राष्ट्रपति विद्यादेवी भण्डारीले आठौँ चीन महोत्सव–२०१८ को आज काठमाण्डौमा शुभारम्भ गरिन् ।
महोत्सव चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपालस्थित चिनियाँ दूतावासको आयोजनामा भएको हो । सो अवसरमा संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् १९५५ मा कूतनीतिक सम्बन्ध स्थापना भएयता नेपाल चीन सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको बताए।
नेपालका काठमाडौँ, ललितपुर र भक्तपुर अद्वितीय सम्पदाले भरिपूर्ण रहेको तथा नेपाल जातजाति, भाषा तथा जैविक विविधताले भरिपूर्ण भएकाले चिनियाँ पर्यटकका लागी नेपनल उपयुक्त गन्तब्य बन्न सक्नेमा मन्त्री अधिकारीको जोड थियो। मन्त्री अधिकारीले यस्ता महोत्सवले पर्यटन गतिविधि बढ्न गई सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताए।
सो अवसरमा चीनका संस्कृतिमन्त्री लो सु काङले नेपाल र चीन नदी तथा पहाडले जोडिएको तथा चीनको एक क्षेत्र एक मार्ग(बिआरआई)अवधारणाले यिनलाई झन् नजीक बनाउने विश्वास व्यक्त गरे। सन् २००३ देखि शुरु भएको महोत्सवले आपसी आदानप्रदान र सहकार्यमा राम्रो प्रभाव पारेको उनले बताए।
नेपालका लागि चिनियाँ राजदूत यु होङले चीन नेपालको दोस्रो ठूलो पर्यटकको स्रोत देश भएको बताउँदै नेपालमा सन् २०१७ मा नेपाल भ्रमण गर्ने चीनीयाँ पर्यटकहरुको संख्यामा २५ प्रतिशतले बृघ्दि भएको बताईन्।