अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

कामना फिल्म अवार्ड्सको पाँचौँ संस्करण आगामी पुस १९ गते शनिवार

विदुर गिरी २०७६ मंसिर २५ गते २३:०४ मा प्रकाशित

लाखौँ पाठकको प्रिय सिने मासिक कामनाले नेपाली चलचित्र र चलचित्र कर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी कामना फिल्म अवार्ड्सको पाँचौँ संस्करण आगामी पुस १९ गते शनिवार ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा हुने भएको छ।

यस वर्ष सिजी कामना फिल्म अवार्ड्समा गोदरेज नम्बर वन जोडिएसँगै यो अवार्ड गोदरेज नम्बर वन कामना फिल्म अवार्डस् २०७६ का रूपमा सम्पन्न हुनेछ । सिजी कामना फिल्म अवार्डस्मा गोदरेज नम्बर वन जोडिएसँगै यस वर्षबाट प्रतिस्पर्धात्मक २६ विधाबाहेक एसएमएस भोटिङका आधारमा गोदरेज नम्बर वन पपुलर च्वाईस अवार्डसमेत प्रदान गरिनेछ। गोदरेज नम्बर वन पपुलर च्वाईस अवार्डमा नायिकाहरू वर्षा राउत, सृष्टि श्रेष्ठ, सम्राज्ञी राज्य लक्ष्मी शाह, प्रियङ्का कार्की र स्वस्तिमा खड्का मनोनयनमा परेका छन् ।

कामना कामना न्युज पब्लिकेसन्स्ले आजभन्दा ३६ वर्षअगाडि वर्षमा एउटा चलचित्रसमेत निर्माण नहुने समयमा नेपाली चलचित्र तथा कलाकार र प्राविधिकलाई मान सम्मान एवं सामाजिक प्रतिष्ठा दिलाउने उद्देश्यले कामना सिने मासिक प्रकाशनमा ल्याउने यस अवार्डस्को आयोजक संस्था कामना न्युज पब्लिकेसन्स्का अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठलाई यस वर्ष अकल्पनियरुपमा अल्पायुमै गुमाउनु परेको छ। नेपाली चलचित्र र चलचित्र कर्मीको सम्मानकै खातिर सिजी लक्ष कामना फिल्म अवार्डस् आयोजनालाई अगाडि सार्नुभएका श्रद्धेय प्रधान सम्पादक श्रेष्ठको दुखद निधनका बिच कामना प्रकाशनले उहाँले देख्नुभएको सपना पूरा गर्नका लागि यस वर्ष पनि यो अवार्ड कार्यक्रम आयोजनालाई निरन्तरता दिन लगेको हो । निरन्तर भव्य र सभ्य अवार्ड आयोजना गर्न सकिए अवार्ड आयोजक समितिका निर्देशकसमेत रहनु भएका उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पब्लिकेसन्स्ले लिएको छ ।

कामनाको आयोजना तथा सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने गोदरेज नम्बर वन कामना फिल्म अवार्डस् २०७६ सम्मान चलचित्रको: उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महा उत्सवका रूपमा सम्पन्न हुँदै आएको छ । हरेक वर्षको अवार्डमा झैँ यस वर्षको गोदरेजन नम्बर वन कामना फिल्म अवार्डस् २०७६ मा पनि २०७१ सालमा पहिलो अवार्ड आयोजना गर्नुअघि कामना न्युज पब्लिकेसन्स्ले चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घ संस्था तथा विज्ञहरूसँगको बृहत् र लामो छलफलपछि प्रत्येक प्रतिस्पर्धी विधाका लागि तयार पारिएको मूल्याङ्कन मापदण्डका आधारमा निर्णायक मण्डलले २६ विधामा मूल्याङ्कन गर्नेछ। त्यसै गरी चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली चलचित्रको उन्नयनमा योगदान पु¥याउने एक/एक जना फिल्म कर्मीलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ । त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ ।

सङ्गीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्डसमेत प्रदान गरिनेछ । कामना फिल्म अवार्डस्मा एउटै विधामा १ जनाभन्दा बढी विजयी भए सो विधामा सामेल चलचित्रकर्मीलाई छुट्टाछुट्टै ट्रफी प्रदान गरिँदै आएको छ। उत्कृष्टता, पारदर्शिता र निष्पक्षता भन्ने नारालाई अङ्गीकार गरी आयोजना हुँदै आएको गोदरेज नम्बर वन कामना फिल्म अवार्डस् समारोहमा कुल ३२ विधामा अवार्ड प्रदान गरिनेछ। गोदरेज नम्बर वन पपुलर च्वाईस अवार्डसमेत कुल १५ लोकप्रिय विधामा दर्शकको एमएमएस भोटका आधारमा विजेता चयन गरिँदै आएको छ ।

फायल फोटो