अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४७ | Colorodo: 13:02

विदाई

गोपी मैनाली २०७८ जेठ २८ गते ८:५१ मा प्रकाशित

(निबन्ध)
मेरो बुझाइमा विदाई नयाँ थालनी हो, एउटा यात्रा वा वृत्तिबाट अर्कोतर्फको प्रस्थान विन्दु हो । विदाई यात्राको अन्त्य होइन, हुनु पनि हुँदैन । यसलाई स्तब्धतामा सोचिनु हुँदैन । विदाईले स्तब्धता दिने हो भने विदाई नआएकै वेश ।

विदाई आकस्मिकता होइन, नियमित प्रक्रिया हो । विदाई नहुँदो हो त आरम्भ नै हुने थिएन । समयले पल पल व्यक्ति÷घटनाका रूपमा हामीलाई विदाई गर्छ । समय आफै विदाईको क्रम हो । पछिल्लो पलले अगिल्लोलाई धकेलेर विदाई गर्छ । त्यो अघिल्लो अर्को पलमा फेरि पछिल्लो बन्छ र यो क्रम निरन्तर छ । पलहरूको समूह घडी, घण्टा, दिन, महिना, वर्ष, जुग सबै ठुलो–सानो विदाईमा रहन्छन् । यी सबै समयमा आयतन हुन्, हामीले बुझ्नलाई नाम दिएको हो, जो नियमित यात्रा वा विदाईका सिलसिला हुन् । त्यसैले विदाई नियमितता हो, विदाई नियात्रा हो, विदाई नियति पनि हो । समय छ त विदाई छ, समयलाई कसले समाउन÷छेक्न सकेको छ र विदाई नहुनु ?

विदाई ठुला वा साना हुन्छन् । लामो यात्राको विदाई पनि ठुलै हुन्छ, छोटो नियात्राको सानो । यसरी लिइनु पनि हुन्न, विदाई ठुलो वा सानो हुन्न । बरु विदाईको क्षेत्र र प्रभाव चाहिँ सानो वा ठुलो होला । अर्थ र अनुभूतिका आयतनहरू लामा वा छोटा होलान् । लामो नियात्राका धेरै अनुभूति, त्यसका आवेग र साम्वेगिक सम्बन्धका कारण विदाईले व्यक्तिलाई भावावेगमा पु¥याउने गर्दछ । विदाईका क्षणहरू भावुक हुन्छन् र विदाई पछिको यात्रालाई पनि भावातिरेकमा पु¥याइ दिन्छन् । विदाईले व्यक्तिलाई टक्क रोक्दैन, फेरि अर्को यात्रातर्फ धकेलिहाल्छ र ती भावुक क्षणहरू बिस्तारै धुमिल हुने विस्मृतितर्फ लाग्छन् । यो यात्राको भनौं वा विदाईको विशिष्ट प्रवृत्ति हो । मैले लिएका दर्जनौँ औपचारिक विदाईको निचोड हो यो ।

जीवनका दैनिकीजस्तै घटनाहरू मनभरि बह जमाउने विदाई हुन्छन् । सम्झनाको खात पल्टाउँदै गएँ । सम्झ नसक्ने जति सम्झे, सायद डेढ–दुई वर्षको थिएँ होला । विवाहपछि दिदीलाई विदाई गर्दा डाकै छाडेर रोएँ । जन्ती फूलपाती भन्ज्याङ पुगिन्जेल पर्खाल चढेर हेरेर रोएँ । जापानमा कान्छो भाइसँग आकिबहारामा यात्रा बाँडिदा मनमनै रोएँ । उसलाई थाह नदिएर रोएँ । भाइ देव अमेरिका जाँदा विमानस्थलको विदाइमा गगल्चिएर रोएँ । शुभम र सुव्रतलाई शिक्षाका लागि अमेरिका पठाउँदा देखिने गरी रोएँ । शशिकाका र युवदाजुले कमजोर नवन्न सम्झाउनु भो । कान्पुरबाट बसाइँ सर्दा आशु पोख्न नसक्ने गरी रोएँ, कानपुरदेखि बनेपासम्म रोएँ । प्रमोसन भएर अफिस सर्दा विदाई गर्नेसँग रोएँ । यस्ता धेरै बिदाइहरू मनले स्वीकृति दिएका विदाई थिए । तैपनि विदाई भावुक हुन्छ । विदाईमा मन गाँठो पर्छ र देखिएर वा नदेखिएर मन रुन्छ । मन छ कि छैन, तैपनि मन रुन्छ । मन नभएको पाषाण पनि मानिस हुन्छ र ?

विदाई यस कारण पनि दुखी हुन्छ कि विदाईले सहयात्रीसँग अलग्गाउने गर्छ । लामो वृत्तिबाट हुने विदाईमा धेरै सहयात्रीहरूसँग छुट्टिनु पर्ने विवशता हुन्छ । सहयात्रा छुट्नुको अनुभूति निकै दुखद हुन्छ । यात्रामा साथ दिने सहयात्री छुटेर अर्को यात्रा र सहयात्री तय गर्नुले विदाईलाई भावुक बनाउँछ । तर विदाई विशिष्ट नै रहन्छ ।

यात्राका सहभागीहरू सबै सहयात्री हुँदैनन्, हार्दिकता साट्दैनन् । यात्रामा अवरोध पु¥याउने, वाधा हाल्ने, यात्राका अवसर आफै लिने र जोखिमहरू अरूतिर पन्छ्याउने प्रवृत्तिका सहभागी धेरै हुन्छन् । उनीहरूका अवरोध र त्यसका प्रभावले पनि यात्रीलाई छुट्टै संवेग र शक्ति दिन्छ । सहयात्रामा लखेट्ने, तगारो तेर्स्याएर अवसर लिनेहरूबाट पनि यात्री शिक्षा र सन्देश लिन्छ, शक्ति र साहस बटुल्छ । कति साथीले त यात्रामा जानाजान बेवास्ता पनि गरे । जोसँग जे, जति र जस्तो छ त्यही अरूलाई दिने हो वा नदिन लुकाउने हो । दुवै सन्दर्भ यात्रीका लागि सन्देश र शिक्षा हुन्, अवसर र अनुभूति हुन् । त्यसैले यात्राभरि अवरोध र ईर्ष्या गर्ने पनि सहयात्री नै हुन् । उनीहरूप्रति विदाईमा र पछि पनि अनुदार हुनु हुँदैन । ईर्ष्यालु र अवारेधीलाई विश्वास गर्नु पनि आफैप्रतिको विश्वास हो, आफ्नै कर्मप्रतिको विश्वासिलो बन्नु हो । विश्वासको ऊर्जामा सिर्जनाको शक्ति हुन्छ भन्ने ठाने र कर्मले विश्वास बढाउन लागे । लाग्यो, विश्वासकै जगमा विश्व निर्माण हुने हो । म विश्वासमा सधैँ उदार हुनुपर्छ र मायाको मनले सबैलाई आफैतिर खिच्नु पर्छ ।

वृत्ति यात्रामा सुखद–दुखद अनुभव हुने नै भए । यात्रामा धेरै लखेटिएँ, खेदिएँ, धकेलिएँ पनि तर अरूलाई लखेट्नु, धकेल्नु र खेद्नु हुन्न भन्ने चेतले सबैलाई सहयात्री सम्झेँ । बदला सोचको साटो सिर्जना र कर्ममा यात्राका कठिनतम मार्गहरूमा हिँड्ने प्रयास गरेँ । र, सोचेँ समर्पणमा सतत रहन सके यात्रामा स्वतः शुभ शक्ति पाइन्छ, ईर्ष्या र आरिसहरू शुभकामना र आशीर्वादमा बदलिन्छन् । अवरोध गर्नेहरुमा सत्सोच हुँदो हो त शुभ शक्ति उनीहरुतिरै फर्कने थिए । यात्रा कति रमाइलो हुने थियो । आखिर सहयात्रा त सङ्घर्ष र साहसको पनि सहकार्य हो नि । हामीहरूमध्ये धेरैले यो यात्रा सत्य कहिले बुझ्ने हौंला ?

विदाईलाई एक पटक सङ्गीतको झङ्कारसँग तुलना गरेँ । सङ्गीतको स्थायी सकिएपछि अन्तरा आउँछ । भनौं, स्थायी बिदा भएपछि अन्तरा आउने हो । स्थायीले नै अन्तराको सङ्केत गरिसकेको हुन्छ । अन्तराचाँही स्थायीको पृष्ठभूमिमा हुन्छ । स्थायी नभए अन्तरा हुँदैन । यात्रा नभए विदाई नै हुँदैन, विदाई नभए अन्तरारूपी अर्को यात्रा आरम्भ नै हुँदैन । अन्तरा पनि सकिएपछि गायन सकिन्छ तर सकाइपछि पनि सङ्गीतका मधुर स्वहरू परिवेशको स्पर्शमा रुमलिएर बस्छन्, रगमगिएर बस्छन् र लामो अन्तरालपछि विस्मृतिमा जान्छन् । तर व्यक्त÷अव्यक्त प्रभावहरू स्रोत मनसम्म गहिरिएर रहन्छन् । विदाई यस्तै प्रभाव हो, स्मृति हो, विस्मृतितर्फ दौडिने स्मृति र कुनै दिन सकिने जीवन हो ।

कर्मको लामो यात्रामा संस्था र व्यक्ति नछुटिने गरी मितेरी लगाउँछन् । अन्ततः व्यक्ति नै संस्था बन्छ । व्यक्तिको क्षमता, काम, उपलब्धि, अनुभव र अनुभूतिहरू संस्थामा समाहित हुन्छन् । त्यस अवस्थामा विदाई निकै कष्टकर हुन्छ । संस्थाका लागि पनि, व्यक्तिका लागि पनि । व्यक्तिका लागि पनि वृत्तिका लागि पनि । व्यक्तिले संस्थाप्रति न्याय गरेको छ र व्यक्तिले वृत्तिलाई न्याय गरेको छ भने विदाई झनै विदारक बन्छ । संस्था र वृत्ति बोल्न नसक्लान्, विदाईमा यिनीहरू झनै भावुक हुन्छन् । वृत्तिको काम व्यक्तिको समर्पणले लिने हो, व्यक्तिलाई वृत्तिले पहिचान दिने हो । त्यसैले व्यक्तिले वृत्ति र वृत्तिले व्यक्तिलाई विदाई गर्दाको क्षण पीडामय हुन्छ, त्यतिखेर पुरै परिवेश अश्रुत हुन्छ, चराचर, वनस्पति, जीव निर्जीव आफ्नै भाषामा भक्कानिएका हुन्छन्, आकाश पनि उराठिलो हुन्छ, हावाका मधुर झोक्काहरू टक्क अडिन्छन् र सबै हुन्छन् । भाषामा देखिने रुवाइ त यसको सानो आयतन मात्र हो, भावको रुवाइ निकै चोटिलो हुन्छ ।

भनिएला, वृत्तिबाट व्यक्ति विदाई (निवृत्त) हुँदैन । प्राध्यापक खगेन्द्र लुइटेल भन्नुहुन्यो–प्राध्यापक पूर्व हुँदैन, प्राध्यापक बनेपछि सधैँ प्राध्यापक हो । डा. राम उप्रेतीले भन्नु भयो–डाक्टर निवृत्त हुँदैन । सही हो, संस्थासँगको औपचारिक सम्बन्ध र अन्तरक्रियाको मञ्च मात्र विदाईले फेरिदिएको हो । सेवाका तरिका फेरिने मात्र हुन् । वास्तवमा व्यक्ति र वृत्ति आजन्म सँगै रहन्छन् । उहाँहरूको भनाइ वास्तविक त हुँदै हो, त्योभन्दा बढी वृत्तिप्रतिको न्याय र ममत्व पनि हो । संस्थाले पनि यसरी नै माया र ममत्व दिएमा भने विदाई मृत्युभन्दा पीडादायी हुन्छ । मृत्युको पीडा मृत्यु हुनेले अनुभव गर्न नसके पनि विदाई अनुभूतिमा हुन्छ । त्यसैले होला कतिपयले भन्ने गरेका छन्, विदाइ एक मृत्यु हो । लामो वृत्ति अवलम्बन गर्नेहरू त्यसैले पटक पटक मर्ने गर्छन् । कतिपय अनुभूतिहरू निकै भाव विरही हुन्छन् र जीवनपर्यन्त प्रभाव छाडिरहन्छन् ।

छोटा छोटा वृत्ति यात्रामा पात्र र परिवेशसँगको साम्वेगिक सम्बन्ध गाढा नबन्न सक्छ, विदाई त्यति भावुक हुँदैन । कोही साथीहरू लगातार वृत्ति, कार्यस्थल र पेसा परिवर्तन गरिन्छन् । उनीहरू पनि विदाईलाई दैनिकीको सामान्यतामा लिँदा हुन् । तर यतिचाहिँ भन्न सक्छु, उनीहरू वृत्ति र यात्रा दुवैलाई न्याय गर्न सकिरहेका छैनन् । आफैलाई कर्ममा वाध्न सकिरहेका छैनन् । त्यसैले उनीहरू ओहोदा नहुँदासाथ निवृत्त पनि हुन्छन् ।

कर्म वृत्तिमा धेरै साथी सँगातीलाई विदाइ गरेँ । तीन दशक जागिरमा बिताएका शेखर खनाल दाइ विदाईमा गगल्चिदै भन्न पुगे–‘हे कान्छा ठट्टैमा यो जीवन जान लाग्यो…..।’ यो गीत थिएन, मनको स्पन्दन थियो । वृत्तिमा जीवन बिताउनेहरू जीवन र जवानीलाई यसरी नै विदाइ गरेर आफै विदाइ लिन्छन् । त्यस घटनापछि साथीहरूको विदाईलाई रसिलो बनाउन प्रयास गर्दै रहेँ । तर ती देखावटी थिए, विदाई विदाई नै हो र त्यो विदारक नै हुन्छ । ओठ र अङ्गले रमाइलो गर्न खोजे पनि मनले सहमति कहाँ दिन्छ ?

नियात्राहरू सरल र सिलसिलामा हुँदैनन्, यात्राहरू अनुभव, अनुभूति र तिनले गर्ने परिस्कारमा सँगलिदै, लय मिलाउँदै जाने गर्छन् । संस्थासँगको लामो सहवासमा यात्राले आफ्नै सिलसिला मिलाएको हुन्छ । संस्था र व्यक्ति एक अर्कासँगको लयबद्धताले व्यक्ति संस्थामा नै समाहित हुन्छ । त्यस अवस्थामा विदाई एउटा लय टुट्नु हो, सितारको तार चुँडिनु हो । चुसिडकेपछि एक छिन त सितारले झङ्कार दिइरहन्छ, त्यसपछि परिवेशको विह्वलता मात्र शेष रहने हो । छोरी अन्माएको जग्गेजस्तै । तर परिवेश पीडाप्रद भए पनि यो नयाँ सुरुवात र नयाँ लयको सन्धान हो । नयाँ लय कायम गर्न समय लागे पनि त्यो अझै सुरिलो र मीठो हुनसक्छ । यही अपेक्षा प्रत्येक विदाईले गर्नुपर्छ ।

यात्रामा व्यक्ति अनाहक यातनाको सिकार बन्न सक्छ । नेतृत्व पीडक भएपछि, सहयात्रीहरू अनुचर भएपछि कर्मशीलहरू लखेटिन्छन्, अनुचरहरू पोसिन्छन् । लखेटिएर अर्को कार्यस्थलमा पुगेकाहरू त्यहाँ पनि रमाउँछन् । कर्मले संस्थालाई आफ्नै बनाउँछन् र समर्पणले मुटुमा राख्छन् । समर्पण र सिर्जनालाई समयले बाँध्न सक्दैन । सङ्घर्ष र पसिनामा रमाउन बानी परेकाहरू कठोर कामलाई पनि हत्ते गर्छन् । मस्तिष्कबाट मात्र होइन, मन देखिनै समर्पित हुन्छन् र वृत्ति र संस्थाको पहिचान उँचो राख्छन् । त्यसैले कर्मका पुजारी (कर्मचारी) हरू विदाईलाई हृदयको तार टुटेसरी अकमक्क शून्य उभिन्छन्, वाइ भन्छन् ।

वृत्तिभित्र रहँदा गर्नै पर्ने जुन गर्न सकिएनन्, तिनले मलाई जीवनभरि कोक्याइ रहने छ । आफ्नै प्रयास र अग्रसरतामा राष्ट्र सेवाका असल थालनी गरिएका कामहरू पूरा भएनन्, सङ्घर्षका जर्जर बाटोभरि रक्ताम्मे पाइला चाल्दा पनि कतिपय कामले पूर्णता पाएनन्, केही पूरा भए पनि संस्थागत भई प्रणालीमा लय गाँस्न सकिरहेका छैनन् । तिनले पनि विजाउने छन् । असल सुरुवात मात्र प्रणाली निर्माणको काम होइन, ती संस्थाका अङ्ग अवयवमा लयबद्ध नभै, अझ तिनले उपलब्धि नदिई विश्वास आर्जन गर्न सक्दैनन् । यसो नभै असलमा ती संस्थाको सम्पत्ति बन्न सक्दैनन् । विदाईमा तिनप्रति जानाजान बेवास्ता कसरी गरूँ ?

जे होस् विदाई अवश्यम्भावी थियो र थाहै नपाइ आइपुग्यो । दशकौं पछिको विदाईबाट झल्यास्स हुँदा बालसखाहरु बिरानो भइसकेछन्, सानोमा सङ्घर्ष सिकाउने रोशी रोएर सुकिसकेछ । मलाई काखभरि खेलाउने मेरै जन्मभूमिका पाखापखेरा बिरानो भएछन् । बनका बडेबडे वृक्षहरू सुकेर नयाँ पुस्ताका बुङ्चे पोथ्रा बनेछन् । मसँग पानी घट्ट, कपर्दी र डण्डिवियो खेल्ने साथीहरू धेरै त जीवनबाटै बिदा भइसकेछन्, जो बाँकी छन् उनीहरू पनि कुन्नि किन हो, हार्दिक देखिँदैनन् । खेतका गरा बालुवा र गिटी खानी बनेर बन पाखालाई धुलाम्मे पार्दै रहेछन् । बारीका पाटा कुन्नि कसले पो हो टुक्रा टुक्रामा प्लटिङ गरेछ । अम्बा, आँप, कटहर र तित्रीका रुखहरू कहिल्यै हो पहिल्यै काटिएछन् । हामी जाने पानीघट्ट रक्सीको भट्टी पो बनेछ । गाउँले आमाबुबा, काका काकीले धर्ती छाडेको पनि जुग भएछ । परिवेश सबै नौलो, बिरानो र विरक्त । पहिले त्यसले मलाई बिदा गर्न मानेको थिएन, अहिले स्वागत गर्न मानेको छैन । तैपनि जवर्दस्त नयाँ थालनीमा नयाँ मिठास र माधुर्यले अर्को यात्रा गर्नु नै छ । अर्को विदाई पर्खनु नै छ ।

मैनाली निवास
शङ्खमूल, काठमाडौँ ।