अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२ | Colorodo: 04:57

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम निर्धारित मितिमै सम्पन्न गर्न नेता नेपालको निर्देशन

बिआरटीनेपाल २०७५ कार्तिक १५ गते १०:१८ मा प्रकाशित

पुर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल ले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । नेता नेपाल नेतृत्वको टोलीले बिहिबार निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरिक्षण गर्ने क्रममा नेता नेपालले यस्तो निर्देशन दिनुभएको हो ।

नेपाल सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध समिति एवं पर्यटन तथा नागरिक उड्ययन अध्ययन अनुगमन उपसमितिका संयोजक समेत रहनुभएका नेता नेपाललले विमानस्थल अनुगमनपछि तोकिएको मिति २०२१ जुलाईमा निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको हो । नेता नेपालले नेपालमा भौतिक पूर्वाधार निर्माण कार्य निकै ढिला हुने गरेको बताउदै तोकिएकै मितिमा काम सम्पन्न गर्न नसक्नेहरुलाई सरकारले कडा कार्बाही गर्ने चेतावनी दिनुभयो । नेता नेपालले पोखरा विमानस्थलको काम भने सन्तोषजनक रहेको र आगामी दिनहरुमा तिब्र गतिमा काम गर्नुपर्ने वताउनुभयो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग , पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने उल्लेख गर्दै प्रदेश सरकारले विमानस्थलको कामलाई नजिकबाट नियालिरहेको वताउनुभयो । सो अवसरमा बिमानस्थल निरिक्षण गर्न आएका नेता नेपाललाई आयोजना प्रमुख विनेश मुनाकर्मीले समग्र आयोजनाको काम १७ प्रतिशत र २ अर्ब भन्दा बढी अर्थात् करिब १२ प्रतिशत बित्तिय प्रगति भएको जानकारी गराउनुभयो । मुनाकर्मीका अनुसार जग्गा अधिग्रहण गर्दा अहिले सम्म मुआब्जामा मात्रै ३ अर्ब सकिएको र विमानस्थल आसपासको सडकका लागि ५० करोड खर्च भइसकेको जानकारी गराउनुभयो ।

राष्ट्रिय गौरवको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले टर्मिनल भवनको जग हाल्ने, रनवे सम्याउने, ट्याक्सी वे, एप्रोन, नाला निर्माणको काम धमाधम भइरहेको छ । बिमानस्थल निर्माण पछी पोखराबाट बेइजिङ, अजरबैजान, सिंगापुर र दोहासम्म सिधा उडान हुनेछ । चीनको एक्जिम बैंकको करिब २२ अर्ब ऋण सहयोगमा वि.सं २०७४ साउन १८ देखि विमानस्थल निर्माणको काम सुरु भएको हो । १० जुलाई २०२१ भित्र निर्माण सकायर नेपाललाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्ड अनुसार ‘४ डी’ स्तरको विमानस्थल पोखरामा बन्न लागेको हो । विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाइको हुने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू