अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५९ | Colorodo: 02:14

राजनीति

गोपी मैनाली २०७७ माघ ९ गते ८:२९ मा प्रकाशित

(निबन्ध)

राजनीतिको भूमिकाका विषयमा चर्चा र बहस जसरी भइरहेको छ, राजनीति के हो भन्ने विषयमा भने त्यति चर्चा हुने गर्दैन । सबै नै राजनीतिका विषयमा ज्ञाता भएर यसो नभएको हुनसक्छ वा राजनीतिका विषयमा बुझ्दै नबुझेर पनि यसो भएको हुनसक्छ ।

राजनीतिका विषयमा भगवान् श्रीकृष्णले धेरै बताउन सक्थे, महाभारतका विदुरले बताउन सक्थे, किसुनजी भएको भए पनि धेरै बताउन सक्थे । विचारक प्रदीप गिरी वताउन सक्लान् । जे एफ केनेडीले बताउन सक्थे, मोहनदास गान्धीले बताउन सक्थे । राजनीति बताउन समाज, युग र राज्यकौशल बुझ्नु पर्छ । भनिन्छ, राजनीति गर्नेले त्यति बुझ्दैनन्, बुझ्नेले गर्न सक्दैनन् । प्राचीनकालमा ऋषि, ब्राह्मणहरू बुझ्थे, बुझाउँथे । क्षेत्रीय राजाहरू राजनीतिमार्फत राज गर्थे ।

आजभोलि राजनीतिमा वादको चर्चा उछालिएको छ । माक्र्सवाद, समाजवाद, साम्यवाद, माओवाद, उदारवाद, अनुदारवाद र अरू धेरैवादको संकुचनमा राजनीति टाक्सिएको छ । यतिधेरै वादको कारण जनता भ्रममा छन् । के राजनीति आफैमा उदारवाद मात्र होइन ? के अनुदार पनि राजनीति हुन सक्छ ? व्याख्या र बहस वादमा होइन, यसले विवाद मात्र गरेको छ । जसले जे जसरी भने पनि राजनीतिको केन्द्रमा जनता हुन्छ र त्यो जनहितको प्रक्रियामा उदार हुन्छ । बस यत्ति १

राजनीति सबै नीतिको मूलनीति हो भनिँदै आएको छ । नीतिमा सामाजिक अपेक्षा, आकाङ्क्षा र अनुभूति रहनु पर्छ पनि भनिँदै आएको छ । उसो भए सामाजिक आकाङ्क्षा प्राप्तिका लागि, भनौँ जनहितका लागि शक्ति, स्रोत र संस्था परिचालन गर्ने विधि राजनीति हुन आउँछ । जनहित बढाउन शक्ति, साधन र स्रोतको विवेकशील अभ्यास जरुरी हुन्छ, राजनीति त्यसको मियो हो ।

राजनीतिभित्र के पर्छ ? भन्ने प्रश्न अहम् हुने गर्दछ । तर प्रतिप्रश्नात्मक उत्तर दिने गरिन्छ, ‘राजनीतिभित्र के पर्दैन’ ? मानव जीवनलाई सुव्यवस्थित, सुसांस्कृत र खुसी बनाउने सबै विधा राजनीतिका अभिन्न भाग हुन् । दर्शन, कला, साहित्य, विज्ञान, अर्थशास्त्र, समाजशास्त्र, व्यवस्थापन, कषि, उद्योग लगायत सबै विधा राजनीतिको कार्यक्षेत्र हो, राजनीतिका क्रियात्मक भाग हुन् । राजनीतिले नसमेटेसम्म अन्य विधा, विधि र नीतिहरू राज्य इच्छामा समेटिँदैनन्, तिनीहरूमा प्राण भरिँदैन र तिनीहरूले जीवन पाउँदैनन् । अर्को शब्दमा, सबै विधा र विधिलाई क्रियाशीलता र मार्गदर्शन दिन राजनीति जन्मिएको हो ।

राजनीति व्यवस्थित समाजको बृहद आधार हो, सबैलाई समेट्ने विधा र प्रक्रिया हो । कुनै व्यक्ति व्यवस्थित समाजको सदस्य भइसकेपछि कुनै व्यक्ति चाहेर पनि राजनीतिक प्रक्रियाबाट बाहिर रहन सक्दैन । यही सर्वव्यापकता र अपरित्याज्यताका कारण चाहेर–नचाहेर सर्वसाधारण राजनीतिमा लागिरहेका हुन्छन् । राजनीतिमा लाग्नु भनेको शासनमा संलग्न हुनु वा दलीयताभित्र रहनु होइन, यो सङ्कीर्णता मात्र हो । राजनीतिले शासित हुन सिकाउने होइन, यो स्वशासित हुने नागरिक प्रक्रिया हो । अधिकार र कत्र्तव्यको क्रियाशीलता हो । नागरिक चेतना र प्रणाली निर्माणको सहभागिता हो । संस्था र संरचनाहरू त नागरिक अपेक्षा पूरा गर्न व्यवस्था गरिएका वारेस मात्र हुन् ।

राजनीतिलाई हेर्ने, बुझ्ने, बुझाउने र अपनाउने प्रवृत्तिमा परिवर्तन आएको छ । पूर्वीय दर्शन असल संस्कार र असल सम्बन्धका लागि राजनीतिलाई अपनाउने आग्रह गर्दछ । गीता, पुराण, स्मृति र नीतिहरू असल समाज, असल नागरिक र असल शासनका लागि राजनीतिको उल्लेख गर्दछन् । शास्त्र (नीति), धर्म (आचरण) र कर्म (निष्ठा) लाई राज्य सञ्चालनको आधार मान्दछन् । श्रीकृष्णले नीति, निष्ठा र आचरणका सूत्रहरू गीतामार्फत ध्वनित गरे ।

पश्चिमी दार्शनिक आरस्तु मानिसलाई राजनैतिक प्राणीका रूपमा लिन्छन् । राजनैतिक प्राणीले नैतिक आचरण र योग्यता (नागरिक सीप) अपनाउनु पर्ने आग्रह उनको छ । मेकियावेली राजनीतिलाई शक्तिको खेल सम्झन्छन् । राजनीतिकर्मीहरू जे गर्छन्, बोल्छन् वा गर्दैनन्, शक्तिका लागि त्यसो गर्छन् । हव्स, मील, रुसोहरु बैयक्तिक स्वतन्त्रता रक्षाका खातिर राजनीतिलाई महत्त्व दिन्छन् ।

पश्चिमीहरू राजनीतिलाई प्रक्रिया र योग्यताका मानकमा हेर्छन् । पूर्वीयहरू आदर्श, इमानदारी र निष्ठामार्फत राजनीतिको महत्ववोध गर्दछन् । तर अभिष्ठ र साध्य भने दुवैको एकै हो, जनहित । आजभोलि जनहितको विस्तारित परिभाषा कोरिएको छ– न्याय, समानता, मौलिकता, स्वतन्त्रता, आनन्द (पर्सुट अफ हेप्पीनेस) र राष्ट्रप्रेम । त्यसैले राजनीति यी कुरा प्राप्तिको विवेकपूर्ण प्रक्रिया हो । समाजको विवेकपूर्ण पुनर्निर्माणका लागि राजनीति ऊर्जा र उत्प्रेरण हो । असल बुझाइ, असल चाहना र असल कर्मबाट नै समाजको विवेकशील पुन निर्माण हुन्छ । राजनीति यसैमा केन्द्रित हुन्छ । राजनेताहरू यसैका लागि सतत रहन्छन् ।

राजनीतिलाई समाजले र समाजलाई राजनीतिले बेस्सरी प्रभाव पारेको हुन्छ । मर्यादा पुरुषोत्तम रामले त्रेता युगमा मानव मर्यादाका लागि राजनीति गरे । त्याग र समर्पणले मर्यादाका आदर्श बने । द्वापरका श्रीकृष्णले महाभारतमा धर्म बचाउन अर्जुनलाई राजनीति सिकाए । उनीहरू बिम्ब मात्र हुन समाजका लागि । कार्ल मार्क्सले असमान सम्पत्ति वितरण र शोषण विरुद्ध राजनीतिलाई रणनीति बनाए । बट्र्राण्ड रस्सेल युद्ध विरुद्धको अभियानलाई राजनीति देख्न थाले । सम्भवतः मोहनदास पनि रस्सेल जस्तै युद्ध विरोधी राजनीति मोर्चामा थिए, रस्सेल सडकका अभियन्ता बने, मोहनदास अहिंसाको मौन आग्रही । विभेदका विरुद्ध मानवताका अभियानमा मार्टिन लुथर किङ, नेल्सन मण्डेलाहरुले पनि राजनीति गरे, त्यसैले राजनीति समाजको सम्पूर्ण बिम्ब हो । समाज परिवर्तन भएपछि बिम्ब बदलिन्छ, समाज परिवर्तनका लागि राजनीति गरिन्छ । न्याय र सुशासन समाज परिवर्तनको अन्तिम बिम्ब हो । जुन बाटो र वादबाट गए पनि पुग्ने ठाउँ चाहिँ त्यही हो ।

राजनीतिले समाजसँग व्यवहार गर्ने हो, समाजलाई सुखी र खुसी बनाउने हो । समाज भन्ने बित्तिकै त्यहाँ परिवार, वर्ग र समुदायहरू रहन्छन् । उनीहरू आआफ्नै प्राथमिकता, अलग अलग चाहना र मौलिक पहिचानबिच सामुदायिकता बनाइरहेका हुन्छन् । प्राथमिकताबिच द्वन्द्व होइन, सहमति बनाउन, चाहनाबिच टकराब होइन, समझदारी बसाउन, पहिचानबिच प्रतिस्पर्धा होइन, राष्ट्र निर्माण गर्न राजनीति उद्यत रहन्छ । त्यसैले राजनीति भन्नु समझदारी, साझा संस्कृति र एकत्वको अनुभूति स्थापना हो ।

सामान्य बुझाइमा राजनीतिकर्मीहरू ‘राजनीति’ गरिरहेका हुन्छन् । राजनीति गर्न पार्टीको सदस्यता चाहिन्छ । पार्टीहरू विचार, वाद, भूगोल र आग्रहका ‘पार्ट’ मा विभाजित भई ‘होल’ माथि अन्याय गरिरहेका छन् । राजनीतिमा असंलग्नहरू पनि राजनीतिक प्रक्रियाबाट उसको जीवन र दैनिकीलाई बेस्सरी प्रभावित पाउँछ । पञ्चायतकालमा पञ्चायतबाट नितान्त अलग व्यक्ति पञ्चायतका नीति, विधि र निर्णयबाट प्रभावित थिए । राजनीतिक दल र कार्यकर्ताहरू विचार, सिद्धान्त र आग्रहमा साँघुरिँदा सर्वसाधारणको जीवन र दैनिकी प्रभावित हुन नदिन पनि सर्वसाधारण मत, अभिमत र क्रिया प्रतिक्रियाको प्रक्रियामा रहन्छन् ।

समाचार, सञ्जाल र चोक–चौताराहरू राजनीतिको चर्चामा भरिन्छन् । राजनीतिको महत्ता र प्रभावका कारण राजनीतिज्ञका कुरा सुन्न सर्वसाधारणका कानहरू ठाडा हुने गर्दछन् । अप्रत्यक्ष लोकतन्त्रको अभ्यासमा राजनीतिज्ञहरू सर्वसाधारणका वारेस हुन्, र सरकार उनीहरूको गुठी (ट्रस्टी) हो । वारेसले सधैँ वारेस दिनेको कुरा बोल्छ, गुठीले गुठियारको भलो मात्र गर्छ । राजनीतिज्ञका बोलीमा सर्वसाधारणका भावनाहरू बोलिएका हुन्छन् । त्यसैले नेताका बोलीमा उत्साह र ऊर्जा हुन्छ । नेताका बोलीमार्फत समाजमा उत्साह र ऊर्जा फैलिने गर्छ । शब्दलाई शक्ति र बोलीमा अनुभूति दिन नसक्ने नेताहरू विश्वास जित्न सक्दैनन्, ती राजनेता होइनन् । उत्साह र अर्थ सकिएका बोलीहरू राजनीति गर्न सक्दैनन् । सम्झनुपर्छ, ती राजनीतिबाट अलग छन्, राजनीतिका नाममा अरू नै केही गरिरहेका छन् । यस्तो प्रक्रिया रहेमा प्रणाली र प्रक्रियाको वैधता पोखिन्छ र समाज वितृष्ण बन्छ । कलिला लोकतन्त्र हिी हविगत भोगिरहेका छन् ।

राजनीति सत्यको उजागर गर्दछ । राजनीतिज्ञहरू सत्य र निष्ठाका पक्षपाती हुन्छन् । राजनीतिक स्रोत र शक्ति परिचालन सत्यको लागि हो । सत्यको अर्थ एउटै हुन्छ । सत्यले नैतिक आचरण र आदर्श संस्कृतिको स्थापना गर्छ । जब राजनीति लिक छाडेर अद्र्धसत्य बोल्न सुरु गर्छ, त्यो असत्यभन्दा निकै खतरनाक हुन्छ र समाज विग्रहतिर धकेलिन्छ । कलिला लोकतन्त्रमा राजनीतिमा असम्भव भन्ने केही हुँदैन भनियो र दाउपेचलाई राजनीति भन्न थालियो । जीवन र मानव मर्यादालाई संस्थापित गर्ने राजनीति सधैँ सरल रेखाबाट हिँड्नु पर्नेमा सधैँ वक्र रेखाबाट हिँड्यो, त्यो पनि शक्ति प्रतिस्पर्धाको जुक्ति, धुत्र्याइ र ओजहीन सामर्थ्यमा ।

जनता मूर्ख हुँदैनन्, जति झुट बोले पनि पत्याइ रहने । जनता ईश्वर हुन्, सत्यका अनुयायी र निर्माणका अवयव हुन् । जनताकै जगमा नीति र नेता उभिएका हुन्छन् । जनता नै शक्तिका स्रोत हुन् । सत्य र शक्तिलाई छुटाउन सकिँदैन । सत्ता शक्ति होइन । सत्ता सङ्घर्ष होइन, सभ्यता निर्माणको अभियान हो, शक्ति निर्माण र समाजको निरन्तर प्रजननको अभियान हो । अभियानका विधि र वाद हुन्छन्, तर अन्तिमवाद जनता हो । सबैको केन्द्रस्थमा जनता हुन्छ । जनता नै सत्य हो र जनता नै शक्ति हो । जब राजनीतिबाट जनता अलगिन्छ, वा अलग्याइन्छ, त्यो राजनीति नभै अनीति बन्छ । राजनीतिज्ञहरू यसका गोटी बन्छन् ।

राजनेताहरू सत्यको राजनीति गर्छन्, ‘राजनीति’ गर्दैनन् । सत्यको नीति लिनु कठोर पनि हुन्छ, समाज प्रियता र असत्यको वाहबाहीमा रमाउन सक्छ । युक्रेनका भिक्टर यानुकोभिचको चुनानी नारा प्रियतामा साबुनको फिँज बन्यो । राजनेता शक्ति र सानका लागि राजनीति गर्दैनन्, सम्पत्ति र स्वार्थका लागि राजनीति गर्दैनन् । शक्ति र सम्पत्ति होइन, सेवा र समर्पणमा लागेर नै राजनेता बन्दछन् । नेल्सन मण्डेला, मोहन दाश र किसुनजीको त्याग, सेवा र सादगीले राजनीति कस्तो हुनुपर्छ भन्ने सन्देश दिइरहने छ ।

राजनीति जीवनको मन्त्र हो, समाज सञ्चालनको सूत्र हो र राज्य व्यवस्थापनको विधि हो । यसको पवित्रता र आदर्शलाई कुनै वाहना र वादमा विकृत बनाइएमा समाज र राज्यव्यवस्था नै अनैतिक र अन्यायपूर्ण हुन्छ । अनीति नै नीति र प्रणाली विहीनता नै प्रणाली बन्छ ।

जनता उठाउनु राजनीतिको कर्तव्य हो । जीवनस्तर र समृद्धि राजनीतिको एक मात्र अभिष्ठ हो । जनताको जीवनशैली उठाउन राजनीति अभियानमा लाग्छ । त्यसैले जनताभन्दा राजनेता सम्पन्न हुँदैन । जनता दुब्ला हुँदा नेता दुव्लिन्छन् । जनता मोटा हुँदा राजनीतिज्ञ स्वतः बलिया हुन्छन् । जनता निरपेक्ष राजनीतिको कल्पना गर्नु भूल हो । जनताको सङ्गठित रूप नै राजनीति हो, जनता निर्धा हुँदा राजनीतिज्ञ किमार्थ मोटाउँदैनन् । महेन्द्र मल्ल जनताले खाए कि खाएनन् थाहा पाउन प्रजाको घरबाट धुवा आयो कि आएन हेर्थे रे । पार्क चुङ ही देश र सन्तान छाडी मजदुरीमा पश्चिम जर्मनीमा मेसिनसँग चेप्टिएका आफ्ना जनता सामु खुवै रोएथे । र आशु सँगै भनेथे, ‘म मेरो कार्यकालमै हाम्रो मुलुकलाई पश्चिम जर्मनीजस्तै विकसित बनाउने छु ।’ दक्षिण कोरिया विकसित भयो र निष्कर्ष निकालियो ‘देश बनाउन राजनेताको मन रुनु पर्छ’ । निर्धा जनता देखेर रुने राजनेता नै राष्ट्र निर्माता बने । दाशत्वमुक्तिमा लाग्ने कटिबद्ध नेता नै राजनेता बने । बलिया, मोटा र बलिष्ठहरू क्षणिक प्रियतामा देखिए पनि इतिहासबाट हराए ।

राजनीति ख्यालठट्टा र खेलाँची होइन । यो मुलुक र मुलुकीप्रतिको समर्पण हो । राजनीतिले समर्पणबाट नै शक्ति पाउने हो । राजनीतिक प्रत्येक शब्दहरू सर्वसाधारणका जीवन हुने गर्दछन्, राजनीतिका अक्षरहरूमा जनताको प्राण हुन्छ र सुखदुखको अनुभूति हुन्छ । जनताका भावनामा समानुभूति गर्नसक्ने नै सच्चा राजनीतिज्ञ हुन् । त्यसैले राजनीतिलाई सस्तो र सजिलो रूपमा लिनु हुँदैन । राजनीतिलाई विकल्पको पेसा बनाइनु हुँदैन ।

राजनीति शक्ति हो । शक्ति भने विश्वासको जगमा उभिएको हुन्छ । जनताको विश्वास आर्जन गरेर नै शक्ति निर्माण हुने हो । जनतालाई अनविश्वास गर्ने तर जनताकै नाम लिनेहरू शक्तिलाई उपहास गर्छन्, ती शक्तिका लालसी हुन् । जनताको बोली बोल्ने, भावना उठाउने, पीडामा समानुभूति राख्नेहरु सच्चा नेता हुन्छन् । जनताका नाममा आफ्नै कुरा गर्नेहरु नेता कदापि बन्दैनन् । नेता नीतिको जगमा उदाहरणीयता प्रस्तुत गर्दछ । नेताको उदाहरणीयता बढ्दै जाँदा उ राजनेता बन्दछ । त्यसैले कसैले भनेजस्तो कला वा जुक्ति राजनीति होइन, त्यसो बनाउदा राजनीति अराजनीति बनेको छ । लोकतन्त्रको संस्कृति नभएको समाजमा राजनीति अराजनीति हो, बुझ्नेलाई लाजनीति हो । राजनीतिलाई राज्यनीति बनाउनु समाजको चुनौती हो ।

राजनीतिले बैयक्तिक स्वतन्त्रता र व्यक्तिको निजत्वलाई फराक्याउछ । राजनीतिले सबै प्रकारका दासत्व र पराधीनतालाई स्वाधीनताले विस्थापन गर्‍यो । अवसर, साधन र पहूचबाट वञ्चित हुँदा निजत्व सङ्कुचित हुन्छ, पराधिनता र विवशता फराकिन्छ । हामीलाई थाहा छ, प्लेस प्रिमियम र वर्थप्लेस प्रिमियम पाउनेहरू स्वतन्त्रताको धेरै उपभोग गर्छन्, आनन्दमा रमाउँछन् र मास्तिरको यात्रा सहज बनाउँछन्, विपरीतमा बञ्चिती र सीमान्तीकरणको यात्रा छ । मानव जाति कोही पनि जन्मसिद्ध सर्वश्रेष्ठ होइन, परिवेश र अवसरको उपलब्धताले नै मानिसलाई अर्कोभन्दा श्रेष्ठ बनाउने हो । जब अवसरको असमान वितरण हुन्छ, स्वतन्त्रता साँघुरिन्छ । साँघुरिएको स्वतन्त्रता विरुद्धको अभियान राजनीति हो । निजत्व र स्वतन्त्रताको स्वादमा आनन्दिन सिकाउने कला राजनीति हो ।

जननायक विश्वेश्वर कोइराला स्वतन्त्रता र निजत्वका लागि राजनीतिको अर्थबोध गर्छन् । उनका अनुसार मानिस जन्मँदै परतन्त्रमा जन्मन्छ, अनि उसले जे जति गर्छ, सबै आफ्नो स्वतन्त्रताका लागि गर्छ । शिक्षा, दर्शन, राजनीति जे पनि किन नहोस्, प्रत्येकमा आफ्नो स्वतन्त्रताको लालसाले काम गरेको हुन्छ । नेल्सन मण्डेलाले दासत्व र विभेदबाट मुक्तिको अभियानलाई राजनीति माने । आधुनिक अभियन्ता र सङ्गठकहरु मण्डेला र कोइरालाका विचारलाई सम्वद्र्धन गर्न नीति संयन्त्र परिचालन गरिरहेका छन् । नागरिक समाज त्यसको पहरेदारी गरिरहको छ । त्यसैले राजनीति स्वतन्त्रताको विस्तारसाथ समृद्धिको मार्ग तय गर्दछ ।

साहित्यजस्तो आफू अभिव्यक्त हुने माध्यम राजनीति होइन । साहित्यले स्वेरकल्पना र आत्म स्थापना खोज्छ, सफल सर्जक स्वेरकल्पनाका पारखी हुन्छन्, आफै अभिव्यक्तिका पक्षपाती हुन्छन् । साहित्यकार जति पर पनि पुग्न पाउँछ । उ बयेलिन्छ, फैलिन्छ र मनोलाप गर्न स्वतन्त्र छ । साहित्य निजत्वको उदात्त प्रकाशन हो, पूर्ण अभिव्यक्ति हो । राजनीति सम्पूर्ण समृद्धिको अभियान हो । राजनीतिज्ञ जनताको भाषा बोल्छन्, वाद, विवाद र संवाद गर्छन् र जनहितको साझा कार्यसूची बनाउँछन् । मुखमात्र नेताको हुन्छ, मन जनताको हुनुपर्छ । राजनीतिकर्मीलाई आफू अभिव्यक्त हुन र आत्मकेन्द्रीत बन्ने स्वतन्त्रता हुँदैन । न व्यापारी जस्तो प्रतिफलको आशा गर्ने छुट हुन्छ । राजनीतिमा अभिव्यक्ति समाजको हुन्छ, प्रतिफल सामाजिक हितमा खोजिन्छ । दूर–दूरको दृष्टिसम्म राष्ट्रिय विकास, सामाजिक सहभाव र न्याय राजनीतिको अभिष्ट हुन्छ । त्यसैले राजनीति कार्यमूलक हुन्छ, गतिशील हुन्छ । यो गफ, मनोलाप र स्वेरकल्पना बुन्ने प्रक्रियाभन्दा कैयन माइल माथि हुन्छ ।

सामूहिक हितका लागि वैयक्तिक स्वार्थको समर्पण राजनीतिको सामर्थ्य हो । समाज आफैमा विविधताको पुञ्ज हो । वैयक्तिक चाख, चाहना र स्वार्थको टकराबमा सन्तुलन खोजी साझा स्वार्थलाई सार्वभौम इच्छामा बदल्नु राजनीतिको भूमिका हो । सामाजिक विरोधाभासको सन्तुलन र सहमतिको निर्माण गर्ने कला र सामर्थ्य नभए राजनीति सार्वजनिक खपतको गफ बन्छ । राजनीतिले साझा मूल्य, मान्यता र विश्वासप्रतिको प्रतिबद्धता फराकिलो पार्छ, पार्नुपर्छ । राजनीति स्रोतविहीन समाजमा स्रोतको निर्माण र उन्नयन गर्छ । राजनीतिका लागि जनता र उनीहरूको भावना नै स्रोत हो । त्यै स्रोतको अभ्यासमा समृद्धिको निर्माण र समृद्धिको समन्याकि वितरण गर्दछ । यही सामर्थ्य र कला राज्यकौशल हो । लिङ्कन, केनेडी, ली क्वान, पार्क चुङ, मण्डेला, विश्वेश्वर र किसुनजीहरु आआफ्ना समयका राजनेता थिए ।

जनताको भाव बोल्ने भन्दैमा प्रीयतावाद राजनीतिको कर्म होइन । असल राजनीतिक संस्कृति नभएका लोकतन्त्रमा प्रीयताका भरेङ्मार्फत सत्तामा पुग्ने क्षणिक मार्ग अपनाइन्छ । भोका पेटहरू मस्तिष्क र विवेकभन्दा पेटकै बोली बोल्छन् । प्रीयताका लागि छोटो दृष्टिकोण राख्ने काम राजनीतिक कौशलमा पदैन ।

राजनीति दृष्टि बोधी हुनैपर्छ । सुदूरको दृश्य नदेख्नेहरू राजनीतिक रतौंधा हुन् । अस्पष्ट दृश्यका बाढीमा अल्मनेहरु जनताका भविष्य निर्माण गर्न सक्दैनन् । मानिस स्वतन्त्रतामा आनन्दिएपछि समृद्धिको दृश्य खोज्न थाल्छ । त्यहाँसम्म पुर्याउन शक्ति, स्रोत र सामर्थ्य राजनीति हो । त्यसैले राजनीति कुनै किताबको अक्षर, सार्वजनिक खपतको भाषण र तत्कालको प्रीयतावाद होइन । निर्माण र समृद्धिको रणनीति हो ।

राजनीतिमा दलहरू जित्दैनन्, अपितु दलहरूले राजनीतिलाई संरचना दिएको हुन्छ । क्षणिक परिणाम दलले जितेको देखिन्छ, तर सबैले नजिते, प्रक्रियाले नजिते त्यो जीत हारभन्दा पनि खतरनाक भइदिन्छ । इतिहासले भनेको छ, जित्ने मात्र सधैँ महान् हुँदैनन्, हार्नेहरू पनि सत्य, निष्ठाका पक्षमा हार्दा महान् मानिन्छन् । किसनुजी हारेर महान् भए, मुसरफहरु जितेर पनि विलीन भए । कैयन यस्ता उदाहरणहरू छन् जहाँ आफूहरू जितेर पनि जिताउनेलाई जीतको वैधता नदिई समाज र समयलाई हराइ रहे । परिणाम पुस्ता हार्‍यो, समृद्धि हार्‍यो र परिवर्तन अवरुद्ध भयो ।

भीडले नीति, नेता र राजनेता जन्माउँदैन । नीति, नेता र राजनेताले भीडलाई नियन्त्रण गर्दछ । भीड कति वेला उग्र हुनसक्छ, विशृङ्खलसित हुनसक्छ र विध्वंसात्मक हुनसक्छ भन्न सकिँदैन । भीडले राजनीति हुनेथ्यो त सेलिव्रेटीहरु राजनेता भइसक्थे । राजनेताले भीडलाई भड्काउँदैन, राजनीतिक संस्कार सिकाएर भड्किनबाट रोक्छ, भीडको नारालाई आदर्श वाक्यले विस्थापन गर्छ । अनुयायी धेरै बनाउँदैमा पनि राजनीति हुँदैन, त्यसो हुन्थ्यो भने डोनाल्ड ट्रम्प बाराक ओवामा भन्दा ठुला नेता हुन्थे । राजनीति संयमित प्रक्रिया पनि हो । संयम, विनय र समर्पण राजनीतिको गुण हो । राजनीतिको यही गुणले मानव मूल्य र सामाजिक प्रगति संस्थागत हुँदै आएको छ ।

(मैनाली निवास, क्षितिज मार्ग, शंखमूल)