अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२६ | Colorodo: 05:41

एनआरएनएको विश्वव्यापी ‘टेलि–हेल्थ’ सेवा सुरुआत

बिआरटीनेपाल २०७७ फागुन ४ गते ९:२२ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति (Health Committee) तथा वैदेशिक रोजगार तथा कल्याण विभाग (Department of Foreign Employment and Welfare of NRNA) को संयुक्त प्रयासमा विश्वव्यापी विस्तृत टेलि–हेल्थ सेवा शुक्रवार १२ फेब्रुअरी २०२१ देखि शुभारम्भ गरिएको छ । यस टेलि–हेल्थ सेवा बाट विश्वका कुनै पनि ठाउँ मा बसोबास गर्ने नेपाली मूलका कुनै पनि व्यक्तिले लाभ लिन सक्ने छन्। उनीहरूले अनलाइनमार्फत चाहेको समयमा स्वास्थ्य विज्ञहरूसँग स्वास्थ्य परामर्श लिन सक्छन् । यो टेलि–हेल्थ कार्यक्रममा सबै क्षेत्र र विधाका स्वास्थ्य विशेषज्ञ र चिकित्सकहरू हुनुहुन्छ ।

मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धी स्वास्थ्य विज्ञदेखि डाईटिशियन, र फिजियोथेरापिस्ट, दन्त चिकित्सक लगायतका अन्य थुप्रै स्वास्थ्य विज्ञहरूले तपाईँको जिज्ञासा वा समस्याको सम्बोधन गर्नुहुनेछ र उचित परामर्श प्रदान गर्नुहुनेछ । यति मात्रै होइन, मनोचिकित्सक, मनो–परामर्शदाता, स्नायु रोग विशेषज्ञ, मिर्गौला रोग विशेषज्ञ, र छारे रोग (एपिलेप्सी)का विशेषज्ञहरू पनि यस टेलि–हेल्थ कार्यक्रममा समेटिनुभएको हुनुहुन्छ । साथै, बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ र ज्येष्ठ नागरिक रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मधुमेह विज्ञ, स्तन क्यान्सर विज्ञ, क्यान्सर रोकथाम र उपचार विज्ञहरू र सार्वजनिक स्वास्थ्य विशेषज्ञहरू यस कार्यक्रममा सहभागी छन् ।

यो टेलिहेल्थ कार्यक्रम बाट कसरी सेवा लिने ?
तपाईँले आफ्नो मोबाइलमा रहेको भाइबर, वाट्एपमार्फत टेलिहेल्थ कार्यक्रममा सहभागी हुन वा यसमार्फत स्वास्थ्य विज्ञहरू सँग प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुन्छ । त्यसका लागि नेपाल बाहिर भए ९७४–५५५–६५३२० वा ९७७ ९८०–२३१ –४७३९ र नेपाल भित्र भए मोबाइल नम्बर ९८०–२३१ –४७३९ मार्फत सम्पर्क गर्न सकिनेछ । साथै, तपाईँले इमेल telehealth@nrna.org मा आफ्ना स्वास्थ्य जिज्ञासा लेखेर पठाउन सक्नुहुनेछ ।

टेलिहेल्थ कार्यक्रमबाट सेवा प्राप्त गर्न शुल्क लाग्छ ?
यस कार्यक्रममार्फत सेवा लिए बापत कुनै पनि शुल्क लाग्दैन । यो नितान्त निशूल्क कार्यक्रम हो, जुन गैर आवासीय नेपाली सङ्घमार्फत विश्वव्यापी रूपमा नेपाली समुदायलाई प्रदान गर्नका लागि सुरु गरिएको हो ।

के यो कार्यक्रमले विशेषज्ञ र परामर्शदाताहरूलाई सेवा शुल्क प्रदान गर्दछ?
यस कार्यक्रममा सहभागी सबै स्वास्थ्य विज्ञ, चिकित्सकहरूलाई सेवा दिए बापत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।

टेलिहेल्थ कार्यक्रममार्फत कस्ता खाले स्वास्थ्य समस्याबारे जानकारी लिन सकिन्छ ?
विश्वका जुनसुकै कुनामा भए पनि सरल र सहज रूपमा भर्चुअल माध्यमबाट तपाईँले फोन (Viver, WhattsApp) वा इमेल गरेर आफ्ना स्वास्थ्य समस्याहरूबारे जिज्ञासा राख्न सक्नुहुनेछ । युरोप होस् वा अमेरिका, अफ्रिका होस् वा मध्यपूर्वका जुनसुकै राष्ट्रबाट पनि यस कार्यक्रममा जोडिन सकिनेछ ।

उदाहरणहरु: जस्तै बहराइनमा कार्यरत नेपालीलाई शरीर भरी चिलाउन थालेमा वा मलेसियामा कार्यरत महिला जो एक सातादेखि टाउको दुखेर हैरान छिन् वा रसियामा कार्यरत कुनै नेपालीलाई घुँडाको दुखाई छ, वा दक्षिण कोरियामा एक नेपालीलाई मानसिक विचलनको समस्या देखा परेको छ भने, उनीहरूले फोन वा इमेलमार्फत टेलिहेल्थ कार्यक्रममार्फत स्वास्थ्य परामर्श लिन सक्नेछन् । उनीहरूले मोबाइल , फोन एसएमएस गरेर वा इमेलमार्फत आफ्ना समस्या राख्न सक्छन् । फोन वा इमेल प्राप्त भएपछि सेवामा खटिएका डाक्टर वा नर्सले कुरा गर्नेछन् । उनीहरूको समग्र समस्या सुनेर स्वास्थ्य अवस्था मूल्याङ्कन गर्नेछन् र सम्बन्धित विशेषज्ञलाई जोडेर स्वास्थ्य समस्या सम्बोधनका लागि सल्लाह वा परामर्श दिनेछन् ।

यो टेलिहेल्थ कार्यक्रमले के गर्दैन?
यसले आपत्कालीन स्वास्थ्य सेवाहरू प्रदान गर्दैन ।

टेलिहेल्थ कार्यक्रमले सम्बन्धित स्वास्थ्य समस्याका बारेमा परामर्श दिन सक्छ तर तपाईँलाई आवश्यक औषधी उपलब्ध गराउन सक्दैन । सम्बन्धित मुलुकको नीति, नियम र कानुन मातहत रहेर काम गर्नुपर्ने भएकाले यो कार्यक्रमले ती कानुनको बर्खिलाप हुने कुनै पनि काम गर्दैन । यदि तपाईँलाई गम्भीर र आपतकालिन समस्या परे तपाईँले तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्नेछ ।

यस कार्यक्रमले कसरी बिरामीको जानकारी गोप्य राख्न निश्चित गर्दछ?
यस कार्यक्रमको माध्यमबाट टेलि–हेल्थ खोज्ने प्रत्येक व्यक्तिको गोप्यता उनीहरूलाई टेलिहेल्थ प्रदान गर्ने जत्तिकै महत्त्वपूर्ण छ । हामीसँग भएको प्रणाली र संयन्त्रबाट सबै परामर्शहरू गोप्य राख्न सुनिश्चित गर्छ । डाक्टर र विशेषज्ञ बाहेक व्यक्ति को स्वास्थ्य सम्बन्धी जानकारी कसैलाई थाहा हुँदैन । एनआरएनएको स्वास्थ्य समिति यो सुनिश्चित गर्न चाहन्छ कि स्वास्थ्य जानकारी सुरक्षित र गोप्य रूपमा राखिनेछ ।

डाँफे केयर के हो र यस टेलि–हेल्थ कार्यक्रममा यसको भूमिका के हो?
डाँफे केयरले धेरै जसो नेपालमा, तर विदेशमा पनि, धेरै वर्षदेखि टेलि परामर्शहरू प्रदान गर्दै आएको छ । स्वास्थ्य समितिले नेपालीलाई विश्वव्यापी रूपमा टेलिफोन परामर्श प्रदान गर्न डाँफे केयरसँग मिलेर काम गर्नेछ ।

मलेसिया, टर्की, नाइजेरिया, कुवेतमा रहेका स्वास्थ्य विशेषज्ञहरूले टेलिहेल्थ मार्फत परामर्श दिनेछन्।

टेलि–हेल्थ सेवा सम्पर्क:
नेपाल बाहिर
+९७४–५५५–६५३२०
+९७७-९८०–२३१ –४७३९
इमेल: telehealth@nrna.org

नेपाल भित्र:
९८०–२३१ –४७३९
इमेल: telehealth@nrna.org

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू