अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 18:34

सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने नेपालको धारणा

बिआरटीनेपाल २०७६ असोज १० गते ९:२६ मा प्रकाशित

नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताएको छ । सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकमा नेपालले त्यस्तो धारणा व्यक्त गरेको हो । सार्कको वर्तमान अध्यक्ष नेपालले झण्डै पाँच वर्षदेखि उक्त जिम्मेवारी सम्हालिरहेको र १९औँ सार्क शिखर सम्मेलन हुन नसकेको सन्दर्भमा सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएको हो ।

उन्नाइसौँ सार्क शिखर सम्मेलन हुन नसक्दा क्षेत्रीय सहयोगको भावनामा रुकावट आएको तथा केही मन्त्रिस्तरीय बैठक, कार्यशाला र तालीमबाहेक उल्लेख्य गति सार्कले लिन नसकेको अभिव्यक्ति पनि नेपालले बैठकमा प्रस्तुत गरेको छ । सार्कको १४औँ महासचिवको नियुक्ति तथा आगामी फागुन १८ गतेदेखि नयाँ महासचिवको पदबहालीबारे पनि बैठकमा विचारविमर्श गरिएको थियो । बैठकले श्रीलङ्काली महासचिवलाई अनुमोदन पनि गरेको छ ।

बैठकमा श्रीलङ्का र बङ्गलादेशबाहेक सबै सदस्य देशका परराष्ट्रमन्त्री सहभागी थिए । कार्यव्यस्तताका कारण भारत र पाकिस्तानका विदेशमन्त्री भने बैठकमा एकसाथ सहभागी भएनन् । यस्तै मन्त्री ज्ञवालीले सार्कप्रति सबै सदस्य देशको सकारात्मक धारणा रहेको, सबैले समुन्नत र एकताबद्ध दक्षिण एशियाका पक्षमा अभिमत जाहेर गरेका जानकारी दिनुभयो । उहाँले दक्षिण एशियाको शान्ति, समृद्धि र स्थायित्वको पक्षमा नेपाल रहेको र विवादहरूको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्नेमा जोड दिनुभएको छ । वार्ता र संवादको माध्यमबाटै हरेक समस्याको निकास खोजिनुपर्ने नेपालको मान्यता रहेको मन्त्री ज्ञवालीको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू