अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३ | Colorodo: 06:18

स्वर्गको सवारी

डा. किशोर सापकोटा ‘मणि’ २०७७ असार १२ गते २१:१२ मा प्रकाशित

जीवनको २० वर्ष पुरै राजनीति गरेर कमाएको सम्पत्तिले करण चन्द्र माने कमरेड केसीले देशका दुइटा राज्यमा एक एक वटा घर ठड्याएको थियो । अरू दुई वटा राज्यमा पनि आलिसान वङ्ला बन्दै थिए भने अरू केही ठाउँमा घडेरी मात्र थिए । जिम हल, स्विमिङ पुल देखी लिएर सानदार बगैँचा भएका साढे तिन तल्लाका असाध्य सुविधा सम्पन्न घर थिए । बिस वटा कार अट्ने अन्डर ग्राउन्ड पार्किङ । उसको सानो परिवार मौसम अनुकूल कहिले यता बस्थे त कहिले उता ।

वैशाखको औशींको चतुर्दशीको रात, अमिलो पोखिए जस्तो सहर अन्धकार थियो जताततै । उ आफ्नो विराटनगर स्थित महलमा सुतिरहेको थियो । मध्यरातले अघिल्लो दिनलाई बाइबाई गर्दै अर्को दिनलाई स्वागत गरी सकेको थियो । दुइजना मान्छे झल्झल्लकार डोली लिएर आए र उसको कोठा अगाडी रोकिए । दोस्रो तलामा सुतिरहेको थियो उ, तर पनि कसरी उनीहरू सिधै उसको अगाडी आइपुगे उसले भेउ पाउन सकेन । त्यस्तो चकमन्न अँध्यारो रात उनीहरू आउना साथ यति धेरै उज्यालो भयो की मानौँ उनीहरूले ल्याएको डोलीमा एक हजार वाटको बिजुली बत्ती बलिरहेको छ अनि त्यसले त्यो सहरको सबै अँध्यारो क्वाप्लाक्क खाइदिएको छ ।

खतरनाक पहलमान जस्ता देखिने ती दुइजना मान्छे मध्य मंगोलीयन मूलको जस्तो देखिने एउटाले नाकमा ठुलो नत्थी लगाएको थियो भने इन्डियन मूलको देखिने अर्कोले कानमा मुन्द्रा लगाएको थियो । नत्थे र मुन्द्रेले ल्याएको डोली गाउँ घरतिर विवाहमा बेहुला बेहुली बोक्न प्रयोग हुने चाम्दानी जस्तो आकारको, १८ क्यारेटको सुनले जलप लगाएको जस्तो वा हिराले कुँदेको जस्तो असाध्य चम्किलो थियो ।

मुन्द्रे पहलमानले करण चन्द्रलाई सवारी तीर चोर औला देखाउँदै भन्यो “हिँड यो सवारीमा, हामी तिमीलाई नै लीन आएको ।” “मलाई लीन आएको रे ? तिमीहरू को हो ? मलाई कहाँ जानको लागी लीन आएको ?” करण चन्द्रले अक्मकाँउदै भन्यो । “हामी तिमीलाई हेभनमा लान आएका । यो ठाउँ धेरै टाढा छ , ल हिडीहाल ।” नत्थेले खितखित गर्दै अनि नाक कोट्याउँदै भन्यो । “त्यो देश धेरै टाढा छ रे ? म अहिले जान सक्दिन । मेरो धेरै कारोबार छ, यहाँ । म एकदम व्यस्त छु । मलाई तिमीहरूले चिनेकै छौ होला, म यहाँको सत्ता पक्षको एउटा ठुलो नेता हुँ । अनि मेरो त्यो देशमा जान भिसा पनि त छैन । यदि तिमीहरू मलाई निमन्त्रणा नै गर्न चाहन्छौ भने मेरो सेक्रेटरी सँग कुरा गर भोलि उज्यालोमा आएर । मिल्यो भने म समय मिलाएर सपरिवार छोटो समयको लागी जाउँला । जहाँ गए पनि म सपरिवारै जान्छु । मैले मेरो सानो छोरीलाई त अहिले सम्म एक रात पनि छोडेको छैन ।” करण चन्द्रले डराइ डराइ तर नेताले बोले जस्तो निर्धक्क भएजस्तो गर्दै भन्यो ।

एउटा पहलमानले भन्यो “तिम्रो भिसा आइसक्यो । तिमीले गएको पुष महिनामा लिएको ।” करण चन्द्रले लर्बराउदै भन्यो “पुष महिनामा त मैले कतै भिसा एप्लाइ गरेको छैन । अझ पुषमा म बिरामी भएर अस्पताल गएको थिएँ । लिभर सिरोसिस भएर डाक्टरले अब देखी रक्सी नखानु भनेका छन् । त्यसैले आजकल मैले पार्टीमा बाहेक रक्सी खान पनि छाडिसकेँ । झन् कुनै देशको भिसा एप्लाइ गर्ने त कुरै छैन । तिमीहरू कतै चोर डाँका त होइनौ ? यत्रो गेट पार गरेर कसरी तिमीहरू यहाँ आइपुग्यौ ? मसँग जोक गरेको ? सुन म त्यस्तो खालको मान्छे होइन । तिमीले मलाई चिनेको छैनौ क्या हो, मेरो एक कल फोनको भरमा म लाखौँको जुलुस ल्याइदिन सक्छु, आधा घण्टा भित्र पुरा नेपाल बन्द गराइदिन सक्छु, तिमी जस्तो दुई भुसतिघ ्रे तह लगाउन त मेरो देब्रे हातको खेल हो । तर तिमीहरूलाई अप्ठ्यारो पार्न चाहन्न । तिमीहरू आफ्नो बाटो लागी हाल । नत्र । ” यति बेला सम्म करण चन्द्रको शरीर पुरै पसिनाले भिजी सकेको थियो , मानौँ भरखर उ गङ्गामा स्नान गरेर निस्कँदै छ । पाँच करोडको भ्रष्टाचार गर्नी अनि स्कुलमा पाँच लाख को चन्दा दिएर आफ्नो सालिक राख्न लगाउने कमरेड केसी, आफ्नै पैसा खर्च गराएर पटक पटक जिल्ला जिल्लामा आफ्नो अभिनन्दन गर्न लगाउने करण चन्द्र आज रुजेको बिरालो जस्तो भएर घोसे मुन्टो लगाएर बसिरहेको थियो ।

मुन्द्रेले आँखा राता राता पार्दै भन्यो “हो तिमीले पुष महिना मै भिसा लिएको रेकर्ड छ । तिम्रो मात्र भिसा छ , त्यसैले तिमी मात्र जानु पर्छ , अरू परिवारलाई अहिले लान मिल्दैन , अलि पछि उनीहरू प्नि आँउछन , चिन्ता नलेल ।” करण चन्द्रले निधारमा गाँठा पार्दै भन्यो । “ए नियम नै त्यसो हो भने के गर्ने त ? बरु छिटै फर्कनु पर्ला, कम्तीमा कति दिन बस्नु पर्छ ?” मुन्द्रेले हाँस्दै भन्यो “हा हा हा, अब तिमी सधैँ भरी त्यही बस्ने हो, फर्किन मिल्दैन ।” करण चन्द्र अवाक् भयो । “तिमीहरू जबरजस्त गर्न लागेका छौ । मलाई जान मन छैन भन्दा पनि जान पर्छ भन्छौ । परिवार लिएर सबै जान्छौँ भन्दा पनि हुँदैन भन्छौ , अनि सधैँ उतै बस्न पर्छ भन्छौ । यो त जबरजस्ती भएन र ? देशमा लोकतन्त्र हुँदै गणतन्त्र आइसके पछि पनि यस्तो जबरजस्ती ?”

“तिम्रो लोकतन्त्र, गणतन्त्र तिम्रै मनको बाकसमा राख । हामी तिमीलाई नलगी जाँदैनौं । हामीलाई ढिलो हुन लाग्यो । छिटो गर् । हामीले बल प्रयोग गर्न नपरोस् ।” नत्थे र मुन्द्रेले एकै स्वरमा भने । “ठिकै छ ल म जान्छु तर मेरो व्यापार व्यवसाय कसैको जिम्मा लाउन त देल न । बेचबिखन गरेर पैसा मात्र भए पनि त लिएर जानु पर्‍यो नि । मैले निकै दुख गरेर कमाएको सम्पत्ति त्यतिकै छाड्ने त कुरा भएन नि । यही सम्पत्ति कमाउन मैले आफन्त जन पनि भनिन , नैतिकता पनि भनिन, पाप धर्म केही भनिन, कति पय अवस्थामा अर्काको ज्यान लीन समेत पछि परिन । चोरी डकैती, जाल झेल त कति हो कति । यस्तो दुख गरेर कमाएको अरबौँ सम्पत्तिको मलाई आफ्नो परिवार भन्दा बढी माया लाग्छ । भन्दा भन्दै तत्काल अहिले नै म कसरी व्यवस्था गर्न सक्छु ? मेरो परिवारसँग पनि छलफल त गर्नु पर्‍यो । मेरो पाटीका नेताहरूसँग पनि छलफल गर्नु पर्‍यो । फेरी मेरो राजनीतिक पद पनि त कसैलाई म फर्केर नआइन्जेल को लागी सुम्पने समय त दिनु पर्‍यो नि । कि केही दिन पछि मलाई फर्कन देऊ, होइन भने मलाई यो सबै व्यवस्था गर्ने समय देऊ । ” त्यति भन्दा पनि उनीहरूले केही टेर पुच्छर लगाएका थिएनन् । “म तिमीहरूलाई पोखरा, विरौटा र काठमान्डौ, वानेश्वरको एक एक वटा घडेरी दिने भएं, तिमीहरूको हाकिमलाई पनि भैसेपाटीको आलिसान बङ्गला दिन्छु मलाई यो दुख नदेऊ त प्लिज ।” उसले आँसु उम्कने अन्तिम अस्त्र प्रहार गर्‍यो ।

त्यसपछि त तिनीहरू झन् रिसले आगो बने, अनि आँखा राता राता पार्न थाले । “तैँले हामीलाई घुस खुवाएर प्रभावित पार्न खोजेको, तैँले हामीलाई पनि नेपाली नेता जस्तो भन्ठानेको छस् ? तेरो समय आइसक्यो । हामी अब एक सेकेन्ड पनि पर्खन सक्दैनौ । तैँले हामीलाई तेरो आँखा चिम्लेर सपोर्ट गर्ने कार्यकर्ता जस्तो सम्झेको छस् ? ” भन्दै मुन्द्रेले करण चन्द्रलाई बिस्तारा बाटै चिच्याउन थाल्यो । करण पनि जबरजस्ती फुत्किन कोसिस गर्‍यो । “असती हो म नाङ्गै छु , कमसेकम कपडा त लगाउन देऊ । उ त्यही दराज भरी राम्रा राम्रा, महँगा महँगा फेसनेवल पहिरन हरू छन् । बरु तिमीहरू नै भन म कुन कपडा लगाऊँ” उ एकोहोरो रोइरहेको थियो । उसको निधार बाट पसिना चुहिरहेको थियो, आँखा बाट आँसु बगिरहेको थियो । उसको मुख बाट सजिलै केही पनि आवाज निस्कन सकेको थिएन, मानौँ उसको घाँटी सुकिसकेको छ । उसको नग्न शरीर त्यसै शिथिल थियो , जननेन्द्रिय त्यसै तुर्लुङग झुन्डिरहेको थियो, खुटाहरु मँशपेशी हरुले बनेका होइनन् बरु सिमेन्ट बालुवाले वनेका निर्जीव जस्तै भएका थिए, मानौँ उसले चाहे अनुसार ती चल्दैनन् । तर पनि पहलमान उसलाई जबरजस्ती घिच्याउँधै थियो ।

“कमसेकम मलाई एउटा कटु त लगाउन देउन असती हो, तिमीहरूलाई लाज, सरम, समाजको पनि डर छैन?” उ आँफैले बोलेको आँफैलाई थाहा नपाए जस्तो गरेर वर्वराइरहेको थियो । “तेरो अब एक सेकेन्ड पनि समय छैन, तेरो पेट भोको छ की छैन , कपडा लगाएको छस की छैनस्, पारिवारिक जीवन अनि राजनीतिक जीवन सँग हाम्रो मतलब छैन” भन्दै अर्को पहलमान समेत आएर उसलाई घिसार्न थाले ।
करण बिस्तारामा लडिरहेको थियो । सँगै सुतिरहेकी उसकी श्रीमतीलाई अहिले सम्मको घटना केही पनि थाहा थिएन । उ त मस्त सँग सुतिरहेकी थिई । केही समय पछि व्युझिदा श्रीमानको सबै शरीर भिजेको पत्तो पाइ । “बाबा बाबा” भन्दै हजारौँ पटक बोलाइरही , तर करण के बोल्थ्यो र, उ त अर्कै सन्सारमा पुगिसकेको थियो ।

प्रतिक्रिया