अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४५ | Colorodo: 06:00

राष्ट्रकवि घिमिरे: शिल्प साधना र लालित्यका असाधारण सर्जक

गोपी मैनाली

गोपी मैनाली २०७७ भदौ १४ गते १०:०६ मा प्रकाशित

विषय प्रवेश
नेपाली काव्य साहित्यमा महाकवि देवकोटा र कविशिरोमणि लेखनाथ पौड्यालपछि राष्ट्रकवि माधव घिमिरेको स्थान शीर्ष छ । कवि घिमिरे सिर्जनामा परिष्कार र लालित्यको खोजी गर्छन् । विषयवस्तुलाई सरलभन्दा सरल भाषामा, कलाशिल्पले जलप लगाएर सुन्दर प्रस्तुति गर्दछन् । नेपाली साहित्य सिर्जनामा सबैभन्दा लामो समय सक्रिय योगदान गर्ने प्रतिभा पनि हुन् घिमिरे । एकसय एकवर्षे जीवनमा आठदशकजति निरन्तर काव्य सिर्जनामा समर्पित रहेर दर्जनौँ कृति मार्फत नेपाली साहित्यलाई सेवा गरेका घिमिरे महाकवि देवकोटा पछि जनमानसमा भिजेको कवि हुन् । उनका शोककाव्य, खण्ड काव्य, बाल कविता, फुटकर कविता र निबन्धहरू प्रकाशित छन्, तर शोककाव्य ‘गौरी’ जस्तो प्रिय उनको कृति अर्को छैन । नेपाली साहित्यमा मुनामदनपछि गौरी नै सबैभन्दा बढी पढिएको कृति हो । घिमिरेका आफ्नै सिर्जना मौलिकता छन्, जसले उनलाई नेपाली साहित्य निहारिकामा विशिष्टतामा पुर्‍याएको छ ।

शोककाव्य र कवि घिमिरे
‘गौरी मेरो जीवनको वास्तविकता हो । आफ्ना जीवनका वास्तविकतालाई दुरुस्त लेख्न सकिँदैन, लेखिए पनि त्यो निकै कठिन हुँदो रहेछ । म आशुको दहमा डुबेको बेला साथीहरू र शुभचिन्तकले त्यो दर्द लेख्न सुझाए, मैले त्यसै गरे ।’ कविले धेरै पटक भन्नु भएको छ ‘गौरी’ मेरो आशु हो । कतिपय समालोचकलाई पनि यो भनाइले स्तब्ध बनाएको हुनसक्छ, के अरूको आशुको विवेचना गर्न पाइन्छ ?

आफ्नी जीवन सङ्गिनीको असामयिक निधनमा, त्यो पनि ससाना लालावाला छाडेर जवानी अवस्थामा भएको निधनले कविलाई कति मात्र मर्माहत बनाएको थियो होला, त्यो शब्दमा उतार्न सकिने कुरा भएन । तर त्यो असीम पीडाले कविको जीवनको मोड नै बदलेको भने देख्न सकिन्छ । पीडाको महान् अभिव्यक्ति ‘गौरी’ कविकी अनन्त प्रेमिका बन्न सफल भयो । कविले गौरीलाई जीवन दिए, गौरीले कविलाई कवित्व दियो । त्यसैले कवि भन्ने गर्दथे– ‘कति प्रश्न गर्छन्, मैले गौरीलाई अमर बनाए कि मलाई गौरीले अमर बनायो ?’ दुवैले दुवैलाई अमर बनाए, किनकि प्रेम एकोहोरो थिएन ।

कविहरू शोककाव्यमार्फत निजी पीडा पाठकका मन र हृदयमा हालिदिन्छन् । पाठकहरू मन छुने सिर्जनालाई मन पराउँछन् । पाठकहरू मस्तिष्कलाई मात्र पढ्दैनन्, मनलाई पनि पढ्न रुचाउँछन् । मस्तिष्कलाई पढ्दापढ्दै मनमा आसन जमाउने कुरा पढ्न रुचाउँछन् । सर्जक पीडाहरूको अभिव्यक्तिमार्फत आफ्नो मन हलुको गर्न चाहन्छ । प्रत्येक पीडा वा दुखको क्षण अभिव्यक्तिको मार्ग खोज्छ । ठुलो पीडाले ठुलै मार्ग खोज्छ । गौरी ठुलो पीडा थियो, ठुलो मार्ग खोज्यो । सबै पीडाभोगीसंग अभिव्यक्तिको माध्यम हुँदैन, त्यसैले गुम्सिन्छन् । तर कवि पीडालाई स्वाभाविक रूपमा पोख्छन् र त्यो पीडा सबैको हृदय विदारक अनुभूति भइदिन्छ । गौरी ठुलो पीडाको महान् अभिव्यक्ति हो, जसलाई असङ्ख्य पाठकहरूले मनमनमा बाँडेका छन् । अरूमा पीडा बाँडिदा मनले हलुङ्गो अनुभव गर्छ भन्ने मनोविज्ञान छ । अव गौरी कविको मात्र पीडाभिव्यक्ति रहेन, पाठक सबैको पीडानुभूति बन्यो ।

एकत कविको जस्तो पीडाबोध धेरैले गरेका छन्, अर्को मानव समुदाय अरूको दुखदर्दमा संवेदनशील हुन्छ । त्यसैले सरल भाषा र कलापूर्ण शिल्पमा पोखिएका पीडाले सबै पाठकको मन छोएको छ । ‘गौरी’ को सम्झनामा ससाना छोरीहरूको रुवाइ, हाँसो सवैमा गौरी सापेक्ष अभिव्यक्ति दिन्छन् कवि:

‘यी रोए दुःख लाग्छ यिनले सम्झेको कि आमा भनी
यी हाँसे पनि सुक्ख छैन यिनले बिर्से कि आमा भनी’ ।

गौरीका सबै श्लोकहरू स्वाभाविक छन्, सरल छन्, कलापूर्ण छन् र सवैका मनलाई छुने खालका छन् । कवि कहिले बाल सुलभ भावनामा, कहिले प्रकृति सापेक्षमा त कहिले जीवन जिम्मेवारीमा दुःखलाई पोखिरहेका छन् । त्यसैले शोक काव्यका रूपमा गौरी उच्च कोटिको सिर्जना हो ।
मुनामदन र गौरी हृदय विदारक भावनाका काव्य हुन् । नेपालका कुना–कन्दरा, पाखा–पधेरा, विद्यालय–विश्वविद्यालय, घर परिवार, मेलापात र पर्व जहाँसुकै मुनामदन र गौरी सुनिन्छ, सुनाइन्छ । कतिपय घरमा अक्षर नचिन्ने आमाहरू पनि छोराछोरीबाट यी शोककाव्य सुन्दै रोएका छन् । श्रुतिमा कण्ठस्थ बनाएका छन् र फुर्सदमा संस्मरण गदै आएका छन् । विद्यार्थीहरू पढ्दा, पाठ बुझाउँदा गगल्चिएका छन् ।

यहाँ एउटा प्रसङ्ग राख्न चाहन्छु । राष्ट्रकविले प्रमुख आथित्यता गर्ने एउटा कार्यक्रममा एक सामाजिक संस्थाले मलाई सम्मान गर्दै थियो । जब मलाई सम्मान गर्ने क्रममा जब मैले राष्ट्रनिर्माता र गौरीका श्लोकहरू सुनाए उनी स्तब्ध भए । मलाई लाग्यो, ती श्लोकहरू मैले नसुनाएको भए हुँदैनथ्यो ?

करुणा सान्निध्यमा भाव विनिमय गर्नु शोक कविताको मूल्य हो । भावविह्ल बनाउनु नै शोककाव्यको सफलता हो । यसैले शोककाव्यलाई अजर अमर बनाउने हो ।

शोककाव्यले समाजलाई के गर्छ ? के अरूलाई रुवाउनु मात्र शोककाव्यको कर्म हो ? के निजी पीडाको सामान्यीकरण र सार्वजनीकरण गर्नु हुन्छ ? सर्जकहरू मानव संवेदनाको हिमायती हुन् । संवेदनाको उदात्तीकरणमार्फत मानव समाजलाई माया, प्रेम, करुणा, आत्मीयता दिनु सर्जकको दायित्व नै हो । त्यसैले शोककाव्य कवि मनको विरेचन मात्र होइन, मानव संवेदनाको उदात्तीकरण हो र यसमार्फत मानवीय मूल्यको सन्देश हो ।

शिल्पकारिता र शैली
आफूलाई चित्त नबुझी सिर्जना प्रकाशन गर्नु भन्ने मान्यता राखेका कारण पनि कविका कविता परिष्कृत छन् । सर्जकलाई नै चित्त नबुझ्ने कृतिले पाठलाई न्याय गर्दैन, न्याय गरे पनि कालजयी हुन सक्दैन । त्यसैले कोरिएका कविताहरूलाई शब्द–शिल्पको कारिगरीबाट सुन्दर बनाउने कविका रूपमा माधव घिमिरे चिनिएका छन् । लेख्ने निश्चित समय र परिवेश हुन्छ । त्यही समयमा लेख्दा भावानुभूतिको अभिव्यक्ति गर्न सकिन्छ । तर प्रकाशन गर्नु वा त्यसलाई औपचारिक बनाउनु अघि शब्द, बाँकी, प्रस्तुति, भाषा जस्ता कुरामा परिष्कार परमार्जन गरेर वोधगम्यता, मिठास, माधुर्य बढाउने गर्दछन् परिष्कारवादी सर्जकहरू । राष्ट्रकवि घिमिरे यसका उदाहरण हुन् ।

एउटा उदाहरण प्रस्तुत गर्नु उचित हुन्छ । उनको अप्रकाशित ‘गोविन्द’ महाकाव्य उनी नेपाली भावानुवाद परिषदमा जागिरे भएकै बखत लेख्न थालिएको थियो, जुन समय महाकवि देवकोटा पनि शाकुन्तल महाकाव्य लेख्दै थिए । तर लामो समयसम्म पनि गोविन्द महाकाव्य पूरा भएन । महाकविको शाकुन्तल प्रकाशित भएको दशकौँ बितिसक्यो । तर लेखनीको अन्तिम दिनसम्म पनि कविले ‘गोविन्द’ लाई प्रकाशनयोग्य ठान्नु भएन । कविको सन्तोषले महाकाव्य प्रकाशन भएन, यो महाकाव्यप्रति अन्याय पनि हुन सक्छ । तर सिर्जनालाई सकेजति परिमार्जन गर्नु कवि धर्म हो ।

काँटी, छाँटी शब्दलाई सुन्दर र प्रस्तुतिलाई सरल बनाएर सबैको मन जित्न सकिन्छ भन्ने स्वयम् प्रमाण हुन् राष्ट्रकवि । उनका ‘गौरी’ हेरौँ कि राष्ट्रनिर्माता वा बाल कविताहरू नै । निकै सरल, सुन्दर, मीठा, गेयसुलभ र अनुप्रासयुक्त छन् ।

कविशिरोमणि लेखनाथ पौड्यालजस्तै शब्द लालित्य र शिल्पमा राष्ट्रकवि घिमिरे अव्वल छन् । कवि आफ्ना कविताका प्रत्येक श्लोकहरूमा लालित्य र मिठास भर्न चाहन्छन् । त्यसैले परिमार्जन नगरी कवितालाई अन्तिम रूप दिँदैनन्, प्रकाशन गर्दैनन् । पाठकका लागि निकै राम्रा ठहरिसकेका श्लोक पनि उनका लागि राम्रा नलाग्न सक्थे । किनकि कविको मन र मस्तिष्क दुवैलाई एकसाथ उत्तिकै पोख्न चाहन्छन् । ‘ऋतम्भरा’ महाकाव्यले प्रकाशनका लागि लामो समय कुर्न परेको पनि यही कारण हुनसक्छ ।

राष्ट्रकविको मान्यता थियो –लेखनीमा एउटा ध्वनि आउनु पर्छ, दृश्य झल्कनु पर्छ । त्यै ध्वनि र सादृश्यतामा कविताका पाठकहरू भूगोल र भावका यात्रा गर्छन् । त्यसपछि कविताले गतिशीलता पाउँछ । आफ्ना मान्यतामा राष्टकविका कविता खरो उत्रिएका छन् ।

अर्का शताब्दी पुरुष र उनैसँग काम गरेको संस्कृतिविद् सत्यमोहन जोशीका शब्दमा उहाँका लेखाइ सरल हुन्छ, तर नयाँ नयाँ कुरा दिनुहुन्छ । हो, सरलतामार्फत नयाँ नयाँ कुरा दिने शैलीले नै कविले जनताको मनभित्र आसन जमाउन सकेका हुन् ।

राष्ट्र प्रेम र राष्ट्रकवि
राष्ट्रियताको आधारभूमि स्थानीयता हो । आफ्नो जन्मथलोको मायाबाट देशभक्तिको बीजारोपण हुन्छ, भाषा, संस्कृति र रीतिथितिको अन्तरवोधले राष्ट्र प्रेम जगाउँछ । राष्ट्रकवि माधव घिमिरेको राष्ट्र प्रेम राष्ट्रनिर्माता खण्डकाव्यमा मात्र पोखिएको होइन, अन्य फुटकर कविता र गीतहरूमा प्रगाढ देखिएको छ । राष्ट्र आफूभन्दा माथि, स्वार्थभन्दा माथिको विषय भएको सन्देश कविता मार्फत दिन पुग्छन् ।

‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे’ ।

कविको प्रकृति अनुरागी चरित्रले पनि राष्ट्र प्रेमलाई समृद्ध बनाउने गर्दछ । प्रकृति सापेक्षमा, प्रकृतिका भाषा र बिम्बमा देशभक्ति, राष्ट्रियता र मानवता समागमीत बनाउने चेष्टा कवितामा पाइन्छ । तर उनको राष्ट्र प्रेम गोपालप्रसाद रिमालको जस्तो रगत उमाल्ने खालको नभई हृदयिक छ । जस्तो कि:
‘आइ कैल्ये पनि नसकिने चैत वैशाख मेरो
लाई कैल्ये पनि नसकिने प्रीति नौलाख मेरो ।

बाल साहित्य र राष्ट्रकवि
कविहरू बाल सुलभ प्रकृतिलाई कवितामा उतार्न चाहन्छन् । उनीहरूलाई थाहा छ, बालबालिकाका अबोध र निश्छल मन मस्तिष्कलाई सिर्जना र मानवीय मूल्यको सन्देश दिएर नै मानव सभ्यतालाई युगयुग बचाउन सकिन्छ । कविले बाल बालिकाका लागि लेखेका अनगिन्ती कविताहरू घाम–पानी, बालकुमारी, जिरेल र बिजुला, बाला लहरी, सुनपंखी चरी आदि पुस्तकमा समावेश छन् ।

कवि बालकविता मार्फत प्रेम, वात्सल्य, कल्पना, सिर्जना, मानवता, बन्धुत्व र असल संस्कारको सन्देश दिइरहेका छन् । बालमन निश्छल प्रकृति हो । बालमन नै सिर्जना र विनासको कारण बन्न सक्दछ । कविमन बालबालिकालाई संसारको सुन्दर निर्माण÷विनिर्माणमा लगाउन चाहन्छ ।
गौरी काव्यको सिर्जनामा पनि कविले बाल सुलभ कुराहरू उल्लेख गरेका छन्, तर ती करुणा र पीडामा थिए । अन्य बाल कवितामा भने कवि बालमनोभावनालाई हौस्याउन, सिर्जनामा लगाउन र मनोरञ्जन गराउन तल्लीन छन् । प्रकृति र प्रेम बालकविताका देखिने विशेष गुण हुन् । जस्तो कि सुनपंखी चरी, घामपानी आदि ।

स्थानीयता र कवि कर्म
सर्जकहरू आफ्नै परिवेश र प्रकृतिबाट प्रोत्साहित हुन्छन् । प्रकृति र त्यहाँको जीवनशैली नै कला कर्मको स्रोत हुन्छ र सिर्जनामा त्यो प्रत्यक्ष–परोक्ष पोखिइरहन्छ । राष्ट्रकवि पनि त्यसबाट अछुतो छैनन्, बरु झनै प्रखर छन् । कविले आफैले भनेका थिए ‘म त पहाडको एउटा गाउँबाट उडेर तल झरेको सिमलको भुवा हुँ । सेता भुवा जस्तै मेरो नाम पनि सेते’ । यस भनाइले कविको स्थानीय परिवेश र प्रकृतिप्रतिको अनुरागलाई प्रतिविम्वित गर्छ ।

कविले अर्को प्रसंगमा भनेका थिए–‘मर्स्याङ्दीको सुसेली र उतैको ध्वनिले छोपिएर म पनि कवि भए । अचम्म धेरैले चिन्ने र सहजै बुझ्ने खालको कवि भए’ । प्रकृति आफै सरल हुन्छ, ग्रामीण परिवेश अझ नै सरल हुन्छ । त्यसैले कवितामा मर्स्याङ्दी, गण्डकी हुँदै नेपालको स्थानीयताका मौलिक चित्रहरू, भावभङ्गी र जीवनशैली पाइन्छ । हिमाल टल्किएको, मर्स्याङ्दी सुसाएको, वनस्पति बयेलिएको, चराचुरुङ्गी चिरविराएको भावध्वनि र दृश्य देखिनु कविको स्थानीयता र प्रकृतिप्रतिको प्रेम हो । उनी प्रकृतिप्रेममा चुर्लुम्म छन्:

‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरा
हिमालचुली मुन्तिर पानी भर्ने पधेरा’ ।

बगिरहेको खोला झैँ सलल्ल बग्ने शैलीमा कविले कविता लेखिरहेका छन् । कविताका अक्षरले प्रकृतिको दृश्य र आवाजलाई पछ्याएको छ । जसरी महाकवि देवकोटाका कवितामा त्यो अनुभूति गर्न सकिन्छ ।

प्रिय गीतकारका रूपमा घिमिरे
राष्ट्रकवि घिमिरे जनतामा रुचाइएका गीतकार हुन् । हुनतः उनका सबै कविता गेयसुलभ, मिठासयुक्त र मनछुने खालका छन् । उनका ‘मालती मंगले’ लगायत आठवटा गीति नाटक छन् । सबै गीति नाटकहरू पठन र मञ्चन दुवैतिर उत्कृष्ट देखिएका छन् । ‘मालती मंगले’ शब्द, स्वर र सङ्गीत संयोजनको उत्कृष्टताका कारण प्रज्ञाप्रतिष्ठानको प्रेक्ष्यालय महिनौँसम्म खचाखच भएको थियो ।

राष्ट्रकविका धरै गीतहरू श्वरांकनमा छन्, जसमध्ये ‘आजै र राती के देखे सपना..’, ‘फूलको थुँगा बहेर गयो…’, ‘सारङ्गी त रेटेपनि…’, ‘गाउँछ गीत नेपाली…’, ‘नेपाली हामी रहौला कहाँ…’ जनमानसले धेरै रुचाएका गीतहरू हुन् । गीतहरू भावपूर्ण हुनुपर्छ, गीतमा प्रकृति र जीवन थाहै नपाउने गरी उठाइएको हुनु पर्छ, गीति श्वराङ्कन गर्दा स्थायी अन्तरा यसरी मिल्नु पर्छ कि ती विशाल समुद्रका बिचदेखि किनारासम्म लखेटालखेट गर्ने तरङ्गजस्ता हुन्, जो

पूर्ण भेट पनि हुँदैनन्, तर नपछ्याई पनि रहन सक्दैनन् । राष्ट्रकविका गतिमा त्यो पाइन्छ ।
उनका गीतमा सरलता, मीठासता र हार्दिकता पाइन्छ । त्यसैले ती सुन्दैमा मन छुन पुग्छन्, हृदयमा आसन बसाउँछन् । प्रकृतिसँग बयेलिएका छन् । राष्ट्रकविका धेरै राष्ट्रिय गीतिहरू विद्यालयका कक्षा गीत भए, विश्वविद्यालयका पहिचान गीत बने । अरू गीतहरू प्रेम र प्रकृतिका ढुकढुकी बने ।

समाज र जीवनवोध
राष्टकविका कविता कर्ममा समाज बोलेको छ, जीवन उत्रिएको छ । एक शताब्दी जीवनको अनुभव गरेका कविका कविता उमेर, परिवेश र प्रकृतिसँगै सीमान्त परिवर्तनमा छन् । युवा अवस्था प्रकृति र प्रणयमा देखिए, युवा अवस्थामा परेको गौरीको पीडाले मानवीय संवेदनालाई कविता मूल्य दिन पुगे । र, प्रौढतामा उक्लिँदै गर्दा जीवनको सर्वाङ्गीण गवेषण साथ विस्तृत दृष्टिकोण राख्न पुग्छन् । पछिल्लो समय कर्म, आदर्श र धर्मप्रतिको जागरूकता प्रखर देखिन्छ ।

‘रो रो बादल हे १ डुलेर दुनियाँ एक्लै निरुद्देश्यमा
भोलि जानु छ शुभ्र शान्त हलुका भई शून्यको देशमा’ ।

तर सबैजसो कविताले जीवनको सपाट बिम्ब उतारेका छन्, जसले आदर्श जीवन, प्रकृतिसम्मत जीवन, सरल जीवन र आदर्श जीवनशैली अवलम्बन गरेर नै जीवनको उद्देश्य पूरा गरिन्छ भन्ने दृष्टिकोण अघि सारेका छन् । उनका कविताको मानिसले तृष्णा, सङ्घर्ष र व्यग्र लालसा राख्दैन । सत्कर्म, संयम र समर्पणलाई जीवन मूल्य मानेको छ । कविता लेखिएको क्यान्भास समाज त्यसैको आधार भूमि हो, जुन प्रकृतिमय छ ।
अधिमूल्यन र अवमूल्यन

नेपालको कुनै सर्जकभन्दा धेरै मान, सम्मान, पुरस्कार र पदवी विभूषणबाट सुशोभित हुने सर्जकका रूपमा राष्ट्रकवि रहेका छन् । उनलाई यी अवसरहरू उपयोग गर्न समयले पनि साथ दियो । एउटा निरन्तर सिर्जना यात्री, जसले भाषा, साहित्यमा थुप्रै योगदान गर्‍यो, उसका लागि यस्ता सम्मान र पुरस्कार प्राप्त हुनु भनेको समस्त साहित्य अनुरागी कै सम्मान हो भन्ने अर्थमा पनि लिन सकिन्छ ।

उनले समाज र राष्ट्रलाई धेरै दिए, समाज र राष्ट्रले पनि उनलाई धेरै दियो । उनका समकालीन साहित्यकारहरूका शब्दमा जीवनकालमा यति ठुलो सम्मान न महाकविले पाए, न त कविशिरोमणिले । उनको देन केवल काव्य सिर्जनामा मात्र होइन, कविताको लोकप्रियता बढाउन उनले गरेको योगदान समकालीन समाजमा अतुलनीय छ । प्रविधिको चाप, पुस्तान्तरको स्वाद, भौतिकवादी समाजको विस्तारले आत्मिक तत्त्वमाथि लगातार हुँदै गरेको अतिक्रमणका समयमा कविताको लोकप्रियता बढाउने काम धेरै ठुलो हो ।

साहित्यमाथि अन्य विधाले अतिक्रमण ग¥यो । आख्यान विधा बाहेक अन्य विधा अस्तित्व रक्षाको सङ्कटमा थिए (र छन्) । कवितामा पनि छन्दोबद्ध पद्य कविता निकै सङ्कटमा छ । यस अवस्थामा राष्ट्रकविले गौरी, धर्तीमाता, राजेश्वरी घामपानी जस्ता दर्जानौ कृति नेपाली समाजलाई दिएका छन् । सय वर्ष काटिसकेपछि पनि ऋतम्भरा पूरा गर्दै थिए । त्यसैले उनले पाएका सबै प्रज्ञा पुरस्कारसम्मका पुरस्कार, नेपाली भावानुवाद परिषददेखि प्रज्ञा प्रतिष्ठान सम्मको नियुक्ति, सम्मानार्थ रथीदेखि राष्ट्रकवि सम्मका सम्मानमात्र होइन, सामाजिक तथा गैरसरकारी क्षेत्रबाट प्रदान गरिएका सबै सम्मान, पुरस्कार, कदर, पदवीहरू सामान्य लाग्न सक्छन् । तर सबैभन्दा ठुलो सम्मान जनताको हृदयको स्थान र ईश्वरले पनि चोखे नलगाएको सताव्दीसम्मको जीवन नै हो भन्न सकिन्छ । त्यसैले योगदानका सापेक्षमा कति सम्मान पर्याप्त वा कति उचित भन्ने प्रश्न सच्चा साधकका लागि गौण कुरा हो । न सच्चा साधक पुरस्कार र सम्मानका खातिर भौँतारिन्छ नै । हामीजस्ता सामान्य मानिसका आखाले हेर्दा पनि राष्टकविलाई राज्यले उपलब्ध गराएको सेवा र सम्मान पर्याप्त भएको महसुस स्वयम् कविले पनि गरेको हुनुपर्छ ।

तर नेपालमा अधिकांश कवि, कलाकारलाई लाग्ने गरेको आरोप उनीहरू जनता र दीन दुखीको मुक्ति र परिवर्तनका विषयमा बोलेनन् भन्ने छ । अथवा यसरी भन्न सकिन्छ, धेरैजसो सर्जकहरू सत्ता र सुविधाको वरिपरि रहन्छन् भन्ने छ । कवि माधव घिमिरे पनि यो आरोपबाट निरपेक्ष रहन सकेनन् । पञ्चायती शासन व्यवस्थाका विरुद्धमा साहित्यकारहरुले गरेको सडक कविता क्रान्तिमा धेरैजसो कवि कलाकारहरू असंलग्न रहे । राजाको प्रत्यक्ष शासनका समयमा त्यस विरुद्ध भइरहेको जनआन्दोलनमा पनि वरिष्ठ कवि कलाकारहरू निरपेक्ष रहे । त्यति मात्र होइन, कतिपय सर्जकहरू पञ्चायतको समयमा पनि ‘पञ्चायतको चाहना, शान्ति र सिर्जना’ मा लागे । सत्ता र शासनको प्रतिरक्षमा कवि कलाकारहरू लाग्नु हुन्न, बरु जनताका परिवर्तन र मुक्तिका खातिर सिर्जना गर्नु युगीन दायित्व हुन आउँछ ।

कविवर माधव घिमिरेलाई शाही सरकारले राष्ट्रकवि पदवी दियो, राष्ट्रगानको प्रतियोगिता, जहा उनीभन्दा कनिष्ठहरू प्रतियोगी थिए, मा प्रतियोगी हुन मिल्थ्यो ? भन्ने प्रश्न पनि नउठेको होइन ।

साहित्यकार श्यामलले एक समारोहमा भनेका थिए, तपाईँले देशभक्ति लेख्नु भयो, प्रेम लेख्नु भयो, साधारण भाषामा असाधारण भावधारका गीत लेख्नु भयो । तर एउटा कुरा लेख्नु भएन, मेरो गुनासो छ । अरू धेरैको पनि गुनासो वा आग्रह रहन सक्छ । श्यामलकै शब्दमा ‘मेरो पुस्ताले स्वतन्त्र जीवनका लागि लडेको समयको, लोकतन्त्रका लागि गरेको सङ्घर्षको, त्यसचरम यातनाको कुरै लेख्नु भएन’ ।

अरू धेरैको गुनासो हुनसक्छ, प्रविधिले रमाएको पुस्ताको, ईश्वरीय शक्ति मानिस आफैले खिचेको पुस्ताको, सामाजिक सहभाव र असमानता फराकिएको पुस्ताको चिन्ता, चिन्तन र चुनौती लेख्नु भएन । अस्वस्थामामा आणविक आतङ्कको थोरै उल्लेख गरे, तर लेख्न पर्ने, लेख्न सकिने, समाजलाई भन्नैपर्ने कुरा लेख्न बाँकी भए ।

अर्को आयामबाट पनि हेरौँ, तर के पाठक वा समीक्षकले सर्जकलाई यसो लेख वा उसो लेख भनेर आग्रह राख्न पाइन्छ ? त्यसो गरे कविको कवित्व र निजत्व खतरामा पर्दैन ? लेखकीय स्वतन्त्र उसको स्वच्छन्द उच्छवास हो, त्यो स्वतन्त्रतामाथि अरूले प्रत्यक्ष वा परोक्ष धावा बोल्न पाइन्छ ? के सर्जकहरूलाई आग्रहको भरिया बनाउन हुन्छ ? महाकवि देवकोटा वा बङ्गाली भाषाका महाकवि रवीन्द्रनाथ ठाकुरले त्यो आग्रह पूरा गरे ?

तर भन्न सकिन्छ, पाठक आग्रही बन्न नपाए पनि अपेक्षी बन्न पाउँछ । र, फेरि पनि भुल्नु हुन्न कवि कलाकारहरू राष्ट्रका गहना हुन्, राजनैतिक व्यवस्था वा विचारका भरिया होइनन् । जनताका मनमा वस्न र जनताको सुख खोज्न कविहरू स्वतन्त्र उच्छवासमा रहन पाउँछन् ।

उपसंहार
शताब्दी बाच्ने व्यक्तिमा युगवोध र अनेकन अनुभूति हुनु स्वाभाविक हो । एकसाथ चार पुस्ताको अनुभव सँगाल्ने अवसर पाएका कविमा पुस्तान्तरको प्रभाव होला । प्रविधि र प्रकृतिमा भएको परिवर्तन बोध पनि गर्न पाइने नै भयो । यति लामो अवधिको जीवन भोग गर्ने अवसर पाउने व्यक्ति कालजयी हुनैपर्छ । किनकि समयचक्र र यसका उतारचढाव, यससंगै मानवीय स्वभावमा आएका परिवर्तन र समाज विकासक्रमले सर्जकलाई समयवोधी हुन सिकाउँछ नै, यदि उसले समयलाई नियालिरहेको छ भने । गौरी जस्तो उत्कृष्ट प्रभाव छाड्ने कृति लेखिसकेपछि पनि लगातार ६ दशकसम्म कति स्वाद फेरियो, कस्ता स्वादका पारखी आए, कसरी समाजको स्वाद टिपेर समाजलाई सन्देश दिन सकिन्छ भन्ने समयवोध लिने अवसर कविले पाएका छन् । त्यो समयवोध कविता, काव्यकर्मका शिल्प र शैलीमा फरक भएका छन् । भंगेरा भंगेरी हेरेर रमाउने बालक अव त आइप्याड र अरुधेरै ग्याजेटमा खेल्न थालेको छ । टालाटुली र गुलेली दिने आमावुवा पनि आफ्ना गजेटहरु पस्किन थालेका छन् । पाखा पखेरामा घन्किने मालती मंगले रेमिक्समा देखिन थालेको छ । त्यति मात्र होइन, ठुलो समुदाय परिवर्तन र प्रविधिसंग समावेशी छैन, पहूच र सामर्थ्यमा छैन । काव्यकर्ममा समयवोध रहेमा मात्र कला कालजयी बन्ने हो । कवि यसमा चनाखै छन्, प्राप्त अवसरको उपयोग पनि सकेजति गरेका छन् ।

अन्तमा भन्नु पर्दा कर्ममा होइन, सिर्जनामा मोक्ष देख्ने कवि घिमिरे सिर्जनामा मोक्षित भएका छन् । कविका कवितामा हिमाल पहाड, नदी झरना, बन वनस्पतिको सुन्दर चित्रण छ । दुख, करुणा र उत्साह पोखिएको छ, लालित्य प्राञ्जल लेपिएको छ । राष्ट्रियता गुन्जिएको र बन्धुत्व गहिरिएको छ । त्यसैले राष्ट्रकवि कालजयी छन् । महाकवि देवकोटा पछि सबैभन्दा लोकप्रियतामा छन् । उनका कालजयी, मार्मिक र जीवनवोधी अभिव्यक्तिले हामीलाई सत्मार्गमा घचघच्याइ रहेको छ, ’मान्छे हो किन हाँस्छौ हृदयमा आँसु लुकाइकन’ ।

 

-क्षितिज मार्ग, शंखमूल, काठमार्डौ ।

 

इति

प्रतिक्रिया