अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 06:40

आमा

अनुजा रेग्मी २०७६ फागुन १८ गते २०:५५ मा प्रकाशित

आमा,
आज परिचय फेरिएको छ
मन फेरिएको छैन ।
संस्कृति फेरिएको छ
संस्कार फेरिएको छैन ।
स्थान फेरिएको छ
भावना फेरिएको छैन ।

आमा,
तिम्रो काखको जति आनन्दको निन्द्रा
संसारको कुनै सुखमा भेट्दिन ।
तिम्रो हातको जस्तो न्यानो
स्पर्श कहीँ कतै पाउँदिन ।

आमा,
तिम्रो पाइला पछ्याउँदा को जति
सुरक्षित
महँगा कारहरूको सफरमा पनि लाग्दैनन्
तिम्रो महसुस बिनाको संसार कतै
सुरक्षित लाग्दैनन् ।

आमा
खान त खाइन्छ नि डिनरमा
पिजा अनि बर्गरहरू
तर छ नि त्यो, भुङ्ग्रो खोस्रेर
सेतो बटुकामा तिमीले बनाइदिएको खिर !
त्यसमा जति मिठास कहीँ पाउँदिन ।

आमा
कति किनेकी छु छोटा स्कट अनि बिकिनीहरू
तर, तिम्रो बिहेको बाहिरी सारी चोरेर
चैते दसैँमा बनेकी बेहुलीमा जति सुन्दर
आफूलाई कहिल्यै पाउँदिन ।

आमा ,
देखावटी कै लागि भए पनि किन्ने गरेकी छु
महँगा स्टोरका अत्तरहरू ।
तर, तिमीले त्यो हाम्रो पुर्ख्यौली दिउरेमा
तताइदिएकी खाँटी तोरीको तेलमा
पड्काएको ज्वानु अनि मेथीको बास्ना
जति मिठो केही लाग्दैनन्

आमा
काला चस्माहरू नकिनेका हैनन्,
तर, दियो बालेर बनाइदिएको
कालो गाजलु आँखामा जति
सुन्दर आफैलाई देख्दिन ।
त्यसैले आमा तिम्रो दुर्दर्सिता अपरम्पार छ ।

प्रतिक्रिया