अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

यात्राको उचाइ !!

युवराज मैनाली २०७७ वैशाख ११ गते ९:५३ मा प्रकाशित

ऊ कहिले
कसैको झन्डा बन्यो
ऊ कहिले
कसैको डन्डा बन्यो
ऊ कहिले
कसैको गाली बन्यो
ऊ कहिले
कसैको ताली बन्यो
ऊ कहिले
कसैको आश्रय बन्यो
ऊ कहिले
कसैको भऱ्याङ बन्यो !

समय र परिस्थितिका
आदेशहरू पालन गरेर
अरूलाई उठाउन
अरूलाई फुलाउन
जहाॅं जे बन्नुपर्ने हो
ऊ बनिरह्यो, बनिरह्यो !

उचालेकाहरू धेरै माथि पुगे
आकाशमै पुगे
तिनीहरूसॅंग यतिखेर
संवादको सम्भावना नै शून्य छ
ती रमाइरहेका होलान् कतै !

हात समाएर हिँडाएकाहरू
बलिया गोडा टेकेर
कतै जमिरहेका
रमिरहेका होलान् !

माझीले खोला तारेका बटुवाहरू
संसार कहाॅं कहाॅं पुग्छन् ?
बगरमै सिरानी हाल्ने
बिचरा ! माझीलाई के थाहा ?
ती यात्रीहरूको
यात्राको उचाइ !

*
धुम्बाराही, काठमाडौॅं ।