अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३६ | Colorodo: 13:51

चिठी आमालाई

अनुजा रेग्मी २०७६ मंसिर १० गते २१:४८ मा प्रकाशित

कविता

आमा,
तिमी रोइरहेकीछ्यौ म यहाँ कसरी हाँसु
बुढी भयौ नाना थरी रोगले च्याप्यो
सन्तानहरू परदेसिए
तिमीलाई त बाँच्न पनि गारो भइरहेको छ होला मर्न पनि ।

आमा,
जिउँदाको जन्ती मर्दाको मलामी भन्ने
छिमेकी हरू तिम्रो अवस्था देखेर गदगादी
हुँदै छन् रे ।
आठो मिच्न पाइन्छ भनेर
साँध च्याप्न पाइन्छ भनेर ।

आमा,
तिमी त वीरहरूकी छोरी हौ ।
छिमेकीहरूलाई हाम्रो घरको
कमजोरी नदेखाउनु ।
तिम्रो रोगहरू भन्दै नभन्नु
तिम्रा औषधिका डोजहरू नसुनाउनु ।
मन दरो पार्नु आमा ,
मेरो सम्पत्तिमा मेरै सन्तानको हक लाग्छ भनेर
गर्जिन नछोड्नु ।

आमा,
हामी त तिम्रो लागि खुसी किन्न
पर्देसिएका परदेशी हौ ।
तिम्रो खुसीका लागि जहाँबाट पनि लडिरहन्छु
बोलिरहन्छौ यही कुरा,
हाम्रा वल्ला घरे पल्ला घरे
तल्ला घरे माख्लाघरे
सबैलाई सुनाइदिनु
आठो मिच्न नदिनु आली च्याप्न नदिनु ।
कोही आइहाले भने
साँध नमेटिने गरेर प्राण त्यागिदिनु आमा ।

आमा,
तिम्रा सन्ततिहरूले
त्यही समाधि स्थलबाट
तिमीलाई सम्झिरहने छन् ।
तिम्रै आस्थामा तिम्रो नाम जपिरहने छन् ।
तिमी हाम्रा लागि अमर इतिहास बन्नेछ्यौ ।
हामी पनि तिम्रो साख जोगाइ राख्ने छौ ।

सियाटल, वासिङ्टन

प्रतिक्रिया