अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६ | Colorodo: 08:01

चीनको आदेशपछि चेङ्गदू वाणिज्य दूतावासबाट अमेरिकी कूटनीतिज्ञ बाहिरिए

बिआरटीनेपाल २०७७ साउन १२ गते ६:४८ मा प्रकाशित

चीनको दक्षिण– पश्चिमी शहर चेङ्गदूमा रहेको अमेरिका वाणिज्य दूतावासका कूटनीतिज्ञहरुले चीन छोड्दै छन् । चीनले चेङ्गदूमा रहेका अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दिएकाले त्यहाँका कूटनीतिज्ञ त्यहाँबाट बाहिरिएका हुन् । चीनले सो वाणिज्य दूतावास बन्द गर्नका लागि सोमबारसम्मको समय दिएको थियो । चेङ्गदू वाणिज्य दूतावासका कर्मचारीहरुले बक्स, फाइल तथा अरु सामग्रीहरु ओसारिरहेको देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

वाणिज्य दूतावास बाहिर चिनियाँ झण्डासहित स्थानीय बासिन्दा भेला भएका थिए । उनीहरुले सेल्फी खिचेका थिए । अमेरिकाले टेक्सासको ह्युस्टनमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्न भनेपछि त्यसको जवाफमा चीनले पनि चेङ्गदूमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न भनेको थियो ।ह्युस्टनको वाणिज्य दूतावास छोड्नका लागि अमेरिकाले ७२ घण्टाको समय दिएको थियो, जुन शुक्रबार सकियो । सो भवनमा अमेरिकी अधिकारी पसेको पत्रकारहरुले बताएका छन् ।

चीनले वाणिज्य दूतावास मार्फत अमेरिकाको बौद्धिक सम्पत्ती चोरी गरेका कारण यस्तो कदम चालिएको अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले बताउनुभएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेन्बिनले अमेरिकी आरोप तथ्यको तोडमोड गरी चीन विरोधी भावना अनुसारको रहेको र यसमा कुनै सत्यता नरहेको बताउनुभएको छ ।

विश्वका दूई ठूला शक्ति राष्ट्र अमेरिका र चीनबिच विभिन्न विषयलाई लिएर पछिल्लो समय तनाव उच्च भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कोरोना भाइरसको महामारीबारे सुरुमा जानकारी नदिएर वा सुरुमै नियन्त्रण नगरेर अहिलेको विश्वव्यापी महामारीको अवस्था आएको पनि आरोप लगाउने गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू