अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

नेपाल रेडक्रस सोसाइटीको विशेष महाधिवेशन ललितपुरमा

बिआरटीनेपाल २०७५ फागुन १६ गते २१:५८ मा प्रकाशित

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय सभाको विशेष महाधिवेशन फागुन १८ र १९ गते ललितपुर, गोदावरीमा आयोजना हुनगइरहेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरू, सात वटै प्रदेश तदर्थ समितिबाट एक एक जना र नेरेसोका ७४ वटा जिल्ला शाखाबाट तीन–तीन जना, नयाँ गठन भई निर्वाचन सम्पन्न हुन बाँकी ३ जिल्लाका तदर्थ समितिका २/२ जना गरी करिब २८० प्रतिनिधि तथा पर्यवेक्षकहरूले महाधिवेशनमा वैधानिक तवरमा भाग लिनुहुनेछ ।

नेपाल रेडक्रस सोसाइटीको मौजुदा विधानको कार्यान्वयनमा परेको अफ्ठेरोमा छलफल गर्न संशोधित विधान महाधिवेशनमा पेस गरिनेछ । गत वर्षको नियमित महाधिवेशनबाट भएको विधानको सत्रौँ संशोधन र त्यसको प्रमाणीकरणको प्रक्रियामा जाँदा जिल्ला प्रशासन कार्यालय, काठमाडौको पत्रद्धाराबाट प्राप्त निर्देशन समेतलाई ध्यानमा दिई वैधानिक प्रक्रियाबाट सहज निकास दिन र निष्कर्षमा पुग्नका लागि केन्द्रीय सभाको यो विशेष महाधिवेशन आह्वान गरिएको हो । नेरेसोको ५५ वर्षे इतिहासमा ४७ वटा नियमित महाधिवेशन सम्पन्न गरिसके पनि यो पहिलो विशेष महाधिवेशन हो ।

नेपाल रेडक्रस सोसाइटीले आफ्नो सङ्गठन, प्रतिबद्ध स्वयंसेवक र कर्मचारीहरू, अभियानका अङ्गहरू, सरकार, यूएनलगायतका सरोकारवाला संस्थाहरू र रेडक्रसप्रेमी नेपाली दाजुभाइ दिदीबहिनी तथा सङ्कटमा रहेका आमसमुदायको सहयोगमा भूकम्प, बाढी लगायत सबै कठिन परिस्थितिमा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतबाट ज्यादै सह्राना हुने गरी कार्य गरिरहेको जानकारी गराउँदछौ । समुदायले पनि हाम्रा कामहरूलाई उत्तिकै अपनत्व लिएका छन् ।

नेरेसोले साङ्गठनिक र सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउँदै गएको छ । हाल देशका ७ वटै प्रदेश र ७७ वटै जिल्लामा रहेका रेडक्रसका निकायहरू थप उत्साहका साथ उत्थानशील समुदाय निर्माणको लागि खटिइरहेको अवस्था छ । यसैबिच ग्रामीण, सहरी तथा विद्यालयहरूमा आधारित एकीकृत विपत् व्यवस्थापन तथा जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रमहरूको विकास र विस्तार, नगद सहयोग कार्यक्रम, स्थानीय कोष सङ्कलन, द्रुत लेखाजोखा सर्वेक्षण तथा सञ्चारका क्षेत्रमा नयाँ प्रविधिको सुरुआत जस्ता उदाहरणीय कार्य भइरहेका छन् ।

त्यस्तै, ग्रामीण आपत्कालीन तथा ट्रमा प्रणाली सुदृढीकरण, Red Cross Emergency Clinic -RCEC कार्यक्रमको विस्तार, जोखिममा रहेका व्यक्ति/समुदायको संरक्षण तथा समावेशीकरणका गतिविधिहरूको विस्तार, Youth Engagement Strategy को कार्यान्वयन, सामुदायिक सहभागिता र जवाफदेहिताको अभिवृद्धि, खानेपानी तथा सरसफाइ सेवालगायत समुदायको क्षमता अभिवृद्धि, गोदामघरहरूको निर्माण र स्तरोन्नति, आय आर्जन भवनहरू निर्माण, रक्त सञ्चार सेवालाई सर्वसुलभ बनाउन सेवा विस्तार र रक्त कम्पोनेन्ट प्रविधिहरूको बढ्दो प्रयोगलाई जोड दिइँदै आएको सर्व विदितै छ ।

हाम्रा लक्षित वर्ग भनेको पीडामा रहेका वा अति संकटासन्न परिवार नै हुन् । बर्सेनि रेडक्रसका सेवाहरू २५ लाख मानिस समक्ष पुगिरहेको छ । नेरेसोले आफ्ना मानवीय सेवा र विकासमूलक गतिविधिहरूको विकास, विस्तार र अझ सुदृढ बनाउने प्रतिबद्धता जाहेर गर्दै संस्थालाई सकारात्मक सहयोग दिनुहुने नेपाल सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, संयुक्त राष्ट्रसंघका निकायहरू, सञ्चारकर्मी तथा सबै सहयोगी शुभेच्छुक महानुभावहरूमा हार्दिक आभार व्यक्त गर्दछ ।

अन्तमा, रेडक्रसको सिद्धान्तअनुरुप निष्पक्ष र पारदर्शी ढङ्गले मुलुकमा रहेका मानवीय सेवाका चुनौतीहरूलाई सम्बोधन गर्न हामी तत्पर छौँ । संस्थाको वैधानिक विषयमा तत्काल परेका अफ्ठेरोहरूलाई पार गर्दै दीर्घकालीन रूपमा समस्या समाधान गर्न पनि यस महाधिवेशन महत्त्वपूर्ण हुने भएकाले स्थानीय बासिन्दा, सरोकारवाला, सञ्चारकर्मी लगायत सवैमा महाधिवेशन सफल बनाउन सहयोगको अपेक्षा गर्दछौँ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू