नेपालीहरुको दोश्रो ठुलो चाड तिहार आजबाट शुरु भएको छ । तिहारको पहिलो दिन आज काग तिहार मनाईएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि शुरु हुने तिहार वा यमपञ्चककोे पहिलो दिन आज यमराजको सन्देशवाहक कागको पुजा गरी मनाईएको छ । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । नेपाली समाजमा कागलाई सन्देश वाहक प्राणीको रुपमा लिइन्छ । अझै पनि गाँउघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ ।
कागले विशेषगरी अशुभ सन्देश छिटो ल्याउने जनविश्वास रहेको छ । त्यसैले अझै पनि आफ्नो घरआँगनमा आएर काग कराउन थाल्यो भने राम्रो खबर सुनाओस् भनेर ‘सुबोल‘ सुबोल‘’ अर्थात शुभ बोल भनेर भनिन्छ । हिन्दू धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम पनि कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ ।
आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजान सक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत बनाएको धार्मिक विश्वास रहेको छ । त्यसैले काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभरि आफ्नो घरमा दुःखद सन्देश ल्याँउदैन भन्ने विश्वास रहेको छ । यस्तै काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यसैले कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ ।
त्यस्तै आजैका दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरी उत्पत्ति भएकोसम्झनामा धन्वन्तरी दिवस मनाइने समेत प्रचलन रहेको छ । देव र असुर मिली समुन्द्र मन्थन गर्दा विभिन्न रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीकै दिन अमृत कलश लिएर धन्वन्तरीको उत्पत्ति भएको वैदिक हिन्दू शास्त्रमा उल्लेख छ । हातमा वैदिक हिन्दू दर्शनका चार वेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।
कात्तिक कृष्ण त्रयोदशीका दिन आज देवताहरूका कोषाध्यक्ष कुबेरको पूजा गर्दै धनतेरस पनि मनाईन्छ । आजको दिन सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ । धनतेरस समेत भनिने आजका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन छ ।
यमपञ्चकको पहिलो दिन सोमबार साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्या अनुसार यमदीप दान गरिन्छ । यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।