अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 04:02

नेपाल अफ्रिका फिल्म फेस्टिभल नाचघरमा सुरु

बिआरटीनेपाल २०७६ कार्तिक १७ गते १०:३४ मा प्रकाशित

काठमाडौँ, तीन दिवसीय ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ १६ कात्तिक शनिवारबाट काठमाडौँको जमल स्थित राष्ट्रिय नाचघरमा सुरु भएको छ । यो महोत्सव १८ गतेसम्म बिहान ११ बजेबाट साँझ ६ बजेसम्म नाचघरमै चल्ने छ ।

महोत्सवको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले शनिवार उद्घाटन गरे । विगत ८ वर्षदेखि आयोजना हुँदै आएको यो महोत्सवले नेपाल र अफ्रिकाको सिनेमा संस्कृति आदान प्रदानमा ठुलो योगदान पु¥याउँदै आएको मन्त्री पोखरेलले बताए । अफ्रिकालाई नेपालसँग जोड्ने पुलको रूपमा यो महोत्सव विकसित हुँदै आएको पनि मन्त्री पाखेरेलले कार्यक्रममा बताए । हामीले नेपाली मौलिक सिनेमा र संस्कृतिलाई प्रोत्साहन गर्नै पर्ने सुझाव मन्त्रीले कार्यक्रममा दिए । चाँडै नयाँ शिक्षा नीति आउने जानकारी गराउँदै अबको शिक्षा नीतिले शिक्षामा देखिएका पुराना धेरै समस्यालाई हल गर्ने पनि मन्त्री पोखरेलले जानकारी गराए ।

आयोजक संस्था कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसन (सिजेएमसी)की अध्यक्ष एवम् महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले आफूहरूले आम सञ्चार सम्बन्धी शिक्षा सेवा दिनुका साथै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन र सिनेमा संस्कृति आदान प्रदानको लागि नेपाल अफ्रिका फिल्म महोत्सव आयोजना गर्दै आएको हो भनिन् । उनले आमसञ्चार सम्बन्धी विश्व विद्यालय स्थानको लागि मन्त्री पोखरेलसँग आह्वान पनि गरिन् ।

यस्तै चलचित्र विकाश बोर्डका अध्यक्ष केशव भट्टराईले उद्घाटन समारोहलाई सम्बोधन गर्दै बोर्डले महोत्सव आयोजना गर्न नसकेको बेला सिजेएमसीजस्ता संस्थाबाट यस्तो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुनु सुखद कुरा भएको बताए । चाँडै राष्ट्रिय चलचित्र ऐन आउने र ऐनबाट चलचित्रको विकाशमा टेवा पुग्ने भनाई उनले राखे ।

सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकर देव शर्माले यस्ता महोत्सवबाट चलचित्रकर्मीहरुले कसरी राम्रा सिनेमा बनाउने भन्ने जानकारी पाउने बताए । उनले नेपालका लोक नृत्यलाई संस्कृति संस्थानले स्कुल स्कुलमा पुराउने भएकाले त्यो वातावरण बनाइदिन शिक्षा मन्त्रीसँग अनुरोध गरे ।

यस्तै नेपालका लागि इजिप्टकी राजदूत इम्यान मोस्ताफा, रुवान्डाका फिल्म फेस्टिभल निर्देशक तथा फिल्म निर्देशक हाकिजमाना पाईर्री, अल्जेरिया फ्रान्सका फिल्म निर्देशक तथा फिल्म फेस्टिभल आयोजक फरिद असद, चिनियाँ चलचित्र निर्देशक डा. योङलगायतले पनि नेपाल आएर महोत्सवमा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।

महोत्सव निर्देशक डब्बु क्षेत्रीले यस पटक अफ्रिकाको नाइजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मावली, इजिप्टी/नर्वे/जर्मनी, बेलायत र नेपाल सहित १२ देशका २५ ओटा फिल्म रहेको बताए । शनिवारबाट सुरु भएको यो महोत्सव सोमबारसम्म चल्ने र महोत्सवमा प्रवेश निःशुल्क गरिएको पनि क्षेत्रीले जानकारी गराए ।

महोत्सवको उद्घाटन समारोहमा सांस्कृतिक संस्थानका विभिन्न कलाकारले विभिन्न नेपाली लोकनृत्यहरु प्रस्तुत गरेका थिए । महोत्सवमा शनिवार नाइजेरियाको इनभेन्सन १८९७, नेपालको सुमा सापकोटा निर्देशित पाखुरे, सृजना तावेवुङ निर्देशित देवकी, नेपाल पर्यटन बोर्डको नेपाल ल्यान्ड अफ डाईभर्सिटी, केन्याको न्यु मुन र घानाको द बुरिएल अफ कोजो फिल्म प्रदर्शन गरियो । बाँकी १९ ओटा फिल्म आइतबार र सोमबार प्रदर्शन गरिने छ ।

प्रतिक्रिया