अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४३ | Colorodo: 05:58

वर्तमान सरकार सबै क्षेत्रमा असफलः काँग्रेस नेता गोपालमान श्रेष्ठ

बिआरटीनेपाल २०७५ मंसिर २ गते ८:२५ मा प्रकाशित

नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान सरकार सबै क्षेत्रमा असफल भएको टिप्पणी गर्नुभएको छ । राजनीतिक प्रस्तावमा सुझाव संकलनका लागि गण्डकी प्रदेश स्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहनुभएका श्रेष्ठले यस्तो बताउनुभएको हो ।

२०१५ सालको निर्वाचनमा काँग्रेसले एकल पार्टीको हैसियतमा नै २ तिहाई ल्याएको पार्टी भएको स्मरण गर्दै नेता श्रेष्ठले नेकपाको नेतृत्वमा ९ महिना वितेपनि शान्ति सुरक्षा कायम हुन नसकेको, महङ्गी बढेको तथा कर बढाउने काममा सरकार तल्लिन रहेको गरेको आरोप लगाउनुभयो । विपीले दिएको समाजवादको नीतिलाई अंगिकार गर्दै अगाडि बढेमा अर्को निर्वाचनमा काँग्रेस पहिलो पार्टी हुने उहाँको दावी रहेको छ ।

स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा काँग्रेसको नेतृत्वदायी भूमिका रहेको भन्दै नेता श्रेष्ठले संविधानसभा निर्वाचन समेत काँग्रेसकै एजेण्डा रहेको जिकीर गर्नुभयो । देशमा भएका ठूला राजनीतिक आन्दोलन काँग्रेसकै नेतृत्वमा सफल भएको उहाँको भनाई छ ।

१०४ बर्षे राणाशासनको अन्त्य विपी कोइरालाको नेतृत्वमा, ३० बर्ष पञ्चायतको विरुद्ध गणेशमान सिंहको नेतृत्वमा र ६२/६३ को आन्दोलनमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आन्दोलन सफल भएको दावी नेता श्रेष्ठले गर्नुभयो । नेपाली काँग्रेस मुलुकको पुरानो र जनताको घरदैलोमा पुगेको पार्टी भएको जिकीर गर्दै उहाँले अहिले काँग्रेसले बहुमत गुमाएपनि आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा काँग्रेस गण्डकी प्रदेशका नेता शुक्रराज शर्माले नयाँ पद्दतिबाट पार्ती सञ्चालन गर्ने, समाजवादलाई व्यवहारमा उतार्नुपर्ने तथा राजनीतिक प्रस्तावमा मुलुकलाई भारतसँगको सम्बन्ध भाइचारा र चीनसँगको सम्बन्ध मित्रताको आधारमा हुनपर्ने लगायतका विषय समावेश गर्नुपर्ने बताउनुभयो ।

काँग्रेसले बहुलवाद, लोकतान्त्रिक समाजवाद, संसदीय व्यवस्था नछाडेको भन्दै पूर्वमन्त्री एवं काँग्रेस नेता यज्ञबहादुर थापाले जनताको वीचमा राम्रा नीति कार्यक्रम लिएर जानुपर्ने बताउनुभयो ।काँग्रेसले सातै प्रदेशमा राजनीतिक मस्यौदामा सुझाव संकलन गर्ने कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशस्तरीय कार्यशाला आयोजना गरेको हो ।

प्रतिक्रिया