अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

पूर्वराजाको दसैँको शुभकामना – ‘बिद्रोहको आगो भित्रभित्रै सल्कनु कसैको हितमा हुँदैन’

बिआरटीनेपाल २०७६ असोज १८ गते ५:१६ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका अवसरमा सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएकोछ । पूर्वराजा शाहले सन्देश जारी गरेर सबै नेपालीमा सुख, शान्ति र सम्वृद्धिका लागि कामना गर्नुभएको हो ।

सन्देशमा भनिएको छ, ‘राष्ट्रिय सांस्कृतिक पर्व बडा दसैँ नेपाली घर आँगनमा छाएको छ। विजया दशमीको पावन अवसरमा देश भित्र र देश बाहिर रहे बसेका समस्त नेपालीहरुमा सुख, शान्ति र सम्वृद्धिको लागि शुभकामना व्यक्त गर्दछु।’

पूर्वराजाले सन्देशमा अगाडि भन्नुभएको छ , ‘राष्ट्रका यावत् विधि विधान, व्यवस्था र बन्दोबस्त सर्व्हितकारी हुनुपर्दछ, अनि त्यो सर्वग्राह्य पनि बन्नू पर्दछ। पुर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापी हाम्रो भलो हुँदैन। एकले अर्कामाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्याउने र आ(आफ्नो कमिकमजोरीलाई ढाकछोप गरी, निषेध र विभेदको प्रकृया अपनाउने प्रवृति कुनै पनि अर्थमा राम्रो होइन ।’

आफ्नो एक मात्रै चाहना र उद्देश्य देशको उन्नती बाहेक अरु केही नरहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ, ‘भगवानको आशिर्वादले यो देश उत्पीडन र आतंकको नभई बुद्धि र भाइचाराको स्मारक बन्नु पर्दछ। तर राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि बिद्रोहको भुसको आगो भित्रभित्रै सल्कँदै गएको अवस्थाले कसैको हित हुँदैन। त्यसकारण प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्य्विधिभन्दा सम्याउने, सुल्झाउने, सच्याउने र राष्ट्रिय आदर्श बमोजिम समझदारीका साथ अघि बढ्ने अटुट प्रयत्न हुनुपर्दछ। नेपाल हाम्रो हो, हामी नेपाली हौँ र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझ्नै पर्ने हुन्छ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू