अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

“भन्दिनु है बा !” को लोकार्पण

बिआरटीनेपाल २०७५ पुष १३ गते २३:५१ मा प्रकाशित

काठमाडौँ, अमेरिकाको न्युयोर्कमा बस्दै आउनु भएकी कवि शकुन ज्ञवालीको कविता सङ्ग्रह ” भन्दिनु है बा ! ” को लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीले गर्नु भयो । कार्यक्रम समितिका उपाध्यक्ष दिव्य गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाग्मती समितिले आयोजना गरेको सो समारोहमा कुलपति उप्रेती, नेपाल सरकारका सचिव मोहनकृष्ण सापकोटा, अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्राडा. खगेन्द्रप्रसाद लुइटेल, नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्य, साहित्यकारहरू दामोदर पुडासैनी, गीता मैनाली र उपाध्यक्ष गिरीलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

अनेसास न्यु योर्क च्याप्टरले प्रकाशन गरेको “भन्दिनु है बा ! ” कविता सङ्ग्रहबाट केही कविताहरू वाचन पनि गरिएको थियो । साथै सो लोकार्पण समारोहमा गायिका कमला रिसाल वि. क. ले गीत गाउनु भएको थियो भने साहित्यकार सुमन वर्षाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

सोही समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेती, प्राज्ञहरू दिनेशराज पन्त र डा. उषा ठाकुरलाई अनेसासको तर्फबाट बधाई ज्ञापनसमेत गरिएको थियो । समारोहमा साहित्यकारहरू ललिता दोषी, सविता गौतम दाहाल, उषा तिवारीलगायतलाई अनेसासको आजीवन सदस्यताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

कवि शकुन ज्ञवालीले कविता, मुक्तक, गीत र गजल लेख्नु हुन्छ । उहाँका पालुवा र मन्जरी, तिमी र म जस्ता कविताका कृतिहरू यसअघि नै प्रकाशित भएका छन् भने दर्जनौँ गीति एलबमहरू पनि निस्किएका छन् । उहाँ अनेसास न्यु योर्क च्याप्टरका उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू