अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४८ | Colorodo: 03:03

ईन्डोनेसियामा मृत ह्वेलको पेटमा ‘६ केजी प्लास्टिक’ भेटियो

बिआरटीनेपाल २०७५ मंसिर ५ गते ८:५७ मा प्रकाशित

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जको किनारामा भेटिएको एउटा मृत स्पम ह्वेलको पेटमा ६ केजी प्लास्टिक फोहोर भेटिएको अधिकारीहरुले बताएका छन् । मृत ह्वेलको पेटमा भेटिएका प्लास्टिकजन्य फोहोरमा एक सय १५ वटा पिउने कप, चारवटा प्लास्टिक बोत्तल, २५ वटा प्लास्टिक झोला र दुईवटा चप्पल भेटिएको राष्ट्रिय निकुञ्जका अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ९ दशमलव ५ मिटर लामो ह्वेलको मृत शरीर इन्डोनेसियाको वाकाटोबी राष्ट्रिय निकुञ्जको कापोटा टापूनजिकैको समुद्रमा सोमबार भेटिएको बताइएको छ ।

ह्वेलको मृत शरीरबाट यति ठूलो मात्रामा प्लास्टिकजन्य फोहोर भेटिएपछि वातावराणविद् चकित भएका छन् । ‘ह्वेलको मृत्युको कारण अझै हामीले पत्ता लगाउन नसके पनि उसको शरीरमा प्लास्टिकजन्य पदार्थ भेटिएको विषय अत्यन्तै भयानक हो,’ विश्व बन्यजन्तु संरक्षण कोष इन्डोनेसियाका सामुद्रिक प्रजाति संरक्षण प्रमुख द्वी सुप्राप्तीलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ ।

यसै वर्षको जुन महिनामा ८० वटा प्लास्टिकको झोला निलेपछि दक्षिणी थाइल्यान्डको समुद्रमा एउटा पाइलट ह्वेलको मृत्यु भएको थियो । यसै वर्ष जारी गरिएको एउटा प्रतिवेदनले फोहोर नियन्त्रण गरिएन भने आगामी एक दशकभित्र समुद्रमा पाइने प्लास्टिकजन्य फोहोरको मात्रा तीन गुणाले वृद्धि हुने चेतावनी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू