अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 15:36

पाठ्यपुस्तकमा लोग्नेस्वास्नीका चर्तिकला

बिआरटीनेपाल २०७७ कार्तिक ९ गते ९:१६ मा प्रकाशित

कीर्तिपुरमा नेपाली विषय पढ्ने साथीहरूले आपसी भेला गरेर खगेन्द्र लुइटेलको चरित्रहत्याका सन्दर्भमा उहाँहरूले गर्नुभएको अनुसन्धान अनलाइनमा पढ्न पाइयो । यी कुरा श्रुति परम्परामा वेदको प्रसारण भएजस्तै कीर्तिपुरमा पढ्ने प्रत्येक पुस्ताले जानकारी पाइरहेको स्थिति हामी सबैले अनुभव गरेकै कुरा हो । यस सन्दर्भमा ‘रमेशजी अध्यक्ष रहेको विद्यालय स्तरको विषय समितिले विद्यालय स्तरका हरेक कक्षामा आफ्नी पत्नी सुधा त्रिपाठीका रचना पढ्न बाध्य बनाएको’भनाइप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

अहिले रमेशजी अध्यक्ष रहेको विद्यालय स्तरको विषय समितिले माध्यमिक विद्यालय तहका हरेक कक्षामा आफ्नी पत्नी सुधा त्रिपाठीका रचना पढ्न पढाउन बाध्य पारेको छ । यसका केही नमुना यहाँ प्रस्तुत गरिएको छ ।

 

रमेशजी, पहिले नेपाली भाषा बिगार्न नेतृत्व गर्नु भो, खगेन्द्र लुइटेलको नेतृत्वमा सरकारी निर्णयबाटै तपाईँका कुकर्म उल्टिएपछि अब नेपाली विषयप्रति नै विद्यार्थीको वितृष्णा बढाएर नेपाली विषय नै समाप्त गर्नेजस्ता दुष्कर्म गरेर सिङ्गो देशको शैक्षिक स्थितिसँग खेलबाड गर्न तपाईँलाई कुन नैतिकताले दिन्छ ?

लामो गृहकार्य र खोजतलास गरेपछि हामीले निकालेका निष्कर्षलाई क्रमशः चर्चा तल गरिन्छ ।
१. विषय समितिका अध्यक्ष रमेश भट्टराईले हरेक कक्षामा आफ्नी पत्नीका लेख रचना राख्न दबाब दिएपछि ती किताबमा लेखककै रूपमा रहेका धनप्रसाद सुवेदीले आफ्नो मौखिक असन्तुष्टि हामीसँग जनाएका थिए त्यस बेला । तर त्यति बेला धनप्रसाद सुवेदीजीलाई चीन पठाइदिएर उनको मुखमा बुझो लगाएको कुरा घामजस्तै छर्लङ्ग छ । यो कुरा होइन भने धनप्रसाद सुवेदीले सार्वजनिक रूपमा खण्डन गर्नुहोस् ।

२. हरेक कक्षामा आफ्नी पत्नीको रचना राख्न दबाब दिने भट्टराईजीले अन्य लेखकहरूलाई ‘अध्यक्ष कमरेड भोलि मेरो घरमा आउँदै हुनुहुन्छ, तपाईँलाई विश्वविद्यालय, सरकारी संस्थानमध्ये कुनमा रुचि छ, म मिलाइदिन्छु’ भन्दै ललिपप बाँडेको कुरा त्यस बेलाका कतिपय लेखकहरूले ‘पहिले अध्यक्ष कमरेडको धमास दिएर हामीलाई फसायो, अहिले लात्ताले हानेर हिँड्यो’ भन्दै रोइलो गरिरहेको कुरा सुन्नमा आएको छ । यो कुरा गलत हो भने सम्बद्ध पुस्तकका लेखक साथीहरू तपाईँहरूलाई के त्यस्तो बाध्यता आइलाग्यो र रमेशजीका पैतालामुनि आफ्नो विवेक घु्सारिदिनुभो ?

३. धनप्रसाद सुवेदीले चीन जान पाउने लोभमा आफ्नो मुख बन्द गरेजस्तै कुनै पतिले आफ्नी पत्नीको रचना राख्न दबाब दिँदैमा राखिदिनैपर्ने बाध्यताबारे सम्बन्धित अन्य लेखकहरूले विवेकपूर्ण ढङ्गले राखेर सत्य तथ्य प्रस्तुत गर्नुहोस् । सम्पूर्ण शिक्षा क्षेत्रमाथि खेलबाड गरेर देशका कलिला विद्यार्थीलाई सुधा त्रिपाठीको मात्र भजन गाउन किन बाध्य बनाउनुभो ? यस्ता कुरामा तपाईँहरूलाई अलिकति पनि हीनताबोध एवं अपराध बोध भएन ?

४. आफ्नी पत्नी त्रिविको शिक्षाध्यक्ष भएको धमास दिएर ‘तपाईँलाई सेवा आयोग पास गर्नु छैन ? मन लागेको क्याम्पसमा सरुवा चाहिँदैन ?’ भन्ने धम्की दिएर कतिपय लेखकहरूलाई दुष्प्रभावमा लिएर प्रत्येक कक्षामा आफ्नी पत्नीको भजन गाउन बाध्य बनाएका तथ्यहरू पनि बाहिर आउँदैछन् ।

५. पाठ्यक्रम एवं पाठ्यपुस्तक निर्माणमा यस्ता चरण हुने गर्छन्:

६. मूल्याङ्कन समितिले चाहिँ के हेरेर मूल्याङ्कन गरेको हो ? यसका लागि उनीहरूलाई कस्तो ललिपपले मुख बन्द गरिएको थियो ? यस्ता ललिपपमा झुन्डिएको ‘आशे’एवं ‘निरीह’विद्वताले तपाईँहरूलाई कहाँ पु¥याउँछ ?

७. मूल्याङ्कन समितिले मूल्याङ्कन गरिसकेपछि विषय समितिले चाहिँ के हेरेर पास गरेको ? ‘हिजो अध्यक्ष कमरेड घरमै आएर फलानो विश्वविद्यालय तपाईँले समालिदिनुप¥यो, डुब्न लागेको फलानो संस्थानलाई तपाईँले जोगाइदिनुप¥यो भनेर अनुरोध गर्नु भएको छ, काम गरिदिनुपर्ने भए टिमचाहिँ मैले नै बनाउनुपर्छ भन्दै प्रस्ताव राखेको छु । यसमा तपाईँलाई केमा रुचि छ सल्लाह गरौँला’भन्नेजस्ता ललिपप बाँडेको सुन्नमा आएको छ । यदि यो कुरा झुटो हो भने तपाईँहरू यस्तो निरीह हुनुपर्ने बाध्यता के ? यस्ता कथित विषय विज्ञको विद्वत्ताको मूल्याङ्कन भविष्यमा कसरी हुनेछ भन्नेतर्फ कसैको पनि ध्यान गएन ? यस सन्दर्भमा विषय समितिका सदस्यहरूको पनि जबाफ चाहियो । यसको तयारीमा संलग्न विज्ञहरूको समूहले नेपाली भाषा साहित्यका पाठक तथा कलिला विद्यार्थीलाई दिन खोजेको सन्देश के हो ? उनीहरूको धारणा पनि तुरुन्त सार्वजनिक गरियोस् ।

८. हाम्रा केही साथीहरूले अनौपचारिक भेटघाटका क्रममा ‘सर, यो त अति भयो, भोलि विरोध आउन सक्छ त्यसले तपाईँलाई अनि सुधा म्यामलाई पनि राम्रो गर्दैन’ भन्ने विचार राख्दा रमेशजीले ‘यस कुरामा तिमीहरूले चिन्तै लिनुपर्दैन, प्रज्ञा प्रतिष्ठानसँग मिलेर काम हुँदैछ, अब यहाँ तिमीहरूले नसोचेको भुईँचालो, आँधी तुफान आउँछ र तिमीहरूले आजसम्म श्रद्धा गरेको व्यक्तिको प्रतिष्ठा कसरी धूलिसाथ हुन्छ र ऊ कहिल्यै उठ्न नसक्ने गरी माटो मुनि पुग्छ अनि साराको ध्यान त्यतै केन्द्रित हुनेछ हेर्दै जाऊ, यो तिमीहरूको चिन्ताको विषय होइन’भन्ने आशयका कुरा गरेका थिए । त्यसको केही समय बित्न नपाउँदै षड्यन्त्रमूलक ढङ्गले कसैले पनि नपत्याउने खालका आरोप लगाएर लुइटेलको चरित्रहत्याको शृङ्खला सुरु भएको हो । रमेशजी, यो कुरा गलत हो भने हामीलाई चित्त बुझ्ने गरी आफ्ना धारणा सार्वजनिक गर्नु तपाईँको नैतिक जिम्मेवारी भित्र पर्छ कि पर्दैन ? तसर्थ यस विषयमा तुरुन्तै आफ्नो अवधारणा सार्वजनिक गर्नुहोस् । रमेशजी, यसरी पुरेत पनि आफै जजमान पनि आफै भएर यसरी नाङ्गो नाच नाच्दा त्यसबाट उत्पन्न हुने विद्रूप स्थिति अनि लोकलाजको ख्याल भएन नि ?

९. अहिलेसम्म खासै प्रतिक्रिया नआएको ठानी रमेशजी ढुक्क हुनुहुन्थ्यो तर सम्बन्धित विषयविज्ञले यसबारे सामाजिक सञ्जालमा छलफलको ढोका खुला गरिदिएकाले रमेशजी होसहवास गुमाएर नग्न नृत्य देखाउन तम्सिएका हुन् भन्ने यथार्थ सबैतिरबाट पुष्टि भइसकेको छ ।

 

१०. विषयविज्ञले छलफलको ढोका खुला गरिदिएपछि आफ्नो विचार अभिव्यक्त गर्ने साथीहरूलाई फोन एवं मेसेन्जरमार्फत ‘भोलि सरकारी जागिर खानु छैन ? दुर्गममा सरुवा गरिदिऊँ ?’ जस्ता धम्की रमेशजीले दिन थालेको कुरा हाम्रो जानकारीमा आइसकेको छ ।

११. एउटै तहका हरेक कक्षामा तपाईँकी पत्नी पढाउनलाई तपाईँकी पत्नी मात्र महान् भएको पुष्टि गर्नुहोस् । यो हाम्रो भेलाको मात्र नभएर देशभरिका शिक्षकहरूको आक्रोश हो । रमेशजीले पदीय एवं नैतिक जिम्मेवारी लिएर सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावकलाई चित्तबुझ्दो उत्तर दिनु पर्छ कि पर्दैन ?

१२. अन्य नेपाली साहित्यकारले पाठ्यक्रममा समावेश गर्नसकिने उल्लेखनीय तथा स्तरीय रचना लेख्नैसकेका छैनन् भनेर पुस्तकमा नाम जोडिएका लेखकलगायतका विज्ञ समूहले पुष्टि गरिदिनु पर्छ कि पर्दैन ?

अब शिक्षकको हकहित गर्न खुलेका सङ्घसंस्था एवं शिक्षा मन्त्रालय तथा पाठ्यक्रम विकास केन्द्रलाई हाम्रो आग्रह —

१. शिक्षकका नाममा खुलेका अनेक सङ्घसंगठनले पाठ्यपुस्तकमा गरिएको यस प्रकारको ज्यादतीको पराकाष्ठाबारे तुरुन्त आफ्नो साङ्गठनिक धारणा सार्वजनिक गरोस् ।

२. माध्यमिक शिक्षाको गुरुत्तर जिम्मेवारी लिएको नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रजस्तो जनताको करमा सञ्चालित सरकारी संस्थाले परिवारवादको प्रभावमा परेर यति घृणित र लज्जास्पद काम गर्नुपर्ने स्थितिबारे सर्वसाधारणले बुझ्ने भाषामा यसबारे आफ्नो आधिकारिक धारणा तत्काल सार्वजनिक गरोस् । पाठ्यक्रममा ज्यादतीको यति पराकाष्ठा त उहिलेको शक्तिशाली दरबारले पनि देखाएको थिएन । त्यस बेला महेन्द्रमाला पढ्ने साथीहरूलाई सम्झना हुनुपर्छ यति निर्लज्ज तरिकाले त मविवि शाह र चाँदनी शाहको समेत भजन गाउन बाध्य पारिएको थिएन ।

पाठ्यक्रम विकास केन्द्रले पनि हामीलाई चित्तबुझ्दो जवाफ देओस् ।

३. लगभग डेढ दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा विषय समितिको अध्यक्ष राखिनुको कारण उनकी पत्नीलाई महान् लेखक प्रमाणित गराउनकै लागि हो ? सुधा त्रिपाठीजस्तो ठुलो साहित्यकार नेपाली धर्तीमा अरू नजन्मैकै हुन् त ? जसका रचना एकपछि अर्को गर्दै प्रत्येक कक्षामा पढाउनै पर्ने बाध्यताको सिर्जना गरियोस्, अनि कलिला विद्यार्थीले प्रत्येक वर्ष एउटै व्यक्तिको प्रशस्ति गाइरहनु परोस् ।

४. लेखकको समूहमा समाविष्ट व्यक्तिले जस्तासुकै मनोमानी गर्न पनि पाइने व्यवस्था अहिलेको पाठ्यक्रमले गरेको हो ? हो भने कतिसम्म गर्न सकिने हो, जानकारी दिनुपर्यो । कि सत्ता र शक्तिको आडमा विद्वत्ता लम्पसार पर्नैपर्छ भन्ने सन्देश प्रवाह गर्न खोजेको हो ? यस सन्दर्भमा शिक्षा मन्त्रालय तथा पाठ्यक्रम विकास केन्द्रले रमेश भट्टराईकी पत्नी सुधा त्रिपाठी यस देशकै महान् व्यक्ति तथा उत्कृष्ट साहित्यकार हुन् अरू सब झारपात भनेर पुष्टि गरोस् अन्यथा हामीलाई चित्त बुझ्ने गरी आफ्नो आधिकारिक अवधारणा सार्वजनिक गरोस् ।

आदरणीय शिक्षक साथीहरू,
यसरी विषय विज्ञले आफ्ना असन्तुष्टिहरू सार्वजनिक गर्दा पनि पाठ्यक्रम विकास केन्द्रले ध्यान नदिई आधिकारिक धारणा सार्वजनिक नगरेमा हाम्रा आगामी कार्यक्रमहरू सार्वजनिक गर्नेछौँ । माध्यमिक शिक्षकहरूको अभियानमा सामेल हुन हामीले एउटा मेसेन्जर ग्रुप बनाएका छौँ । हाम्रो अभियानमा साथ दिन चाहने साथीहरू हामीसँग जोडिनु होला र आफ्ना विचार र दृष्टिकोण स्वतन्त्रपूर्वक राख्नुहोला, हामी छलफल गरौँ र निष्कर्षमा पुगौँ । यस समूहमा रमेश एन्ड कम्पनीका चम्चाहरूलाई कुनै स्थान नभएको कुरा पहिले नै हामी स्पष्ट पार्छाैं । कसैले बदनियतवश प्रवेश गरेर हामीले सार्वजनिक गर्नु अगावै हामीबिच भएका सरसल्लाह र आगामी कार्यक्रमको रूपरेखा बाहिर आयो भने त्यसको पूजा गर्न हामीले पनि जानेका छौँ ।

अहिले विद्युतीय सञ्चारको युग भएकाले विद्युतीय सञ्चारकै प्रयोग गरेर सर्वप्रथम शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रलगायतका अन्य संस्थालाई ज्ञापन पत्र दिएर हाम्रो अभियान सुरु गर्छौँ । यसलाई शिक्षा मन्त्रालय तथा पाठ्यक्रम विकास केन्द्रले बेवास्ता गरेमा दोस्रो चरणमा हामी यी पुस्तकहरू देशभरि नै बहिष्कार गरिदिनेछौँ । यसमा हामीलाई कुनै अप्ठेरो छैन । देशभरिका विद्यालयमा शिक्षक, विद्यार्थी, अभिभावक, विभिन्न दलका सङ्घ सङ्गठन, स्थानीय शिक्षा सेवी, समाजसेवी आदिलाई भेला गर्छौँ । त्यसपछि उहाँहरूलाई यस्तो विद्रूप स्थितिबारे बुझाएर उहाँहरूकै सरसल्लाह एवं निर्देशनमा कुनै निजी प्रकाशनबाट प्रकाशित स्तरीय पाठ्यपुस्तक पठनपाठन गर्ने व्यवस्था मिलाउँछौँ । आफ्ना कलिला सन्तानलाई बर्सेनि एउटै व्यक्तिको भजन गाउन बाध्य पारिएको यस्तो घृणित दुष्कार्यसँग उहाँहरू पनि सहमत हुनुहुन्न र हाम्रो अभियानलाई साथ दिनुहुन्छ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ । यसरी विद्यालय नै पिच्छे अनेक प्रकारका पुस्तक पढाइँदा देशको शिक्षा क्षेत्र नै तहसनहस हुनजाने सम्भावना प्रबल छ ।

माननीय शिक्षामन्त्रीज्यू, शिक्षासचिवज्यू, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकज्यू,
यस्तो घृणित अवस्थाबाट देशको शिक्षाक्षेत्रलाई जोगाउन तपाईंहरूले उचित भूमिका निर्वाह गर्नुहोस् । यसको बेवास्ता गरिएमा कुनै अप्रिय घटना घट्न गए त्यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार शिक्षा मन्त्रालय तथा पाठ्यक्रम विकास केन्द्र हुनुपर्ने कुरा अवगत गराउँछौँ ।

शिक्षक साथीहरू,
कसैको लोभ, लालच, त्रासमा नपरी हाम्रो यस अभियानलाई साथ दिनुहोस् । हाम्रो यो अभियान रमेशजीले नामबिना नै गरेजस्तो कसैको चरित्रहत्याको नौटङ्की होइन भन्ने कुरा सबैले मनन गरौँ । भविष्यका कर्णधार विद्यार्थी, सिङ्गो शिक्षा क्षेत्र एवं तपाईंहामी देशभरिका शिक्षकहरूको अस्मिताको रक्षाका खातिर हो भन्ने कुरा बुझौँ ।

अन्त्यमा रमेशजी,
हामी माध्यमिक तहमा अध्यापन गर्ने केही साथीहरूले मिलेर खोजतलास गर्दा भाषा आन्दोलनमा लागेका खगेन्द्र लुइटेलको चरित्रहत्या गर्नुपछाडि ठुलो रहस्य रहेको पाइयो । हाम्रो खोजतलास तपाईंहरुले कसैको चरित्रहत्या गर्नाका लागि भ्रम छर्ने उद्देश्यबाट नभई सत्यतथ्यमा आधारित छ । सम्पूर्ण शिक्षाक्षेत्र एवं विद्यार्थीहरूप्रति गद्दारी गर्ने तपाईँ अनि त्यसलाई ढाकछोप गर्ने नियतले तपाईँले गरेका षड्यन्त्रको घैँटो फुटिसकेको छ । यसलाई अब कसरी नियन्त्रणमा लिनुपर्छ त्यो तपाईँको कुरा हो । यसमा हामीलाई भन्नु केही छैन । यसरी आफ्ना करतुतहरूलाई ढाकछोप गर्ने असफल दुष्प्रयास गर्दै यतिसम्म निकृष्ट पाराले आफ्नो धोती खुस्काएर हिँड्ने तपाईँलाई हामी अब काँध थाप्नु त परै जाओस् राम राम पनि भन्न नसक्ने स्थितिमा पुगिसकेका छौँ । लुइटेलका ढाडका जुम्रा गन्ने ध्याउन्नामा आफ्नो होस गुमाइसक्नुभएका तपाईँलाई हामी अब कठैबरी भनेर दया मात्र देखाउन सक्छौँ ।

नेपाली विषय शिक्षक समूह

प्रतिक्रिया