अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०२ | Colorodo: 15:17

भवानी घिमिरेको ‘स्मृतिका रेखाहरू’ भित्रको रेखाचित्र

युवराज मैनाली २०७७ पुष २९ गते ६:५९ मा प्रकाशित

भवानी घिमिरे क्रान्तिक्रान्त मेधाका यशस्वी कवि हुन्— केदारमान व्यथित

कल्पना अनि आवेग, तृप्ति अनि ऊर्जा, काव्यका प्रयोग र प्रयोजन मानिन्छन् । जीवनका निम्ति उपयोगिता–सार्थकताको पहुँचको मात्रा पनि यिनमा हुनुपर्छ । यी सबैको सोचका पर्खाइमा फैलन्छन् विचारहरू एकपछि अर्को, सुर्कोपछि अर्को पाटो भिज्न पुग्छन् । एक ठाउँमा मोहन कोइराला कवितामा के हो ? मा भन्छन् ‘…सिङ्गै भन्ने हो भने फलामको ढिक्का हो ।’ फलामका टुक्राहरू हुन्छन् भने त्यसैलाई धार लगायो भने तरबार बन्छ । त्यो चक्कु पनि हुन्छ, त्यही बन्दुकको गोली पनि हुन्छ । फलामका टुक्राहरू यी कविताहरू हुन् । कसैलाई हानिनोक्सानी गर्न कविता लेखिदिएको त होइन तर कविता भनेको – यसो हेर्दा बुझ्दा त्यहाँ आगो बलिराखेको हुन्छ । हामीलाई हात पोल्छ भनेर कविताले निर्देशित गरिरहनुपर्छ तर कविताले पोल्नुचाहिँ हुदैन । कोइरालाको अभिव्यक्तिमा तातोलाई पोख्न अनि सेलाउनका निम्ति पोखाइ भाँडाभरीका सोचहरू खन्याउन सकिन्छ । त्यसलाई अहिलेका लागि थाती राखेर यति नै भनूँ लयात्मकताको तरङ्गमा जीवनका छाया, माया अनि काया छर्लङ्ग्याउने एउटा भाँडो भरिएको शब्दको सागर हो कविता । कोइरालाको अभिव्यक्तिमा पछिल्लो हरफले वर्तमानलाई औंल्याएका छन् । विचारका लागि, बहसका लागि निम्त्याएका छन् ।

प्रस्तुत लेखमा विश्लेषणका लागि भवानी घिमिरेको कवितासङ्ग्रह स्मृतिका रेखाहरूलाई लिइएको छ । घिमिरेको स्मृतिका रेखाहरू कवितासङ्ग्रह पहिलोपल्ट २०२४ सालमा प्रकाशित भएको हो । २०४५ सालमा यसको दोस्रो संस्करण प्रकाशित भयो र २०५६ सालमा तेस्रो संस्करण पनि प्रकाशित भयो । अब यसको चौथो संस्करण प्रकाशित नहोला भन्न सकिँदैन । यस हिसाबले चार दशकबीच दुई दशक हाराहारीमा दोस्रो र चार दशकमा एक दशकभन्दा अलिकबेसीको अन्तरालमा तेस्रो खुड्किलो टेकेको समयभन्दा आठ वर्षको अवधि यसले पार गरेको छ । २०१० सालमा लेखिएको ‘नारी’ देखि २०५६ को ‘भोक’ र ‘कस्तो कविता लेखूँ’ जस्ता कविताहरू यसभित्र समयअनुसार समावेश गरिएको छ । स्मृतिका रेखाहरूको दोस्रो संस्करणमा मुकेश मल्लको काव्यचित्र समावेश छ । तेस्रो संस्करणमा चाहिँ कवितापिच्छे किरण मानन्धरका काव्यचित्र राखिएका छन् । ३९ कविताहरू समाविष्ट यस कविता सङ्ग्रहमा ‘अँध्यारोमा उज्यालोको बास’ शीर्षकको कवितालाई पहिलो स्थान दिइएको छ ।

‘स्मृति’ भित्र तहतह तरङ्गहरू सल्बलाउँछन् । तरङ्ग गन्ने रागको मरीचिका मात्र त होइन यो प्रयास । अल्लारेपनको उमङ्ग मात्र त होइन । यस्ता विचार उठ्छ अन्तरबाट कतै किनकि कर्म र वय अनि साधनाले वरिष्ठताको सबल खाँबोका रूपमा उभिएका, साहित्यिक पत्रकारिताका निम्ति भानुझैं रहेका व्यक्तिको सृजनामाथि लेख्न बस्दा मानसिक दबाब उत्रँदो छ यहाँनिर । भवानी घिमिरे, उमेरले मात्र होइन, साधनाका कर्ममा पनि पाको व्यक्तित्वका पहिचान हुन् । यहाँनिर पहिचानकै क्रमलाई निरन्तरता दिने हो भने ‘निन्द्रा’ कविताबाट एउटा कवितांशको उल्लेख गर्नु आवश्यक देखिन्छ:
निन्द्रा
ए निन्द्रा
नआइज मेरो छेउ
जा जा पर पर जाइ जा
म तेरो जालमा फस्न चाहन्नँ
म चाहन्छु सङ्घर्षको बाटोमा प्रगतिलाई समातेर
आफू बाँच्न र अरूलाई बचाउन
‘निन्द्रा’ शीर्षकको प्रस्तुत लयात्मक कविताले उनको पथको पहिचान गराउँछ ।
कविता सिङ्गैले घिमिरेको सैद्धान्तिक पथको पहिचान उजिल्याउँछ, काव्य सिद्धान्तका धारहरूमा प्रगतिवादको मार्ग अवलम्बन घिमिरेमा छर्लङ्ग प्रस्टिन्छ

“प्रगतिवाद” माक्र्सवादको प्रस्फुटन हो । निश्चित विकास प्रक्रियाको अवलम्बनमा आधारित सिद्धान्तको द्वन्दात्मक भौतिकवादको आकर्षणबाट प्रभावित साहित्यको धार सन् १९३५ मा प्रगतिशील लेखकहरूको अन्तर्राष्ट्रिय सङ्घको अभ्युदयले एउटा वर्गविशेषको नवीनतामा विशेष जोड दिई सोही पक्षमा चेतना बिस्तार गर्दै त्यसको वकालत गर्छ । नेपाली साहित्यमा कवि व्यथित, आनन्ददेव भट्ट, भूपिदेखि थुप्रै साहित्यकारहरू यस फाँटमा देखापरेका छन् । तीमध्ये भवानी घिमिरे पनि एकको रूपमा दरोसँग स्थापित छन् । वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधानको शब्दमा “आफ्नो समयका अरू धेरैजसो कविभन्दा केही पृथक् छन्, यस अर्थमा भवानी घिमिरे कृष्णचन्द्रसिंहकै शब्दमा ‘प्रतिसंस्कार’ प्राप्त कवि हुन् । उनको ठहर यस्तै छ ।

बिम्ब र प्रतीकको प्रयोगले राम्रो ठाउँ पाएको यस कवितामा जीवनवृत्तमाथि सोचाइका गहनतम विचारहरूको कवितात्मक अभिव्यक्ति छ । आरोहावरोहको प्रवाहमा आरोहको ठोकाइ यसमा भेटिन्छ । यसको उदाहरण स्वरूप केही पङ्क्ति उल्लेख गरिन्छ ः
पूर्णेपछि औंसीको रातमा
अभागी विधवाको निधारजस्तो
नियास्रो रातको गर्भमा
उज्यालोको वास हुन्छ

यस प्रवाहमा बिजुली गर्जेझैं, प्रवाह कतै ठोक्किएझैं, प्रपातमा बदलिएझैं, अचानक देखिएका प्रवृत्तिको प्रतिक्रियामा यात्रीले मुठी कसेझैं कुर्लिन्छ:
आकाश चर्किन्छ/पृथ्वी थर्किन्छ
सूर्यको सानो भाग चोइटिएर खस्छ
तारो खस्छ

मानवीय संवेदनाका छाल स्वत्वको, अस्तित्वको, उत्तालको नाद कविका काव्यमा उर्लिएर बग्छ । ‘यसपछि म तिम्रो भएर पनि’ झनै प्रतीक प्रयोगमा प्रभावकारी देखिएको छ । त्यसो त ‘प्रत्येक मान्छेभित्र एउटा आन्दोलन’ यी दुबै कविताभन्दा बेग्लै छ– सरल र सुस्पष्ट । ‘आफूभित्रको आफू’ मा जिन्दगी प्रारम्भ गर्न पहिलो आफूलाई नियालेर हेर्न जरुरी छ । त्यो केका लागि भने स्वच्छताको आफ्नै स्वभित्रको अभिमान र अहं पन्छाएर पसारेपछि स्वबाट स्वतन्त्र चिन्तन हुन पुग्छ । आफ्नो स्वच्छता र स्वच्छन्दताबाट मात्र स्वजन स्वतः देशभक्त र इमान्दार हुन पुग्छ । आन्दोलन मान्छेभित्र यस्तै चाहिएको छ ।

‘आँखा’ ऐनामा अनुहार हेर्दा, तिमी मेरो नजिक आऊ ‘प्रतिशोध’, ‘जय नेपाल’, ‘शुभकामना’, ‘मानिस्याइँ’, ‘जीवन, यौवन र उन्माद’, ‘लेलिनलाई चिठ्ठी’, ‘देश’, ‘चार चोइटा’, ‘विश्वास’, ‘स्वतन्त्रता’……‘प्रति’, ‘सगरमाथा’, ‘लालहरूको लाल पुष्पलाल’, ‘आफूलाई फिर्ता लेऊ’, ‘हाम्रो प्रेम फेवातालजस्तो’ आदि कविताहरूमध्ये अधिकांशमा छोटाछोटा स्वरूपमा प्रयोग भएका छन् । विचार, विम्ब, प्रतीक अनि आफ्ना आस्थाका साथसाथ यसरी बगेका छन्, तिनलाई अञ्जुलीमा राखेर नियालिरहूँझैं लाग्दछ, टप्प टिपेर कतै लुकाउँझैं लाग्छ, अनि त्यसभित्र केही टाँस्सिएर आएका धुलामैलाहरू मिल्काउँझैं लाग्दछ ।

‘सम्झ कहिले सपनाको बिस्कुन छर्नुपर्ने हुन्छ, कहिले यसलाई सोहोर्नुपर्ने हुन्छ र कहिले बिपनाको बिर्को उघारेर हेर्नुपर्ने हुन्छ तर जिन्दगी सपनाको बिस्कुन होइन कि छरौं यसलाई जथाभावी सोहोर्नै नसक्नेगरी ।

‘सपनाको बिस्कुनभित्र’ को बिगुलको आवाज हो यो, चेतनाको प्रकाश हो । वस्तुतः भवानी घिमिरेको सिद्घान्त, पक्षगत कुरा म बुझ्दिन, जान्दिन तर कवितामा उनको सौन्दर्य बान्की शैलीगत प्रभावोत्पादकताबाट गीत गाएको अनुभूति गर्दछु र यहाँनिर मानवीय संवेदनाप्रति सन्निकट हुन पाउँछु । यसैले उनका कविताहरूमा हिलो छ्यापाछ्याप छैन । स्वच्छ पानी र चोखो माटोमा रमाउने अन्तर्जागरण सन्देश समाहित छ उनको काव्यमा ।

खोजी एउटा जीवनको अविरल कर्म हो । अल्मलिएको÷बाटो बिराएको खोजी होइन । पाइलाको नापोमा फाँट चहार्ने वा बलिको टाउको टेक्ने पाइला हामीसँग छैन । हाम्रा पाइला खेतको आलीमा टेकिनुपर्छ, फराकिलो सडकमा डोहोरिनुपर्छ । आखिर पाइलाको हिँडाइमा ओगटिने क्षणिक ठाउँ त जता हिँडे पनि उतिउति नै रहन्छ । ‘खोजिदिन्छु आफैंभित्र’ भन्ने कविताभित्र पस्दा पाठक आफैं थुनिएको पाउँछ एउटा कोठाभित्र तर पराजय कुण्ठाको सञ्चयन हो । नगिज्याओ, युग भोलि आउने छ फर्केर भन्छन् उनी । हा,े यही हो यथार्थमा जीवन, यसैलाई भनिन्छ आस्था । यात्रा गरिरहनुपर्छ आस्थाहरूको । आस्था पराजित हुँदैन कहिल्यै, समय पराजित हुन्छ आफैंलाई नचिनेर, समय दृष्टिको दृष्टिकोणमा यथास्थितिमा बसिदिन्छ । हो, विजय भएन तर विजयको दिग्विजय कसको कहिले भएको छ र ? रातपछि रक्तिम उज्यालो त निरन्तरको क्रम हो । यो क्रममा विजितले लज्जित भएर रातो मुख लाएर पलायन पनि हुनुपर्ने हुन्छ । मात्र जरुरी छ मान्छेमा आत्मविश्वासको जागरण । मूलमन्त्र यही लिएर ढुकढुकीभरि यही आवाज बुलन्द गरिरहनुपर्छ ।
मलाई मारिदेऊ
तैपनि म सास फेर्छु
मभित्रको प्राण बाचुञ्जेल
म तिमीलाई एक इञ्च पनि अगाडि बढ्न दिन्न

प्रवृत्ति र शक्तिमदको मदान्धता नहुँदो हो त, विभेदको थिचोमिचोले वर्ग विभाजन नहुँदो हो त, घात प्रतिघातको अति विकटताले नै मानिस ब्युँझन्छ । एकतामा अनेकता, अनेकतामा एकता डोरिएर मान्छे बाँच्छ । चेतनाको प्रथम स्फुरणमा स्व भेटिएन भने पनि स्वजनका निम्ति ऊ लागिपर्दछ । यो नै हो प्रवृत्तिको एक स्फूर्त गति । चेतनाको प्रथम स्फुरणको रेखाचित्रको यथार्थचित्रण प्रस्तुत गर्ने यही परिपक्वता प्रस्फुटित छन् भवानी घिमिरेका कविताहरूमा ।

स्मृति जो मेटिन्छ त्यो सस्ंकार, त्यो प्रवृत्ति मृत हो । स्मृति त कोरिनुपर्छ मुटुभरिभरि, मस्तिष्क भरिभरि । त्यही कोरिएको इतिहासलाई साक्षी राखेर बाँच्न सकिन्छ । प्रतीक बनेर माया पनि एउटा बन्न सक्छ चोखो र निश्छल अनि निरन्तरको रहेर । माटोको माया, आफन्तको माया यो सच्चा र चोखो माया । जुन मायाको परिणतिमा जीवनको मूल्य हुँदैन । कसैको पनि जीवनको मृत्यु भएर पनि जीवनलाई कसैले लैजान सक्दैन र मृत्युको पट्याइ पञ्छिएर जीवनको आयाममा माया उम्रिन्छ र जति काटे पनि जति फाले पनि पृथ्वीजस्तै फैलिरहन्छ ।

जीवन ! विशेषतःजनजीवनको यथार्थतालाई संवेदनशील रहेर आफ्नै स्वपाराको छाँटकाँटको लेखनमा कवि भवानी घिमिरे आफ्ना कवितामा बगेका छन् । आस्थाका नौला आलापमा गाइरहेका छन्, कोमल अनि कर्णप्रिय घन्काइमा जान्ने–सुन्ने क्षमता भए पातपातको पनि कथा, व्यथा र मर्म सुन्न सकिन्छ भनेझैं उनको कलमले पनि सन्देश र प्रेरणा मात्र होइन, बाँच्ने कलाको यथार्थ पनि प्रकट गरिरहेको देखिन्छ । अन्तर्सापेक्ष मनोभाव प्रतिसंस्कार प्राप्तिमा अन्य प्रगतिशील कविहरूभन्दा निकै सन्तुलित प्रवाह भवानी घिमिरेमा देखापर्छ– ‘स्मृतिका रेखाहरू’ मा । उनको काव्य उडान व्यापक रहेको पाइन्छ तर उडानमा उनले सन्तुलन पनि कायम राखेका छन् । सत्यको निचोड जति मिठो रूपमा प्रष्ट पार्न उनका कविता जति सक्षम छन् त्यति नै तीतो रूपमा पनि एउटा तीतो सत्य ‘एउटा बालक पृथिवीमा जन्मिँदा’ भित्र उनी यसरी प्रकट हुन पुगेकाछन् ।
यहाँ पृथ्वी नहुँदो हो त रगत बाँच्ने थिएन
त्यसैले हेर पृथ्वीमा कति हाँसी हाँसी मरे ।

मृत्‍यु अन्तिम विश्राम एउटा स्वाभाविकता (पृथ्वी परिपोषक) एउटा बालकको मृत्यु एउटा अस्वाभाविकता । भर्खर जन्मेको बालक रुनुभित्रको हाँसो सम्पूर्ण प्रतीकमा एउटा पाको मान्छे जुनसुकै अन्याय,अत्याचार, विभेद, शोषण खपेर टुलुटुलु मात्र हेर्न जान्दछ, त्यो बालक नभए के हो त ? प्रतिकार गर्ने सङ्घर्ष आदि विना त्यो बालकझैं मरिसकेको छ, खेतको कान्लामा पुरिसकेको छ किनकि ऊ माटोबाट जन्मेको हो, एउटा आक्रोश यहाँ छ र त्यो प्रष्ट अभिव्यक्तिमा खुलेको छ पृथ्वीले आफ्नो भार उत्पन्न गरेकोमा । त्यसैले भन्न पुग्छन् कवि– ‘प्रिय !’ पृथ्वी त एउटा रगतको डल्लो हो, किनभने यो मानिसको रगतले सिञ्चिएको छ’ अनि यसैको परिपूरकमा उत्तरस्वरूप शुभकामना शीर्षक कविता आएको छ । व्यक्ति एकलको सम्पूर्तिमा पनि व्यक्तिको सफलता खोक्रो हुन्छ । समष्टिमा समाहित समारोहमा भिज्ने प्रवृत्ति नै व्यक्तिको अभीष्ट प्राप्ति हो । समष्टिको चिन्तन कार्य प्रणालीतर्फ अभिमुख जीवन विस्तारै हिडेर प्राप्त हुन सक्दैन । हरिया चियाका पातहरू जस्तै भएर फैलनुपर्छ । झर्ना, नदीनालाजस्तै हामीले पनि कुद्नुपर्छ मौकामा ÷बेलाबखतमा । हाम्रो पनि समुद्र छ , हाम्रो समुद्र्र के हो ?समतामूलक समाजको त्यो लक्ष्य समुद्रमा आत्मसात हुन पुग्नु छ । यसैले हामी लक्ष्यहीन यात्री होइनौँ । त्यो लक्ष्य नै हाम्रो सुपथ हो भन्ने नबिर्सौ , हामीले बाँच्नुपर्छ किनकि हामीलाई यो कुरा राम्ररी थाहा छ ।
व्यक्ति स्वयं आफू मात्र केही होइन
व्यक्ति खाली ऊ मात्र केही होइन
आफूलाई भेट्न पनि अरूसम्म पुग्नुपर्ने हुन्छ
अरूसम्म पुग्न समष्टिमा मिल्नुपर्ने हुन्छ ।

नक्कलको पारामा होइन कि जीवनहरू हेरेर/भोगेर चिन्तनका कसीमा घोटेर भवानी घिमिरेका काव्यचक्रका धुरा घुम्छन् । उनको शुभकामना‘औपचारिकतामा सीमित हुन्न’, व्यवहारको यथार्थतामा ओर्लिन्छ । फेरि अर्को यथार्थमा, मायाको सुवास छर्न खोज्छन्, उनी‘जीवनको आयाममा माया र मृत्यु’ नामक कवितामा मायालु (सहगामी)लाई पर्खिदैं ध्वनिहरू आवाजबाट चिप्लिएझैं चिप्लिएर अवेर भइसक्दा पनि प्रतीक्षित माया(चेतन)को अन्यमनष्कता, यसमा पथिक माया (अनुभूति) को समय खेर फाल्न काइ लगाएर पर्खाएको रीस छ–उनलाई । व्यङ्ग्य छ जडताप्रति । यहाँनेर व्याख्यातर्फ नगएर भन्ने हो भने एउटा जीवन दर्शनका रूपमा हेर्न सकिन्छ भवानी घिमिरेका कवितालाई । जीवन , प्रकृति र परिपञ्चका यथार्थगत सूक्ष्म प्रवृत्तिको अवयव सम्पूर्णको अवलोकनको पाको प्रवृत्तिको पहिचान छ उनका कवितामा । सैद्घान्तिकताको बिम्बलाई कलात्मक छाँटकाँट दिई मिठास घोलेर सरल पारामा सुपाच्य बनाउन पोख्त पाकशास्त्रीका रूपमा उभिएका छन् उनी । समग्रमा भन्दा ‘स्मृतिका रेखाहरू’बाट भवानी घिमिरेको कविव्यक्तित्व टड्कारो भएर उभिएको पाउँछौँ ।

अन्त्यमा, ‘स्मृतिका रेखाहरू’ का सम्बन्धमा वासुदेव त्रिपाठीको यो भनाइ युक्तिसङ्गत देखिन्छ— ‘कवि भवानी घिमिरे’ का निम्ति कविता आफैमा साध्य होइनन्, र ती कुनै वृहद् मानवीय साध्यका निम्ति कलात्मक माध्यम हुन् । यस परिप्रेक्षमा यति सुन्दर र यति कमनीय यी कविता रच्दै भवानी घिमिरेको कविव्यक्तित्व प्रगतिशील आस्थाका पथमा कविसौन्दर्यको रचनात्मक भूमिकालाई सकार्ने एक अगुवा तथा सक्षम कविका रूपमा यस सङ्ग्रहमा (स्मृतिका रेखाहरू) उभिरहेको पाउँछु ।’ भारतीय नेपाली महाकाव्यकार मोहन दुखुन भन्छन्— ‘काव्यमा रहनुपर्ने ध्वनिप्रतिध्वनि÷प्रतीक प्रयोग÷बिम्बप्रतिबिम्ब÷भाषाको चटकदार सजावट र शब्दचयनले गर्दा कविता कविता पढिरहुँ, सुनिरहुजस्तो लाग्छ र उनी (भवानी घिमिरे) सहज कवि हुन् । उनका कवितामा मैले काव्यको अमरत्व रमाएको देखेँ ।’ यसै सन्दर्भमा कवयित्री बेञ्जु शर्मा भन्छिन्— ‘युगबोधको सशक्त अभिव्यक्ति नै भवानीज्यूका कविताका प्राण हुन् ।’

वास्तवमा ‘क्रान्तिकान्त चेत र युगबोध’ नै भवानी घिमिरेका कविताका अमरत्व हुन् र स्मृतिका रेखाहरू कविता सङ्ग्रहमा उनको त्यही क्रान्तिकान्त चेत राम्रैसँग उघ्रिएर प्रकट भएको छ ।