अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

गण्डकी प्रदेश सरकारद्धारा आगामी आर्थिक बर्षका लागि ३४ अर्ब ८४ करोडको बजेट विनियोजन

बिआरटीनेपाल २०७७ असार १ गते ७:०७ मा प्रकाशित

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजारको बजेट सार्वजनिक गरेको छ । पोखरा सभागृहमा संचालित प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बिभिन्न शीर्षकमा विनियोजित बजेट सार्वजनिक गर्नुभएको हो ।

प्रदेश सरकारले चालु तर्फ १४ अर्ब ३४ करोड र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैया बिनियोजन गरेको छ । प्रदेश सरकारले कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँको कोष बनाउने घोषणा गरेको छ । सरकारले कोभिड–१९ बाट मारमा परेकाहरुको रक्षाका लागि १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोषको पनि घोषणा गरेको छ ।

कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएकालाई रोजगारी दिन सरकारले १८ करोड ४२ लाख रुपैयाँ बिनियोजन गरिएको छ । कोरोनापछि स्वरोजगार बनाउन व्यावसायिक तालिमका लागि १९ करोड रुपैयाँ विनियोजन गरेको गुरुङले जानकारी दिनुभयो । कोभिड लक्षित कृषि कार्यक्रमका लागि १८ करोड र पर्यटनमा ५ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र स्थापना गर्ने लक्ष्य बजेटले लिएको छ भने पोखरा सभागृहहलको मर्मत सम्भार एवं स्तरोन्नति गर्न १ करोड विनियोजन गरिएको छ । कृषि क्षेत्र अन्तरगत आलु खेती, चैतेधान, घाँसे उत्पादन, अलैची लगायतका कृषिजन्य उत्पादनको लागि २ करोड बजेट विनियोजन गरिएको छ । स्याउ उत्पादनमा आत्मनिर्भर बनाउन मनाङ र मुस्ताङ लगायतका ठाँउमा बजेटले विशेष जोड दिएको छ । बाली तथा पशुपंक्षी विमाको लागि २ करोड रकम विनियोजन गरिएको छ ।

सबै स्थानीयतहमा मुख्यमन्त्री कृषि कार्यक्रमका लागि ४ करोड २६ लाख विनियोजन हुँदा जेठोबुढो धान प्रवद्र्धन गर्न विशेष जोड दिईएको छ । प्रदेशको रणनीतिक महत्वका सडकहरुको निर्माण र स्तरोन्नतीका लागि ६ अर्ब १७ करोड ३ लाख रुपैया छुट्याईएको छ । बजेटले पोखरा चक्रपथ निर्माणको कार्यलाई निरन्तरता निरन्तरता दिंदै सडक पूर्वाधारको लागि १६ करोड विनियोजन गरेको छ ।

प्रदेश सरकारको बजेटमा पोखरा बसपार्कको स्तरोन्नति गर्ने, लामेआहालमा बसपार्क निर्माणमा जोड दिने लगायतका शीर्षकमा रकम विनियोजन गरिएको छ । प्रदेशका विभिन्न स्थानमा विद्युत पहुँच पुर्याउन १८ करोड र सरकारी अस्पतालमा सोलार जडान गर्न ३ करोड ६० लाख वजेट विनियोजन भएको छ । एक घर एक धाराको अभियानका लागि २ अर्ब र नदी नियन्त्रण र रोकथामको लागि आबश्यक बजेट विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू