अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

अनेसासद्वारा सत्यमोहन जोशी पुरस्कार स्थापना

बिआरटीनेपाल २०७७ मंसिर २७ गते ११:४३ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संस्कृतिविद् सत्यमोहन जोशीका नाममा अन्तर्राष्ट्रिय प्रकृतिको पुरस्कार स्थापना गरेको छ । संस्थाका अध्यक्ष प्रकाश पौडेल ‘माइला’ को प्रायोजनमा संस्थाले ‘अनेसास शताब्दी पुरुष सत्यमोहन जोशी पुरस्कार’ स्थापना गरेको हो । पुरस्कार नेपालबाहिर तीन वर्षभन्दा बढी बसेर नेपाली भाषा, साहित्य एवं संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्ति वा संस्थालाई प्रदान गरिनेछ ।

पुरस्कारको राशि १ हजार १ अमेरिकी डलर रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीले प्रेस विज्ञप्ति जारी गरेर जनाएको हो । पुरस्कार हरेक दुई-दुई वर्षमा विशेष समारोह आयोजना गरेर प्रदान गरिनेछ । पुरस्कारका छनोटका लागि अनेसास केन्द्रीय कार्यालयले तीन जना सम्बन्धित क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई अग्राधिकार प्रदान गर्नेछ ।

‘पछिल्लो समय स्वदेश विदेश सबैतिर नेपाली भाषा र साहित्यमा विभिन्न किसिमका पुरस्कार स्थापना भएका छन् । जसले नेपाली भाषा र साहित्यका लागि निकै फराकिलो आयाम थपेका छन्,’ बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्री भन्छिन्- ‘तर यस्तो पुरस्कार आमा–बुवा वा परिवारका विशिष्ट सदस्यका नाममा मात्र भए । विशिष्ट साहित्यिक व्यक्तित्वको नाममा पुरस्कार स्थापना गर्न पाउनु अनेसासको लागि गर्व को कुरा हो।’

संस्कृतिविद् सत्यमोहन जोशीका विषयमै पुरस्कार स्थापना गर्नुमा पनि प्रायोजक प्रकाश माइलाका आफ्नै तर्क छन् -“औसत ७० वर्ष आयु भएका नेपालीहरूका बिचमा सत्यमोहन यस्ता स्रष्टा हुन्, जसले नेपाली भाषा, संस्कृति र साहित्य तीन वटै क्षेत्रमा काम गरेका छन् । तीन पटक मदन पुरस्कार पाउने एक्लो इतिहास बनाएका व्यक्ति पनि हुन् । सय वर्षको उमेरमा पनि स्वथ्य र सक्रिय जीवन बाँच्ने हौसला उनको जीवनबाट पाइन्छ ।”

‘सबै किसिमले नेपाली भाषा, साहित्य र संस्कृतिका महत्त्वपूर्ण व्यक्तित्व भएका कारण पुरस्कारले सत्यमोहनकै बाटो पच्छ्याओस् भन्ने सोच हो,’ पौडेल भन्छन्, ‘सबैको सहयोग भयो भने यो सम्भव छ ।’

केही दिनअघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रस्टीसँग सम्झौता भएपछि शताब्दी पुरुष सत्यमोहन जोशी संस्कृति पुरस्कार अस्तित्वमा आएको हो । ट्रस्टीका तर्फबाट प्रा.डा. गोपी उप्रेतीले हस्ताक्षर गरेका छन् भने दाताका तर्फबाट प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू