अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२ | Colorodo: 05:37

रास्कोट नगरपालिकाले लागु गर्‍यो समाजवादी कार्यक्रम, बेरोजगारलाई रोजगार दिन मानवीय श्रम बैङ्क

बिआरटीनेपाल २०७५ फागुन २२ गते ११:५१ मा प्रकाशित

कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले मानवीय श्रम रोजगार बैङ्कको अवधारणा ल्याएको छ । ‘युवाको सान श्रमको सम्मान, नगर निर्माणको पहिचान’ भन्ने नाराका साथ नगरपालिकामा श्रम रोजगार बैङ्कको स्थापनासँगै औपचारिक रूपमा बुधवार उद्घाटन गरिएको छ । नगरपालिकामावेरोजगार युवाहरूलाई रोजगार दिन आयोजित एक कार्यक्रमका बिच श्रम रोजगार बैकको औपचारिक रुपमाउद्घाटन गरिएको हो । 

नगरपालिकाका नगर प्रमुख काशीचन्द्र बरालले नगरपालिकाबाट कामकै लागि भारत र खाडी जाने दिनको अन्त्य गर्ने उद्देश्यसहित कार्यक्रम ल्याएको बताए । उनले युवा शक्ति विदेश पलायनले नकारात्मक प्रभाव परेको बताउँदै त्यसको अन्त्य गर्ने बताए । बुधवार साँझ कुरा गर्दै प्रमुख बरालले भने, “नगरपालिकाको विकासको लागि आजकै दिनबाट दुई सय ६० जनालाई औपारिक रूपमा श्रममा लाग्नेछन् ।” स्थानीय तहको निर्वाचन भएको झन्डै दुई वर्ष पुग्नै लाग्दा नगरपालिकाको विकाशसँगै बेरोजगार युवाहरूलाई रोजगार दिन र नगरपालिकालाई समृद्धिको यात्रामा लैजान श्रम बैकको स्थापना गरिएको बरालले बताए ।

सुरुवातमा दुई सय ६० जनालाई १३ समूहमा विभाजन गरी काममा लगाउने कार्यविधि नगरपालिकाले बनाएको छ । प्रमुख बरालका अनुसार यो सङ्ख्यमा बिस्तारै सख्या बृद्धीगर्दै तीन हजार बनाउने लक्ष्य छ । “युवाहरूको समूहले नगरपालिकाभित्र जहाँ काम छ, त्यहाँ गएर काम गर्छन् । श्रम बैकमा रहेका युवाहरू ५० वर्ष पुगेको बेला प्यान्सेनसहित अवकाश गर्ने कार्यविधिमा उल्लेख गरिएको नगर प्रमुख बरालले जानकारी दिए । श्रम रोजगार बैकमा पुरुष–महिला दुवैको सहभागिता छ । नगरपालिकाभित्रको आय श्रोतमा निकै कमजोर मानियका घर परिवारका सदस्यले श्रम रोजगार बैकमा सहभागिता जनाएका छन् । बैकको अध्यक्षमा पदमबहादुर खड्कालाई जिम्मेवारी दिएको छ । यस्तै समूह व्यवस्थापकमा १२ जना खटिएका छन् ।

श्रम रोजगार बैकमा भाग लिने युवा तथा युवतीको छनोट प्रत्येक वडाबाट सिफारिस भइआएको आवेदक सदस्यहरूबाट छनोट गरिएको नगरपालिकाले जनाएको छ । धेरै जनसंख्याभएका वडाले ३२ जनासम्म छनोट गरेका छन् । नगरका वडा नं १ देखि ९ सम्म बढीमा ३२ र कम्तीमा २१ ज्ना छनोट गरेर श्रम रोजगार बैकमा समावेश गरिएको छ । श्रम रोजगार बैकमा भाग लिने युवाहरूको उमेर १८ वर्ष पुगेका र ४० वर्ष ननाघेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । उनीहरूले नगरका निर्माण,उत्पादन,सामाजिक विकृति, विपद व्यवस्थापन र सामाजिक सुरक्षाका विभिन्न काममा भाग लिनेछन् ।

कुराकानीको क्रममा नगर प्रमुख बरालले साधारण लेखपढदेखि उच्च शिक्षा पढेका युवायुवतीलाई कामको सुनिश्चितता गरेर ५० वर्ष पुगेपछि अवकाश हुने गरी १० प्रतिशत रकम बचत गर्न लगाएर थप एक सय प्रतिशत नगरपालिकाले सहयोग गर्ने गरी कार्यविधि तयार पारिएको बताए । श्रम बैङ्कले काम दिने र मूल्याङ्कन पनि गर्ने र सोही आधारमा काम दिने कार्यविधिमा बनाइएको बरालले बताए । उनीहरूको श्रमको ज्याला बैङ्क खातामार्फत भुक्तानी गरिने बरालले बताए ।

श्रम बैङ्कमा काम गर्ने हरेक सदस्यको १० लाखको दुर्घटना बिमा नगरपालिकाले गर्ने र बिमाको प्रिमियम पनि नगरबाट भुक्तानी हुने छ । कुराकानीको क्रममा प्रमुख बरालले समाजवादी मोडेलको पहिलो खुड्किलो भएको बताए । उनले समाजवाद मुखले भनेर मात्रै हुँदैन अब योजनामा व्यक्त गर्नुपर्छ । “यो समाजवादी मोडेलको पहिलो खुड्किलो हो । यसलाई अझ परिष्कृत गर्दै लिन्छौँ” बरालले भने ।

त्यसै गरी उपप्रमुख मिमसरा बमले श्रमयोग्य नागरिकलाई नगरपालिकाभित्रै रोजगारी प्रदान गर्ने लक्ष्य लिएर श्रम रोजगार बैङ्कको स्थापना गरिएको बताइन् । पहिलो चरणमा नगरपालिकाभित्रका दुई सय साठी जना युवा तथा युवतीलाई श्रम बैङ्कमार्फत पहिलो पटक रोजगारी दिइएको छ । घोषणा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जगतबहादुर शाहीले यो व्यवस्थापनमा सबैलाई सहयोग गर्न आग्रह गरे । सामाजिक विकास समितिका संयोजक दयाराम सिम्खाडाले गरिब परिवारमा जन्मेर बेरोजगार युवाहरूको मनोभावनालाई मध्यनजर गरी नगरपालिकाले श्रम बेंकको अवधारणा ल्याएको बताए ।

चुनावदेखि अहिलेसम्म जनप्रतिनिधिले समाजवादको नारा लगाएपनि रास्कोट नगरपालिकाले कार्यक्रम सुरु गरेको छ । मानवीय श्रम बैङ्कको अवधारणा लागु गर्ने रास्कोट नगरपालिका पहिलो नै हो । यो तत्कालीन माओवादीले जनयुद्धको क्रममा छलफलमा ल्याएको थियो । बराल जनयुद्धमा पूर्णकालीन भएर लामो समय काम गरेका थिए । त्यति बेला भएको छलफललाई व्यवहारमा उतारेका छन् ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू