अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५३ | Colorodo: 15:08

पुराना गीतको शब्द बङ्ग्याउँदै ‘रिमिक्स’

मिना घोरसाइने २०७५ मंसिर १४ गते ११:४५ मा प्रकाशित

काठमाडौँ, ‘फुलको थुँगा बहेर गयो गङ्गाको पानीमा
कहिले भेट होला है दाजै यो जिन्दगानीमा’(माधवप्रसाद घिमिरे)

‘मनको बाँध’ चलचित्रमा नातिकाजीद्वारा सङ्गीतबद्ध र तारादेवीद्वारा गाइएको यो गीत आज पनि त्यत्तिकै चर्चित छ । गीत रेकर्ड भएको वर्षा बितिसक्दा पनि लोकप्रियता भने अझै कम छैन । सय वसन्त पार गर्न लागिसक्नु भएका राष्ट्रकवि घिमिरेले आफ्नो अन्य गीत पुनः रेकर्ड गरिए पनि यस गीतलाई भने रिमिक्स गर्न ‘मरे पनि नदिने’ बताउँदै आउनुभएको थियो तर यस गीतका कभर गीतहरू अहिले युट्युबमा प्रशस्तै भेटिन्छन् । मिलन अमात्य, सन्ध्या बुढा (काउली बुढी) गीत रिमिक्स गर्ने परिपाटी आजभोलि ह्वात्तै बढेको पाइन्छ । रिमिक्स (पुनः रेकर्ड) का नाममा नयाँ गीत बनाउने परिपाटीले गीतको मौलिकता नै हराउने हो कि भन्ने डर सङ्गीतकर्मी र सङ्गीतकर्मी दुवैमा छ ।

सर्लाही घर भई हाल नयाँ बानेश्वरमा बसोबास गर्दै आउनुभएकी २१ वर्षीया तुलसा थापा नेपाली गीतसङ्गीतमा छाडा पान आएको महसुस गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिलेका गीतभन्दा त पहिलेकै गीत नै सुन्न लायक छन् ।” पुराना गीतजस्तै नयाँ बन्ने नेपाली गीतमा पनि नेपाली मौलिकपना घुसाउनुपर्ने थापाको भनाइ छ ।

हाल नेपाली गीतसङ्गीतमा पुराना गीतलाई नयाँ सङ्गीत भरेर बनाउने परिपाटी कुनै नौलो होइन । थुप्रै पुराना गीत अहिले रिमिक्स (पुनः रेकर्ड) गर्ने प्रचलन झनै बढ्दै गएको छ । नेपाली चलचित्र ‘छक्का पन्जा २’ मा राखिएको ‘हे दाजु नसमाऊ नाडीमा’ बोलको गीतले कुनै दिन नेपाली बजारलाई खुबै तताएको थियो । जति यो गीतले उचाइ पायो, त्यसै गरी गीतका विरुद्ध टिप्पणी पनि आउन थाले । वास्तवमा यो गीत सन् १९६६ मा नै रेकर्ड गरिएको थियो । टिप्पणीसँगै यस गीतको पुरानो संस्करणलाई युट्युबमा समेत राखिएको छ । यो गीतमा सङ्गीत कान्छा मगर नेपालीले दिनुभएको थियो भने स्वर लोचन भट्टराई र श्याम नेपालीले दिनुभएको थियो । यस गीतको पुरानो संस्करण र चलचित्रमा दिएको संस्करणको सङ्गीतमा अलिकति पनि मेल खाएको पाइँदैन ।

पुराना थुप्रै गीतमा अङ्ग्रेजी शब्द घुसाएर आफ्नै शैलीमा गाएका गीत सुन्दा राम्रो लागे पनि त्यस्ता गीतले स्रष्टालाई सम्मान नगरेको हो कि भन्ने भान हुन्छ । पुराना गीतलाई नबिगारी जस्तो शब्द र सङ्गीत छ त्यसैलाई निरन्तरता दिएमा गीतको भाव नमर्ने गायक आनन्द कार्की बताउनुहुन्छ । “नयाँ गीत गाए पनि पुराना गायक र सङ्गीतकार दुवैको नाम लिनै पर्छ”, उहाँ भन्नुहुन्छ ।

पुराना गीतलाई नयाँ ढाँचामा ल्याइनुभन्दा पुरै नयाँ गीत नै ल्याएर चर्चा बटुल्नु उत्कृष्ट रहेको चाबहिलका ५१ वर्षीय रोमन श्रेष्ठ बताउनुहुन्छ । “पहिलेका स्रष्टाले कति राम्रा शब्दको रचना गर्थे, अहिले त जताततै आफू चर्चामा आउने होडबाजी नै चलेको छ”, उहाँ आक्रोश पोख्नुहुन्छ, “अरूको गीतलाई नै आफ्नो रचना भनेर दिनेले किन नयाँ रचना दिन नसक्ने ?”

त्यसै गरी नेपाली लोकगीत ‘लेकमा नाच्ने डाँफे चरी मधेसमा झ¥यो, भेट भा बेलाँ मायासँग हाँस खेल गर्नैप¥यो’ बेनीको बजार, जता माया उतै छ नजर’ तथा पुरानो आधुनिक गीत ‘आगे आगे तोपैको गोला पछि पछि मेसिन गन बरर’ लगायत ‘काले दाइले लगाएको कालै इस्टकोट’, ‘चिया बारीमा’, ‘आमैले भन्थिन् धाराको पानी’ लगायत थुप्रै गीत पनि रिमिक्स गरिएको पाइन्छ । कतिपय गीतमा शब्द र मौलिकता मरेको छैन भने कतिपयमा गीतको भाव र मौलिकता सबै भुलेर नयाँ स्वरूपमा रेकर्ड गरिएको पाइन्छ ।

सङ्गीतकार भूपेन्द्र रायमाझी रिमिक्सका नाममा पुरानो गीतको भाव मर्न नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेपाली गीत र सङ्गीतलाई बचाइराख्ने प्रमुख आधार भनेकै रिमिक्स हो, तर मनलाग्दी नयाँ सङ्गीत र स्वरूप दिइनु भने राम्रो होइन ।” गीतलाई नयाँ स्वरूप दिँदा केही शब्द तलमाथि हुनु सामान्य भए पनि पुरै गीतको ढाँचा नै परिवर्तन गर्दा त्यसको प्रभाव नकारात्मक हुने उहाँको ठम्याइ छ । पुराना सङ्गीतलाई सबैले सम्मान गर्नु आजको आवश्यकता रहेको उहाँ बताउनुहुन्छ । मौलिक गीतलाई नबङ्ग्याई तीनमा नयाँ सर्जकले त्यसको जगेर्ना गर्नु नै आजको आवश्यकता रहेको नेपाली गीतका विश्लेषक बताउँछन् । (रासस)

प्रतिक्रिया