अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२९ | Colorodo: 21:44

न्याय फुल्छ कि भनेर . . .

रामचन्द्र दाहाल २०७७ मंसिर १० गते १५:२० मा प्रकाशित

Ramchandra Dahalहाे, त्यसैकाे अघिल्लाे रात हाे !
हुचीलहरू ! मन्दिरमा पसेर,
अनिष्ट कराएकाे रात !
गिद्दहरूले गजुरमा बसेर,
भाषण बिष्ट्याएका बेला,
बाँझले मानिसलाई झम्टेकाे रात !

बलात्कृत कुमारीकाे चित्कासँगै-
बनकरहरूले सिंहाशन खाेजेका बेला,
ब्वाँसाहरू गाउँ बस्तीमा पसेर,
मुटु कलेजाे लुछेकाे रात !

मान्छे मारेर पाखा बगरहरूमा,
गाउँ बस्तीमा हाहाकार भएका बेला
नव बधुकाे सिउँदाे धाेएर-
खाेल्सा खहरे रङ्गिन भएकाे रात !

उस्का बाबुकाे घाँटी रेटेकै बेलामा,
सर्जरी जन्मभएकाे एउटा अनाथले,
दुष्टनास गर्न पालाे पर्खि बसेकाे
अनिष्ट प्रतिशाेध घुम्दै गरेकाे रात !

हाे ! तिनैहुन्,
जम्मा भएका सबै अनाथहरू हुन् !
चुडिएका वेदना बाेकिरहेछन्,
प्रतिशाेधमा आकाश हेरिरहेछन् ।
अनिष्ट नासकाे नक्षेत्र खाेजिरहेछन् ।

मृत्यु अँगालेकाे जीवन छँदैमा,
बलिचढेका बाबुकाे रगत ब्युँतेर-
सम्भाबित क्रान्तिकाे उद्घाेषमा,
दुष्ट दुराचारकाे अन्त्ये अन्त्यष्टि,
पर्खिरहेछन् ।

प्वालपरेका जीवन दैनिकी बाेकेर पनि,
फुटेका चुरा र धाेएका सिंदुरकाे
परिमाण खाेज्दै हिंडेका बेला,
जीवित गाडिएका चिहानकै
अवशेषमा बसेर,
राक्षसी चरित्रकाे अन्त्यगर्ने,
कुनै नरसिंहकाे औतार पर्खीरहेछन् ।

शिशिरका गर्भबाट,
वसन्त जन्मेकाे दिन पारेर-
अनाथका अदालतहरूमा
फूलका काेपिला फक्रेर कतै,
न्याय फुल्छकि सबै हेरिरहेछन् ।

 

प्रतिक्रिया