अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४२ | Colorodo: 20:57

टाउको दुःखेको ओेेेखती !

रामचन्द्र दाहाल २०७८ जेठ २६ गते ७:०७ मा प्रकाशित

Ramchandra Dahalटाउको सधैँ भारी छ ।
मुटुको ढुकढुकी बढेको छ ।
सोधे कसैले
सन्चै छु निर्विवाद भन्नु छ ।

न सन्चो न बिरामी
खैराँतमा खरिएर वर्तमान
सिकिस्तै हुने अभ्यास छ ।

आँखा चिम्लेर दिउँसै,
अभ्यास हिँडिरहनु छ ।
आयु थपेर कालारातहरू !
उन्नत अनन्त हेर्नू ब्यहाेर्नु छ ।

कालैरातमा छापिन्छन्
काला कार्टुनहरू !
बाङ्गिन्छन् अर्थ र
बाँधिन्छन् पत्रकारहरू !

कविहरू कालारातमा,
कालाअक्षर जन्माई रहन्छन् ।
कविताले कविको जीवनी
सुनाई रहन्छ ।
कालो रातले अन्धकार
भविष्य देखाई रहन्छ ।

चरो चिर्बिराउँछ, भाले बास्छ,
अन्धकारले मिर्मिरे ढाकी रहन्छ ।
आकाश भारी हुन्छ,
गर्जन गरेर घटा मडारी रहन्छन् ।
सम्भावनामा बज्रपात देखिन्छ ।

टाउको दुःखी रहन्छ
मुटु चस्की रहन्छ ।
आजका रगतमा रक्तचाप देखिन्छ ।
रक्तचापहरू रक्तपात खोजिरहन्छन् ।
रक्तचापले आत्मघात गर्न सक्छ ।
रक्तचापले राष्ट्रघात गर्न सक्छ ।
अस्तित्व नामेट गरेर रक्तपातले,
टाउका रङ्गाउन सक्छ ।

अनि टाउकेहरू !
आफ्नै टाउको खोज्नेछन्
अथवा
टाउकेका टाउका टाउका जुधेर-
सबैका टाउका दुखाउनेछन् ।
पीडा भएर बल्ल विद्वान पनि
टाउको दुखेकाे ओखती खोज्नेछन् ।
बेलैमा टाउको नदुख्नेहरूले
कुबेलामा खोज्दै हिँडेर-
टाउको दुःखेको ओखती कहाँ पाइन्छ ?

प्रतिक्रिया