अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

सौर्यमण्डल बाहिरबाट आएको सिगार आकारको वस्तु एलियन यान हुनसक्ने अनुसन्धाताकोअनुमान

बिआरटीनेपाल २०७५ कार्तिक २० गते ९:०१ मा प्रकाशित

अघिल्लो वर्षको मे महिनामा सौर्य मण्डलमा देखिएको एक रहस्यमयी सिगार आकारको वस्तु एलियन यान हुनसक्ने आँकलन गरिएको छ । खगोलशास्त्रीहरुबीच यस वस्तुको वास्तविकतालाई लिएर लामो अनुमान, छलफल र वादविवाद पछि उक्त सिगार जस्तो देखिने वस्तु एलियन यान भएको अनुमान गरिएको हो । हावार्ड विश्वविद्यालयका खगोलविद्हरुले उक्त वस्तु पृथ्वीको अनुसन्धान गर्न पठाइएको एलियन यान हुनसक्ने बताएका छन् । ओमुआमुआ नाम दिइएको उक्त वस्तु अक्टोबर २०१७ मा हवाई स्थित प्यान–स्टार्स १ टेलिस्कोपले पत्ता लगाएको थियो ।

यसको आविष्कारकर्ता वैज्ञानिकहरु यसको अनौठो स्वभाव र उद्गमस्थल बारेमा फरक–फरक विचार राखिरहेका छन् । शुरुमा पुच्छ्रेतारा, त्यसपछि शिशुग्रह भनिएको उक्त वस्तुलाई पछि गएर हाम्रो सौर्यमण्डलभन्दा बाहिरबाट आएको ‘इन्टरस्टेलर वस्तु’ को नयाँ वर्गमा राखिएको थियो । तर हारवार्ड विश्वविद्यालयको स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका अनुसन्धानदाताहरुले प्रकाशित गरेको एक नयाँ आलेखले उक्त गाढा–रातो रंगको लामो वस्तु वाह्य ग्रहका उच्च वौद्धिक जीव(एलियन)ले बनाएको हुनसक्ने सम्भावनातर्फ औंल्याएका छन् । आफ्नो चौडाईभन्दा दश गूणा लामो यो वस्तुको गति ३,१४,४३१ किमी प्रतिघण्टा मापन गरिएको थियो । ‘ओमुआमुआ पूर्ण रुपले काम गर्ने एलियन यान हुनसक्छ, जुन नियतवश पृथ्वीको अध्ययनको लागि एक एलियन सभ्यताले पठाएको हुनसक्छ’ आलेखमा लेखिएको छ ।

यस सिद्धान्तको लागि उक्त वस्तुको ‘उच्च प्रवेग’ र जनवरी २०१८ मा सौर्यमण्डल छाड्ने बेला त्यसको अप्रत्यासित रुपमा वृद्धि भएको गतिलाई आधार मानिएको छ । ‘अन्य ग्रहका जीवले निर्माण गरेको मान्ने हो भने एक सम्भावना ओमुआमुआ एक हल्का तैरिने वाहन हो, जुन उच्चस्तरीय प्राविधिक उपकरणको प्रयोग गरेर बनेको र अन्तरिक्षमा तैरिरहेको हुनसक्छ ।’

पेपरका लेखक एस्ट्रोनोमीका प्रध्यापक तथा अध्यक्ष अब्राहम लोइव र हारवार्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका पोष्टग्राजुयट स्कोलर स्यामुएल वियाली हुन् । वस्तुबारे आलेखमा यी जोडीले भनेका छन– ‘यस्तै आकारको हल्का तैरने वस्तु हाम्रै सभ्यताले पनि अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यसमा इकारोस परियोजना र स्टासुट इनिसियटिभ्स समावेश छन् । हल्का तैरने प्रविधिलाई तारा र ग्रहहरुबीचमा सामान बोक्नको लागि उलेख्य रुपमा प्रयोग गर्न सकिन्छ ।’

आलेखमा जोडिले वस्तुको उच्च गति र असामान्य मार्गले वस्तु प्रयोगमा आउन छाडेको तर्फ संकेत गर्ने बताएका छन् ।ओमुआमुआ हाम्रो सौर्य प्रणालीबाहिर उद्गम भएर अवलोकन गरिएको पहिलो वस्तु हो । प्रारम्भिक अवलोकनमा तीव्र गतिमा अघि बढी रहेको उक्त वस्तुलाई पुच्छ्रेतारा बताइएको थियो । पछि यसलाई सौर्यमण्डल बाहिरबाट आएको शिशुग्रह भनिएको थियो । पुच्छ्रेतारा सूर्यको नजिक पुग्दा त्यसको सतहमा रहेको बरफमा घामको तातो परेर वरफ बाफमा बदलिँदा त्यसको गति बढ्ने गर्छ । तर ओमुआमुआमा भने बरफ पग्लेर बन्ने खालको पर्यावरण नभएको जनाईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू