अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 04:37

आयुष केसीले नेपाली फिल्ममा गीत गाउने

बिआरटीनेपाल २०७६ साउन १ गते ७:०४ मा प्रकाशित

भारतीय रियालिटी सो सारेगमप लिटिल च्याम्पमा नेपालबाट सहभागी हुँदै जी टिभीको कार्यक्रमको फाइनलमा पुगेर चौथो भएका आयुष केसीले नेपाली फिल्ममा गीत गाउने भएका छन् ।

उनले चाइल्ड स्टार अनुभव रेग्मीको लागि गीत गाउँन लागेका हुन् । यसै साता रेकर्ड गरिने गीतमा स्वर आयुषको रहनेछ भने त्यसमा अनुभव रेग्मी देखिनेछन् । आयुषले अनुभवको अभिनय रहेको पछिल्लो फिल्म ‘हजार जुनीसम्म’ मार्फत पार्श्वगायनमा डेब्यु गर्न लागेका हुन् । विकासराज आचार्यको निर्देशनमा तयार भइरहेको फिल्म आउँदो साउन ६ मा रिलिज हुँदैछ ।

विकासको फिल्मबाट धेरै कलाकारहरूले ब्रेक पाइसकेका छन् र अधिकांश सफल पनि छन् । यसैले गर्दा पनि आयुषको डेब्यु सुखद हुनेमा दुई मत छैन । फिल्मको टाइटल गीत ‘हजार जुनीसम्म’ मा आयुषले आवाज दिनेछन् । फिल्ममा आर्यन सिग्नल, स्वस्तिमा खड्का, प्रियङ्का कार्की, सञ्चिता लुइँटेल, अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरूको अभिनय छ ।

नाई नभन्नु ल सिरिजका निर्देशक विकासराजको निर्देशन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । फिल्ममा उदयराज सोताङ, राजनराज सिवाकोटी, वसन्त सापकोटा र प्रवीण पौडेलको सङ्गीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।

प्रतिक्रिया