अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१९ | Colorodo: 00:34

परदेशमा बस्ने लाखौँ लाख नेपालीहरूको पिँडा ” याद आउँछ दसैँको ” भन्दै यसरी गाए राम प्रसाद खनालले

बिआरटीनेपाल २०७७ भदौ २० गते १०:१३ मा प्रकाशित

गीत धेरैले लेख्छन् गाउँछन् तर यथार्थमा लोकका मन मुटु छुने गीत लेख्ने गाउने कलाकारहरू अत्यन्त कम हुन्छन् । अझ अहिलेका गीत र कलाकारका के कुरा गर्नु र ! भाइरल बन्नका लागि जे पनि गर्ने कलाकारहरूका बिचमा एउटा यस्ता पनि अग्रज कलाकार छन् जो आफूलाई भाइरल बन्न होइन लोक को मन मुटु छुन गीत लेख्छन् गाउँछन् । उनी हुन वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनाल । उनले भर्खरै नयाँ जन जनको मन मुटु छुने गीत रिलिज गरेका छन् ।

सधैँ अनुशासित र मर्यादित गीतहरू मात्र गाउने, हजुर बा, हजुर आमा देखी बा आमा, छोरा छोरी लगायत सबै परिवार सँगै बसेर हेर्न मिल्ने र सुन्न सकिने गीत गाउने वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालको नयाँ गीत ” याद आउँछ दसैँको ” अमेरिकाबाट रिलिज गरिएको छ ।

परदेशमा बस्ने लाखौँ लाख नेपालीहरूको पिँडा, घर देशमा बस्ने आफन्तहरूको सम्झना र पिँडालाई टपक्क गीतमा उतारेका खनालको यो गीत दसैँका मुखमा प्रकाशित गरिएको छ । हेमन्त कान्छाको सङ्गीत रहेको खनाल को यो गीत परदेशमा बस्ने लाखौँ लाख नेपालीहरूको पिँडा, घर देशमा बस्ने आफन्तहरूको सत्य कथामा आधारित र मर्मस्पर्शी छ ।

विगत १३ वर्ष देखी अमेरिका बस्दै आएका खनाल यहाँ पनि हरेक वर्ष नयाँ नयाँ सिर्जना गर्छन् र गाउँछन् । हाल सम्म उनका ४८ वटा एल्बम, सिडी, भिसिडी र डिभिडी, १२ सय भन्दा बढी गीतहरू प्रकाशित प्रसारित भैसकेका छन् ।

नेपालमा प्राय लोप भैसकेको लोकगीत र दोहोरी गीतलाई जुरुक्क उचालेर देशव्यापी मात्र होइन संसार भर पुर्‍याउने गायक, अभियन्ता भनेर चिनिने खनाल नेपालमा रेडियो नेपाल र नेपाल टेलिभिजनका विशिष्ट श्रेणीका लोक तथा दोहोरी गायक हुन । उनी अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष र नेपालका अग्रज पत्रकार पनि हुन ।

गीत रिलिज गर्दै खनालले भनेका छन् ” तपाईँ दर्शक श्रोताहरू नै मेरो साङ्गीतिक जीवनका भगवान् र न्यायाधीशहरू हुनुहुन्छ । तपाइहरूले मेरा गीत सङ्गीत हेरिदिनुहुन्छ, सुनिदिनुहुन्छ र गाउन मन लाग्छ । परदेशमा बस्ने लाखौँ लाख नेपालीहरूको पिँडा, घर देशमा बस्ने आफन्तहरूको सम्झना र पिँडा, मेरो पिँडा, तपाईँको पिँडा, म र तपाईँ जस्ता हामी सबै सबैको पिँडा गीतमा । विगतमा जस्तै यहाँहरूको माया र साथको लागि विनम्र आग्रह गर्दै मेरो यो च्यानल Subscribe गरिनुहुन पनि सादर अनुरोध छ ।

विदेशको बसाई, घडीको सुई अनुसार चल्नु पर्ने जीवन, त्यस माथि कोरोनाको महामारी । गीत, भिडियो भने जस्तो बनाउन सम्भव भएन यस पटक । बाँचिएछ भने अर्को वर्ष दिल खोलेर गाउने नै छु, बनाउने नै छु । यस वर्षका लागि जे जस्तो भयो कृपया स्वीकारीदिनुहोला । छोरी सुस्माको सहयोगमा बनाइएको भिडियोमा भएका कमी कमजोरी प्रति पहिले नै क्षमा याचना गर्दछु । धन्यवाद । तपाईँ हामी सबैको जय होस । ”

रुन छोड भो कोइली चरी डाली बसी तैले
तैले मात्र रोइस् भने के गर्ने हो मैले ?
याद आउँछ ए आमा ठुलो चाड दसैँको
याद आउँछ ए बाबा गाउँ जाने बसैको !

बाँकी गीत मै सुनिदिनुहोला, हेरिदिनुहोला । तपाईँका लाइक, कमेन्ट, हाम्रा लागि आशीर्वाद हुन खनालले भनेका छन् ।

प्रतिक्रिया