अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 17:35

पोखरामा नेपाल साहित्य महोत्सव शुरु

बिआरटीनेपाल २०७५ पुष ७ गते ८:१७ मा प्रकाशित

पोखरामा शनिवारदेखि नेपाल साहित्य महोत्सव शुरु भएको छ । महोत्सवको शिक्षाविद् जर्ज जोन र एलियाम्मा जोनले पानसमा द्वीप प्रज्ज्वलन गरी शुभारम्भ गर्नुभयो । पोखराको फेवाताल किनार तालबाराहीचोकस्थित फुटवल मैदानमा शुरु भएको महोत्सवमा पर्यटन मन्त्री रविन्द्र अधिकारी, जर्ज जोन, सरुभक्त, पर्यटन बोर्डका दीपकराज जोशी, पूर्व प्रधानन्यायधीश सुशीला कार्की, साहित्यकार सरुभक्त, पत्रकार हरिबहादुर थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।

४ दिनसम्म चल्ने महोत्सवमा साहित्यका विभिन्न विधाका स्वदेश तथा विदेशका चर्चित व्यक्तित्वहरुको प्रस्तुति रहने आयोजकले बताएको छ । बुकवर्म फाउण्डेशनको आयोजनामा भएको ७ औं संस्करणको साहित्य महोत्सवमा साहित्यमा रुची हुनेहरुको उल्लेख्य सहभागिता रहेको छ ।

महोत्सवको पहिलो दिनमा नै अभिनेत्री मनिषा कोइरालाको संस्मरणात्मक पुस्तक ‘हिल्ड’ को विमोचनका साथै पुस्तकाबारे अन्तक्र्रिया समेत भएको छ । कार्यक्रममा उहाँले क्यान्सर लागेर उपचारपछि पूर्ण स्वस्थ रहेको बताउँदै आफूले भोगेको पीडालाई पुस्तकका रुपमा प्रकाशमा ल्याएको बताउनुभयो । उहाँले आफ्नो अनुभवले आशा जगाओस् भन्ने उद्देश्य राखेर पुस्तक लेखेको बताउनुभएको छ । सो अवसरमा कलाकार राजेश हमालले पुस्तक प्रेरणादायी भएको उल्लेख गर्नुभयो ।

कार्यक्रमको पहिलो दिन अझै रमिता छ इन्द्रबहादुर राईको सम्झना, पागल बस्ती पछिको पोखरेली आख्यान, द आर्ट अफ ग्राफिक द मेमोरियर, अनसर्टेन जोरनी, सम्पादक र स्तम्भकार, रेड बर्ड र ठाडै ठट्टा लगायतका प्रस्तुति रहने छन् । विभिन्न ४० सत्रमा हुने महोत्सवमा १२० साहित्यकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । बुकवर्म फाउण्डेशनको आयोजनामा ७ औं संस्करणको साहित्य महोत्सव आयोजना गरिएको हो । यसअघि महोत्सवको पाँचौ र छैंटौ संस्करण पनि पोखरामा नै भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू