अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४२ | Colorodo: 11:57

जापानी जागिरे महिलालाई चस्मा लगाउन प्रतिबन्ध

बिआरटीनेपाल २०७६ मंसिर ९ गते १२:२४ मा प्रकाशित

रोचक दुनियाँ

जापानका केही कम्पनीले आफ्ना महिला कामदारलाई चस्मा लगाउन प्रतिबन्ध लगाएका छन्। चस्मा प्रतिबन्धको चौतर्फी आलोचना भइरहेको छ।

स्थानीय मिडियाका अनुसार केही कम्पनीले महिला कामदारले चस्मा लगाउन नपाउने नियम लागू गरेका छन्। ती कम्पनीको भनाइ छ– ‘चस्माले महिला कामदारलाई रूखो, ठन्डा र अनाकर्षक देखाउँछ।’ व्यक्तिको के लगाउने, के नलगाउने भन्ने स्वतन्त्र इच्छामाथि प्रहार गरिएको भन्दै चस्मा प्रतिबन्धको विरोध भइरहेको छ।

वायुसेवालगायत केही कम्पनीले भने सुरक्षाका कारण चस्मा प्रतिबन्धित गरेको बताएका छन्। प्रसिद्ध समाचार संस्था बिबिसीका अनुसार जापानका सौन्दर्य तथा फेसन उद्योगहरूले भने महिलामाथि चस्मा प्रतिबन्धलाई उचित ठहराएका छन्। उनीहरूको तर्क छ– ‘चस्माका कारण महिलाको शृङ्गार र मेकअप छोपिन्छ।’

अहिले जापानी सामाजिक सञ्जालमा चस्मा प्रतिबन्धको चर्को विरोध भइरहेको छ। जापानमा कार्यस्थलमा महिलाले लगाउने पहिरन र एक्सेसरिजबारे पटक–पटक विवाद भएका छन्। गत मार्चमा केही कम्पनीले महिला कामदारले शृङ्गार गर्नै पर्ने नियम लगाएका थिए। जसको महिलाहरूले कडा विरोध गरेका थिए। त्यसै गरी, केही महिनाअघि सामाजिक सञ्जालमा महिलाको अनिवार्य पोसाक संहितामा प्रतिबन्ध लगाउनुपर्ने माग राख्दै हजारौँले अभियान चलाएका थिए।

अभिनेत्री तथा स्वतन्त्र लेखक युमी इशिकावाले यो अभियान (जसलाई ‘कुटु’ भनेर चिनिन्छ) को नेतृत्व गरेकी छिन्। उनी अन्त्येष्टि सेवा प्रदान गर्ने एउटा कम्पनीमा आंशिक रोजगार थिइन्। त्यहाँ उनले हाई हिल लगाउनुपथ्र्याे। ‘सधैँभरि कार्यस्थलमा हाई हिल लगाउँदा स्वास्थ्यसम्बन्धी समस्या आउँछन्,’ उनी भन्छिन्, ‘के लगाउने र के नलगाउने भन्ने कुरा व्यक्तिको रुचि र स्वतन्त्रताको विषय हो।’ गत जुनमा जापानी स्वास्थ्य मन्त्री ताकुमी नेमोतोले महिलाका निम्ति कार्यस्थलमा हाई हिल ‘अनिवार्य र उचित’ भएको बताएका थिए।

क्योटो विश्वविद्यालयकी समाज शास्त्री प्रा. कुमिको नेमोतोले बिबिसीसँग जापानी कम्पनीहरूले महिलाको कामभन्दा रूप रङलाई महत्त्व दिने गरेको र सोहीअनुसार नियम लाद्ने गरेको बताइन्। ‘महिलाले कार्यस्थलमा चस्मा लगाउनु हुँदैन भन्नुको कुनै अर्थ छैन,’ उनले भनिन्, ‘यो लैङ्गिक विभेद हो। जापानी कम्पनीहरू महिला कामदारको पहिरन र शृङ्गारमा ज्यादा ध्यान दिइरहेका छन्, उनीहरूको काम र क्षमतामा होइन। यो अत्यन्त दुःखदायी कुरा हो।’ अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू