अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

बुटवलमा ‘लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला’ को तयारी शूरु

बिआरटीनेपाल २०७५ कार्तिक २८ गते ८:५० मा प्रकाशित

बुटवलमा आगामी पुष ५ देखि १८ गतेसम्म सञ्चालन हुने ‘लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला’को तयारी शुरु भएको छ । रुपन्देही व्यापार संघ र नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजना तथा तिलोत्तमा व्यापार संघ, देवदह व्यापार संघ र सैनामैना व्यापार संघको सह(आयोजनामा सञ्चालन हुने मेलाको तयारी शुरु भएको आयोजकले जनाएको छ ।

मुख्य आयोजक रुपन्देही व्यापार संघले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी मेलालाई सफल पार्न ६१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जानकारी दिएको छ । त्यससँग सम्बन्धित विभिन्न विषयगत ४२ वटा उपसमिति गठन गरी उपसमितिहरुले आवश्यक तयारी थालेको सो अवसरमा जानकारी दिईयो ।

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ सञ्चालन हुने मेलामा करिब ६०० स्टल रहने मूल आयोजक समितिका संयोजक पदमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मेलाको ८ लाख मानिसले अवलोकन गर्ने र करिब ५० करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

मेलामार्फत गौतमबुद्धको जन्म स्थल लुम्बिनीसहित प्रदेश नं. ५ भित्रका सम्पूर्ण धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं पावन स्थलहरुको प्रवर्द्धनात्मक प्रचार प्रसार गरिने आयोजकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू