अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

नेपालको मकालु बरुण क्षेत्रमा यतीको पाइला भेटिएको भारतीय सेनाको दाबी, नेपाली अधिकारीहरु भन्छन् – “भालुको पाईला हो”

बिआरटीनेपाल २०७६ वैशाख १७ गते ९:५५ मा प्रकाशित

भारतीय सेनाको एक पर्वतारोहण अभियान टोलीले नेपालको मकालु बरुण क्षेत्रमा पहिलो पटक हिममानव ‘यती’ को पाइलाको निशान फेला परेको दाबी गरेको छ । भारतीय सेनाको आधिकारिक ट्वीटर ह्याण्डलबाट त्यसका केही तस्विरहरु पनि सार्वजनिक गरिएको छ । जसमा हिउँमा ठूल्ठूला पाइलाको निशानहरु देखाइएको छ ।

एडीजीपीआईका अनुसार नेपालको मकालु बेस क्याम्पमा गत ९ अप्रिलमा यी तस्विरहरु खिचिएका हुन् । तस्विरमा देखिएका पाइलाको आकार ३२००१५ इन्च रहेको जनाईएको छ । भारतीय सेनाका अनुसार मकालु–वरुण राष्ट्रिय निकुञ्जमा यसअघि पनि यती देखिएको दावी गरिएको छ ।भारतीय सेनाले सेयर गरेको तस्विरबारे सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । केहीले यस तस्विरबारे आश्चर्य व्यक्त गरेका छन् भने केहीले चुनावसँग जोडेर चुट्किला बनाइरहेका छन् ।

यति तिब्बत र नेपालको लोकप्रिय काल्पिनिक कथामा जनाईएअनुसार एशियाको पर्वतीय क्षेत्रमा दैत्याकार बाँदरजस्तै देखिने जीव हो । वर्षौंदेखि मानिसहरुले यतीलाई देखेको दाबी पेश गर्दै आइरहेका छन् । यसअघि, सन् २०१३ मा अक्सफोर्ड विश्वविद्यालयको एक अध्ययनमा यती भालुकै एक उप–प्रजाती हुनसक्ने उल्लेख गरेको थियो । प्राध्यापक स्काइजले बीबीसीसँग कुरा गर्दै यतीको मिथकपछाडि कुनै वास्तविक जीव हुनसक्ने बताएका थिए ।

अमेरिकी जीववैज्ञानिक शार्लट लिन्डक्विस्टले यतीको अवशेष भनेर दाबी गरिएका वस्तुहरुको डिएनए परिक्षण गरेका थिए । यसमा हात, दाँतदेखि कपालसम्म रहेका थिए । जाँचको दौरान केही नमूना कुकुरको त केही आठ फरक–फरक प्रकारको भालुको निस्किएको थियो ।

भारतीय सेनाले पछिल्लोपटक देखिएको पाईला यतिको भनेर दावी गर्दै आएपनि नेपाली अधिकारीहरुले भने उक्त पाईला भालुको भएको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू