अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०६ | Colorodo: 04:21

दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

बिआरटीनेपाल २०७५ माघ ४ गते ७:४६ मा प्रकाशित

दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ आयोजना हुने भएको छ । महोत्सवमा ३१ राष्ट्रका ५९ ओटा चलचित्रहरु प्रदर्शन गरिनेछ । आगामी फागुन ९ देखि १३ गतेसम्म पाँच दिन काठमाडौंको भृकुटीमन्डपस्थित राष्ट्रियसभागृह र पर्यटन बोर्डको परिसर एवं प्रेक्ष्यालयहरुमा चलचित्रहरु देखाइनेछ ।

नेपालका ६ ओटा फिचर र १० ओटा शर्ट फिल्म गरी १६ ओटा चलचित्रहरु सो महोत्सवमा प्रदर्शन गरिनेछ । विदेशीतर्फ ३१ ओटा शर्ट फिल्म र ६ ओटा फिचर फिल्महरु महोत्सवमा समावेश हुने जनाइएको छ । नेपालले अन्तर्राष्ट्रिय सहकार्यमा बनाएका दुईओटा शर्ट फिल्महरु प्नि महोत्सवमा प्रदर्शन गरिनेछ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवको सहआयोजक काठमाडौं महानगरपालिका रहेको छ । यस्तै, नेपाल सरकार, चलचित्र विकास बोर्ड र  पर्यटन बोर्ड महोत्सव सम्बद्र्धककारुपमा रहेका छन् । सो चलचित्र महोत्सवकाबारेमा जानकारी दिने उद्देश्यले पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा यसपटक महोत्सवमा सहभागी चलचित्रहरु  निर्णायकमन्डलबाट मूल्यांकन गराइ पुरस्कृत गरिने जानकारी दिइयो ।

सर्वोत्कृष्ट ठहरिएको एक फिचर चलचित्रलाई ट्रफी र नगद राशि एक हजार डलरसहितको गौतमबुद्ध अवार्ड र एक शर्ट फिल्मलाई ५०० डलर नगद र ट्रफीसहितको माउन्ट एभरेस्ट अवार्ड प्रदान गरिनेछ । यस्तै, नेपाल पानोरामाअन्तर्गत्को प्रतिस्पर्धामा रहेका चलचित्रहरुमध्ये सर्वोत्कृष्ट ठहरिएको एक फिचर फिल्मलाई नगद ५० हजार रुपैयाँ र ट्रफी, सर्वोत्कृष्ट शर्ट फिल्मलाई २५ हजार रुपैयाँ नगद र ट्रफीसहितको पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी, नेपाली पानोरामाअन्तर्गत् नै फिचरतर्फ सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट लेखकलाई पनि पुरस्कार प्रदान गरिनेछ । शर्ट फिल्मतर्फ भने सर्वोत्कृष्ट निर्देशकको पुरस्कारमात्र प्रदान गरिने आयोजकले जनाएको छ । गत वर्ष सो प्रथम महोत्सव पोखरामा आयोजना गरिएको थियो ।

प्रतिक्रिया