अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५६ | Colorodo: 09:11

पाल्पामा बाँदर धपाउन बाघको प्रयोग

बिआरटीनेपाल २०७५ माघ ६ गते ८:४५ मा प्रकाशित

बाँदरले गाउँ घरमा किसानलाई दुःख दिनेगरेको समाचार त हामीले सुन्ने गरेका छौं । बाँदरकै कारण खेती गर्न नै छाडेका पाल्पाका स्थानीयले भने बाँदर धपाउन अनौठो तरिका अपनाएका छन् ।

जंगल र मठमन्दिरमा रमाउने बाँदरले पछिल्ला वर्षहरुमा गाउँघरमा जाने र खेतवारीमा लगाएको अन्नवाली खाइदिएर हैरान पार्न थालेपछि वादर धपाउन नक्कली अर्थात “गुडिया” बाघको प्रयोग गर्न थालेका हुन् ।  पाल्पाको तानसेन नगरपालिका १४, कुसेनीमा बाँदर धपाउनकै लागि भनेर नक्कली वाघ प्रयोग गर्न थालिएको हो । स्थानीय “माझघरे कान्छादाइर्” भनेर चिनिने कविराज ज्ञवालीले बाघ देखेपछि बाँदर डराएर भाग्छन भन्ने कुरा सुनेपछि बजारबाट कृत्रिम बाघ किनेर ल्याएको जानकारी दिनुभयो ।

बारीमा लगेर नक्कली बाघलाई राखेपछि बाँदर भाग्ने र केही दिनका लागि त्यस ठाउँ बरिपरि बाँदर नआउने ज्ञवालीको भनाई छ । ज्ञवालीले घरमा नै गुडिया बाघलाई राख्ने र बाँदर आएको थाहा पाएमा बोरामा राखेर बाँदरले नदेख्ने गरी बारीमा लगेर राखिदिने गर्नुभएको छ ।

यसरी बाँदर धपाउन थालेपछि केही बर्ष खेतबारीमा खेती गर्न छाडेका अन्य स्थानीयले पनि मौषम अनुसारका खेतीबाली लगाउन थालेका छन् । गाउँका अन्य स्थानीय भने माझ घरे कान्छा दाइको बाँदर धपाउने तरिकाप्रति दंग एवं खुशी बनेका छन् । बाँदरको त्रासबाट केही मात्रामा भएपछि छुट्कारा पाएकोमा स्थानीय खुशी बनेका हुन् ।

स्थानीयले बाँदरबाट हैरानी खेपेपछि स्थानीय सरकारलाई समेत गुहारेका छन् । किसानले नै वडा कार्यालयमा निवेदन दिएको तानेसेन नगरपालिका वडा नंंं १४ का अध्यक्ष कमल थापाको भनाई छ । किसानको माग बमोजिम नगरपालिकाले बाँदर नियन्त्रणका लागि ६ लाख बजेट समेत विनियोजन गरिएको र के कसरी नियन्त्रण गर्ने भन्नेबारेमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

नक्कली बाघ देखाएर मात्र कति समयलाई बाँदर भाग्लान् भन्ने कुरा भने सोचनीय छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू