिरामका अक्षर अग्रसर भए । अक्षरको नाता अक्षरसँग साक्षात्कार सम्मुख थिए समपथका चित्तधर । चिन्ताबाँध बनेर अक्षर विचलनको बगाइदिए स्थिर बन्यो चित्त । अनि “अभिमन्यु बध वा उत्तरा विलाप” महाकाव्यद्वारा अवरुद्धताको क्षणिक आवेग तोड्न पुगे चित्तधरले उनको चित्त सम्हालिदिएपछि । यी दुईको प्रेरणाले अरू बन्दी सहयात्रीहरू धर्मरत्न “यमी” केदारमान व्यथित र हरिकृष्ण श्रेष्ठहरूले पनि कविता लेख्न थाले । अठार वर्षको लागि दिइएको सजायको बाँकी कैद माफी गरी २००२ मा अरू कैदीका साथ सिद्धिचरण पनि छुटे । त्यसपछि उनले फुटकर कविताका साथै खण्डकाव्यहरू पनि लेख्न थाले । २००७ को लेखन स्वतन्त्रता अनि जेल जीवनको आर्जन चर्चित खण्डकाव्य “उर्वशी” (२०१७) नेपाली भाषामा प्रकाशित पहिलो कृतिको रूपमा देखा पर्‍यो । “उर्वशी” को भूमिकामै कविले लेखेका छन् … उर्वशी म हुँ अर्जुन मेरो आकाङ्क्षा … बाटो छ, यात्रा छँदैछ, अझ केही भएर … हडबडाएर अथवा निराश भएर हातखुट्टा छाड्नु जीवनको हार हो, जो कसैले गर्न हुँदैन ।

हो, उर्वशी जीवन दर्शनबाट प्रभावित खण्ड काव्य हो । माथि वर्णित उनको जेल जीवनमा घटित घटना र चित्तधर हृदयको प्रेरणाले सम्पूर्ण अन्धतम निराशालाई फाँडी अत्युत्तम कर्मपथको उज्यालोतर्फ चालिएको चरणको दर्पण हो । पौराणिक आधारमा आफ्नै अन्तर्मनको केलाईको श्रवण आफैले गरेर पुरुषार्थद्वारा प्रारब्ध माथिको जीत सम्भव रहेको यस खण्डकाव्यको सारांश हो । अनि यसले जीवन पद्धतिको दर्शन पनि इङ्गित गर्दछ । धार्मिक, आध्यात्मिक चिन्तन प्रधान काव्य वस्तुको अभिव्यञ्जना लेखनाथबाट नवीन सामाजिक भावाबोध र युग अनुसार भाका हाल्ने काम भएकै हो । त्यसलाई पनि पाको परिष्कृत भाषामा समले आफ्नै ढाँचा दिएका थिए । त्यसलाई आफ्नै स्वपारामा अझ नयाँ धार दिने कविवर सिद्धिचरणले गरेका छन् । यस उसले उनका काव्यधारा देवकोटाका प्रयोगशीलतामा भन्दा पृथक् रहेर काव्य कै विविध रूप भावानुभूतिका हाँगा बिहाँगालाई समेट्न पुग्दछ उर्वशीमा पनि यही कुरा मुखरित हुन पुगेको देखिन्छ ।

हुन त उर्वशीको जन्म माथि भनिए झैँ जेल मै भएको हो । पिताको देहावसानमा पनि अन्तिम दर्शनबाट वञ्चित भएर मन कुँडिएको छँदै थियो । जेल जीवन अत्यासिलो पनामा गुम्सिएको निराशाले छाएको बेलामा महाभारतमा वर्णित श्रीकृष्णको जन्मको बेलाझैँ प्रकाश पुञ्जको रूपमा रहेका चित्तधरद्वारा आफ्नो दायित्व बोधको प्रकाश पाएपछि कर्तव्य बोध र आत्मालोचनाको स्फुरणबाट “म को हुँ” को गवेषणामा उर्वशी जन्मिन पुगिन् । आत्म बोध अनि कर्ताको कर्तव्यको अन्तर आत्मा र हृदयको अन्तर्द्वन्द्व हो उर्वशी । अनि अन्तर्द्वन्द्वको उहापोह बिच मार्ग पहिचानको राजमार्ग डो¥याई पनि हो उर्वशी जहाँ अर्जुन प्रत्यक्ष बोधताको पात्र बनेर उभी दिएको छ ।

स्थिर बनेर चञ्चल चप्पल उर्वशीका आकाङ्क्षाको उडान जहाँ सर्वत्र व्याप्त छ त्यही अर्जुनको अविचलित निष्ठता, स्थिर स्वरूपमा निष्काम भावले सम्यक स्वरूपमा अडिक रहन्छ । निष्ठता एकातर्फ उग्रकामना बाह्यान्तर (मनोगत आवेग) अर्कोतिर मन र मस्तिष्कको अविचलित निष्ठताको दोबाटोको परिचय हो उर्वशी खण्डकाव्य । अनि हो युगकवि सिद्धिचरणको आफ्नै भोगाइ मन्थनको निष्कर्ष पनि । यसैले उनले आफ्नो भूमिकामा पनि भनेका छन् “… यसरी यो अठचालीस वर्षको उमेरमा पुगेर हेर्दा म आफूलाई अर्जुन होइन उर्वशी भइरहेको पाउँछु । उर्वशी म हुँ अर्जुन मेरो आकाङ्क्षा … । डाँडा चढ्न लागेको थाकेको बटुवाले हरेक घुम्तीलाई भन्ज्याङ हो कि भन्ठाने झैँ स्वर्गको सुमधुर कल्पना गरेर म फर्किन खोजेको पनि तपाईँहरूले यसमा पाउनु हुने छ ।” यहाँ स्पष्ट आत्म स्वीकृति छ, यो यथार्थ हो । जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्दछन् कवि । हो, यहाँ पनि कवि तुलनात्मक माध्यम खोज्दा खोज्दै उर्वशी र अर्जुन बनाउन पुगेका छन् । आध्यात्मिक पात्रको छेस्को माथि आफू पौडन थालेका छन् । भौतिकी यथार्थवादी धारको आफ्नो पहिचान बनाउँदा बनाउँदै परिबन्धको फेरोमा आफूलाई आध्यात्मिक तराजुमा जोख्न पुगेका देखिन्छन् कवि उर्वशीमा ।

हो, आफूभित्र उठेको अन्तर्द्वन्द्व उफारलाई उफार्नसम्म उफारेर थकित तुल्याउँदै पछारेर उनी भन्न पुगेका छन् सत्य मात्र सत्य । सत्य शब्दलाई उनले यसरी पोखेका छन् “… हुन पनि सीमामा बाँधिएका हामीले आफ्नै घेरा भित्रकालाई मात्र राम्ररी ठिक तरिकाले सम्पादन ग¥यौँ भने पुग्छ …। समष्टिलाई हामी तब नै केही प्रदान गर्न सक्दछौँ जब हामी आफूमा भएको बन्धनलाई हटाउन समर्थ हुन्छौँ । निष्काम, कर्म आफ्नो घेराका कर्मलाई ठिकसँग गर्नु नै हो … त्यो परम निचोड रहन्छ ।

इन्द्रियाणि परान्या हुर्रिन्द्रियेभ्य परंमन
मनसस्तु परा बुद्धिर्यो बुद्धे परस्तस्तु स (गीता)

यसका साथै “कविले कविता भन्दा कविको अरू राम्रो भूमिका नै के हुन सक्छ तर भन्नु पर्ने जम्मै कुरा कवितामै भनेर पनि यहाँ मैले फेरी केही भन्नु परिरहेछ ।” भनेर उल्लेखित जति भने त्यो भन्नुको तात्पर्य आफ्नो लेखनीको क्लिष्तताबोध वा सर्वसाधारणका लागि आशय प्रस्ट होस् भन्ने अभिप्रायले नै भूमिकामा सबै कुरा खोली दिएका छन् । तर पनि कविले उर्वशीमा आफ्नो पृष्ठभूमि अर्थात् बान्की परम्पराको मोह त्यागेका छैनन् । माटो र जन्मभूमिको अर्चना प्रकृतिको प्रवृत्तिको प्रवृत्ति तानावाना बुन्न विषयगत कारणले मध्य वा अन्त्यमा विषय विच्छेद हुन पुगिने आशयबाट हुन सक्छ उही बाल्यकालका छविको आश्वादन आरम्भ नै यसरी गर्न पुगेका छन् ।